खेल

बीबीएलः मेलबर्नले दियो १६४ रनको लक्ष्य, बलिङ गर्दै सन्दीप

बीबीएलः मेलबर्नले दियो १६४ रनको लक्ष्य, बलिङ गर्दै सन्दीप

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई १ सय ६४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

उसका लागि ओपनर मार्कस स्टोइनिसले उत्कृष्ट ब्याटिङ गरे । उनले ४ छक्का र ७ चौका प्रहार गर्दै ५४ बलमा नटआउट ८१ रन बनाए । यस्तै निक म्याडिन्सनले ४०, बेन डंकले १९, कप्तान ग्लेन म्याक्सवेलले २, पीटर ह्यान्सक्बले ३ र हिल्टन कार्टराइटले अविजित ११ रनको योगदान दिए । बलिङमा होबार्टका रिले मेरीडिथले सर्बाधिक ३ विकेट लिए ।

मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटविरुद्ध २२ रनको जित हासिल गरेको थियो । उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ३८ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए ।

क्रिस लिन नेतृत्वको ब्रिसबेनविरुद्ध आफ्नो पहिलो ओभरमा १९ रच खर्चिदै महँगा भएका सन्दीपले दोस्रो ओभरदेखि भने लय समातेका थिए । उनले आफ्नो अन्तिम ओभरमा ब्रिसबेनका अलराउन्डर बेन कटिङलाई आउट गर्दै जारी सिजनको पहिलो सफलता हात पारेका थिए ।

पहिलो खेलमा मेलबर्नले जित हासिल गरेको र दोस्रो ओभरदेखि लयमा देखिएकाले आज पनि सन्दीपले प्लेइङ ११ मा मौका पाउने सम्भावना बलियो देखिन्छ । जारी सिजनको बीबीएलमा पनि मेलबर्न स्टार्सको नेतृत्व विस्फोटक ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेलले सम्हालिरहेका छन् ।

बिग बास लिग सन्दीप लामिछाने बीबीएल

विशेष