खेल

बिग बास लिगः सन्दीपआवद्ध मेलबर्नको लगातार दोस्रो जित

बिग बास लिगः सन्दीपआवद्ध मेलबर्नको लगातार दोस्रो जित

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत होबार्ट हरिकेन्सविरुद्ध सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्स ५२ रनले विजयी भएको छ । मेलबर्नले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको होबार्टले १६ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो । उसका लागि क्लाइव गुलाबले सर्बाधिक नटआउट १८ बलमा ३२ रन बनाए । बलिङमा मेलबर्नका हरिश रौफले ४ ओभरमा २७ रन दिएर ५ विकेट लिए ।

यस्तै एडम जम्पा, ग्लेन म्याक्सवेलले २–२ र सन्दीप लामिछानले १ विकेट लिए । आज सन्दीपले ३ ओभरमा १८ रन दिएर १ विकेट लिएका हुन् । यसअघि टस जितेर ब्याटिङ गरेको मेलबर्नले होबार्ट हरिकेन्सलाई १ सय ६४ रनको लक्ष्य दिएको छ । मेलर्नका लागि ओपनर मार्कस स्टोइनिसले उत्कृष्ट ब्याटिङ गरे । उनले ४ छक्का र ७ चौका प्रहार गर्दै ५४ बलमा नटआउट ८१ रन बनाए ।

यस्तै निक म्याडिन्सनले ४०, बेन डंकले १९, कप्तान ग्लेन म्याक्सवेलले २, पीटर ह्यान्सक्बले ३ र हिल्टन कार्टराइटले अविजित ११ रनको योगदान दिए । बलिङमा होबार्टका रिले मेरीडिथले सर्बाधिक ३ विकेट लिए । मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटविरुद्ध २२ रनको जित हासिल गरेको थियो । उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ३८ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए । 

बिग बास लिग बीबीएल होबार्ट हरिकेन्सविरुद्ध मेलबर्न स्टार्स सन्दीप लामिछाने

विशेष