खेल

पीपीएलः बाबर र रोहनको चौका–छक्काकाे वर्षा, ज्ञानेन्द्रको टिमले पायो बलियो लक्ष्य

पीपीएलः बाबर र रोहनको चौका–छक्काकाे वर्षा, ज्ञानेन्द्रको टिमले पायो बलियो लक्ष्य

काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले काठमाडौं गोल्डेन्स वारियर्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनायो ।

उसका लागि बाबर हयात र रोहन मुस्तफाले अर्धशतक बनाए । बाबरले ४६ बलमा ६ छक्का र ४ चौकाको मद्दतमा ७० रन बनाए । यस्तै मुस्तफाले ५२ बलमा ६ चौका र १ छक्का हिर्काउँदै ५९ रनमा अविजित रहे ।

आरिफ शेख र  शन्नी पटेलले १५–१५ रनकाे योगदान दिए । बलिङमा काठमाडौंका अमरसिंह रौटेल, बसन्त रेग्मी र सुशन भारीले एक–एक विकेट लिए ।

चितवनमा पारस खड्का र काठमाडौंमा ज्ञानेन्द्र मल्ल कप्तान छन् । आजको खेल काठमाडौंका लागि निकै महत्वपूर्ण छ । प्रतियोगिताको ‘प्ले अफ’मा स्थान बनाउन काठमाडौंलाई जित्नै पर्ने दबाब रहेको छ ।

चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा छ । जितले काठमाडौं ‘प्ले अफ’मा पुग्ने छ । पराजित भए अन्य खेलको नतिजा कुर्नु पर्नेछ ।

चितवन भने प्ले अफ पुगिसकेको छ । तर, चितवन काठमाडौंलाई हराउँदै अपराजित रहेर फाइनल पुग्न चाहन्छ ।

चितवन चार खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । शीर्ष टोलीले सिधै फाइनल खेल्नेछ । दोस्रो र तेस्रो टिमले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्ने छ ।

पोखरा प्रिमियर लिग पीपीएल बाबर हयात रोहन मुस्तफा काठमाडौं गोल्डेन्सविरुद्ध चितवन राइनोज

विशेष