खेल

बिग बास लिगः दोस्रो खेलमा आज सन्दीपले पाउलान् मौका?

बिग बास लिगः दोस्रो खेलमा आज सन्दीपले पाउलान् मौका?

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सले आइतबार आफ्नो दोस्रो म्याच खेल्दै छ । मेलबर्नले आफ्नो दोस्रो म्याच होबार्ट हरिकेन्सविरुद्ध खेल्न लागेको हो । होबार्ट र मेलबर्नबीचको खेल नेपाली समयअनुसार बिहान ९ः३० बजेदेखि सुरु हुँदैछ ।

मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटविरुद्ध २२ रनको जित हासिल गरेको थियो । उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ३८ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए ।

क्रिस लिन नेतृत्वको ब्रिसबेनविरुद्ध आफ्नो पहिलो ओभरमा १९ रच खर्चिदै महँगा भएका सन्दीपले दोस्रो ओभरदेखि भने लय समातेका थिए । उनले आफ्नो अन्तिम ओभरमा ब्रिसबेनका अलराउन्डर बेन कटिङलाई आउट गर्दै जारी सिजनको पहिलो सफलता हात पारेका थिए ।

पहिलो खेलमा मेलबर्नले जित हासिल गरेको र दोस्रो ओभरदेखि लयमा देखिएकाले आज पनि सन्दीपले प्लेइङ ११ मा मौका पाउने सम्भावना बलियो देखिन्छ । जारी सिजनको बीबीएलमा पनि मेलबर्न स्टार्सको नेतृत्व विस्फोटक ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेलले सम्हालिरहेका छन् ।

गत सिजनको बीबीएल पनि सन्दीपले मेलबर्नबाटै खेलेका थिए । जसमा उनले ८ म्याचमा ११ विकेट लिएका थिए । प्रतियोगिताको बीचमै उनी बंगलादेश प्रिमियर लिग (बीबीएल) खेल्न बंगलादेश गएका थिए ।

बिग बास लिग सन्दीप लामिछाने बीबीएल होबार्ट हरिकेन्सविरुद्ध मेलबर्न स्टार्स

विशेष