बीबीएलः सन्दीपले आज पनि लिए महत्वपूर्ण विकेट
काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत होबार्ट हरिकेन्सविरुद्ध मेलबर्न स्टार्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । आफ्नो पहिलो ओभरमा किफायती बलिङ गरेका सन्दीपले दोस्रो ओभरमा भने विकेटसमेत दिलाउन सफल भए । उनले आफ्नो दोस्रो ओभरको दोस्रो बलमा कालेब जेवेललाई व्यक्तिगत २५ रनमा आउट गरे । सन्दीपले २ बलिङ गर्दै ५ रन दिएर महत्वपूर्ण १ विकेट लिएका छन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको मेलबर्नले होबार्ट हरिकेन्सलाई १ सय ६४ रनको लक्ष्य दिएको छ । मेलर्नका लागि ओपनर मार्कस स्टोइनिसले उत्कृष्ट ब्याटिङ गरे । उनले ४ छक्का र ७ चौका प्रहार गर्दै ५४ बलमा नटआउट ८१ रन बनाए ।
यस्तै निक म्याडिन्सनले ४०, बेन डंकले १९, कप्तान ग्लेन म्याक्सवेलले २, पीटर ह्यान्सक्बले ३ र हिल्टन कार्टराइटले अविजित ११ रनको योगदान दिए । बलिङमा होबार्टका रिले मेरीडिथले सर्बाधिक ३ विकेट लिए ।
मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटविरुद्ध २२ रनको जित हासिल गरेको थियो । उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ३८ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए ।
क्रिस लिन नेतृत्वको ब्रिसबेनविरुद्ध आफ्नो पहिलो ओभरमा १९ रच खर्चिदै महँगा भएका सन्दीपले दोस्रो ओभरदेखि भने लय समातेका थिए । उनले आफ्नो अन्तिम ओभरमा ब्रिसबेनका अलराउन्डर बेन कटिङलाई आउट गर्दै जारी सिजनको पहिलो सफलता हात पारेका थिए ।
बीबीएल बिग बास लिग