मुख्य समाचार

बसको ठक्करबाट घाइते विद्यार्थीको मृत्यु, सुकेधारा–चावहिल क्षेत्रमा तनाव

बसको ठक्करबाट घाइते विद्यार्थीको मृत्यु, सुकेधारा–चावहिल क्षेत्रमा तनाव

काठमाडौंः बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गएको छ । सहपाठीको मृत्युपछि आक्रोशित विद्यार्थीले बसमा आगजनी गरेपछि सुकेधारा–चाबहिल क्षेत्रमा तनाव भएको छ ।भक्तपुर–काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान पौने ६ बजे सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए ।

बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएकोमा त्यही उनको मृत्यु भएको हो । गोरखा घर भएकी २१ वर्षीया पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको ज्ञवालीले बताए । उनी पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययन गर्दथिन् । बसको ठक्करबाट सहपाठीको मृत्यु भएपछि आक्रोशित विद्यार्थीले काठमाडौं–भक्तपुर चल्ने बा ४ ख ७१०४ नम्बरकाे बसमा आगजनी गरेका छन् ।

आगजनीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ । आगजनी गरेको आरोपमा गौशाला प्रहरीले नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई नियन्त्रणमा लिएको छ । विद्यार्थीको प्रदर्शनपछि अहिले यो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ । प्रहरीका अनुसार, अवस्था नियन्त्रणमा लिएर सवारी आवागमन पूर्ववत अवस्थामा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

आगजनी बस सुकेधारा–चावहिल सृष्टि पन्त

विशेष