बिग बास लिगः म्याक्सवेलको ब्याट चलेन आज
काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेल आज सस्तैमा आउट भएका छन् । उनी १४.१ ओभरमा व्यक्तिगत २ रनमा क्याच आउट हुन पुगे । अघिल्लो खेलमा म्याक्सवेलले विस्फोटक ब्याटिङ गरेका थिए । उक्त खेलमा उनले ३९ बलमा ८३ रन बनाएका थिए ।
मेलबर्नले आफ्नो दोस्रो म्याचमा होबार्ट हरिकेन्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । यो समाचार तयार पार्दासम्म मेलबर्नले १६ ओभरमा ४ विकेट गुमाएर १ सय ३२ रन बनाएको छ ।
मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटविरुद्ध २२ रनको जित हासिल गरेको थियो । उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ३८ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए ।
क्रिस लिन नेतृत्वको ब्रिसबेनविरुद्ध आफ्नो पहिलो ओभरमा १९ रच खर्चिदै महँगा भएका सन्दीपले दोस्रो ओभरदेखि भने लय समातेका थिए । उनले आफ्नो अन्तिम ओभरमा ब्रिसबेनका अलराउन्डर बेन कटिङलाई आउट गर्दै जारी सिजनको पहिलो सफलता हात पारेका थिए ।
पहिलो खेलमा मेलबर्नले जित हासिल गरेको र दोस्रो ओभरदेखि लयमा देखिएकाले आज पनि सन्दीपले प्लेइङ ११ मा मौका पाउने सम्भावना बलियो देखिन्छ । जारी सिजनको बीबीएलमा पनि मेलबर्न स्टार्सको नेतृत्व विस्फोटक ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेलले सम्हालिरहेका छन् ।
बिग बास लिग बीबीएल मेलबर्न स्टार्स ग्नेल म्याक्सवेल