प्रतिनिधिसभा बैठक बस्दै आज

काठमाडौंः आज प्रतिनिधिसभा बैठक बस्दैछ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा सभामुख निर्वाचनको कार्यतालिका निर्धारण गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र सभामुखमा सहमति जुटिनसकेकाले आजको बैठकले निर्वाचन कार्यतालिका निर्धारण गर्ने सम्भावना न्यून देखिएको छ ।
नेकपाभित्र सहमति जुटेको जानकारी प्राप्त नभए आजको बैठक सूचना टाँसेर स्थगित हुने सम्भावना रहेको संसद सचिवालय स्रोतले जनाएको छ । नेकपामा सभामुख पदका लागि पूर्वसभामुख समेत रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य अग्नी सापकोटाको चर्चा छ ।
सभामुखको टुंगो लगाउने जिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ । सभामुखका लागि नाममा सहमति जुटेपछि निर्वाचन कार्यतालिका ल्याउने गरी संसद बैठक स्थगित गर्ने तयारी गरिएको हो ।
प्रतिनिधिसभा बैठक सभामुख निर्वाचन