मुख्य समाचार

काठमाडौंको तापक्रम १ डिग्री!

काठमाडौंको तापक्रम १ डिग्री!

काठमाडौंः काठमाडौं उपत्यकाको तापक्रम आज बिहान १ डिग्रीमा झरेको छ । बिहान ६ बजे गरिएको तापक्रमअनुसार काठमाडौं उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले दिए । बुधबार २.९ डिग्री सेल्सियस थियो । 

‘फेरि ८ः४५ बजे अर्को मापन गर्छौं,’ वरिष्ठ मौसमविद् पौडेलले भने, ‘अझ घटेर माइनसमा पनि झर्न सक्छ ।’ बुधबार पनि बिहान ६ बजे काठमाडौंको तापक्रम ३ डिग्री रहेकामा पछि पौने ९ बजे पुनः मापन गर्दा घटेर २.९ डिग्रीमा झरेको पाइएको थियो । अन्तर्राष्ट्रिय समयअनुसार पौने ९ बजेको मापनलाई नै आजको आधिकारिक न्यूनतम तापक्रम मानिन्छ ।

अहिले काठमाडौं उपत्यकालगायत देशैभर चिसो बढ्ने क्रममा रहेको उनले बताए। तराई क्षेत्रमा अहिले बाक्लो हुस्सुरकुहिरो लागेको छ । प्रायः स्थानका हुस्सु–कुहिरो दिउँसोपछि हट्ने सम्भावना छ । ‘तर केही स्थानका हुस्सुरकुहिरो नहट्न पनि सक्छ,’ उनले भने । देशका उपत्यकाजस्ता ठाउँहरूमा तुषारो पनि पर्ने सम्भावना रहेको उनले जानकारी दिए ।

देशको पहाडी क्षेत्रको मौसम भने अहिले सामान्यता सफा रहेको उनले बताए । ‘आज देशका अधिकांश स्थानमा घाम लाग्ने सम्भावना छ,’ मौसमविद् पौडेलले भने । 

तापक्रम काठमाडौं

विशेष