विराटनगरलाई हराउँदै चितवनले जित्यो पिपिएलको उपाधि
पोखरा – पोखरा प्रिमियर लिग (पिपिएल)को उपाधि चितवन राइनोजले जितेको छ। आज पोखरा क्रिकेट स्टेडियममा भएको फाइनलमा चितवनले विराटनगर टाइटान्सलाई ३२ रनले पराजित गर्दै पिपिएलको उपाधि जितेकाे हाे। चितवनले दिएको २०३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन मात्रै बनाउन सक्यो।
विशाल लक्ष्य पछ्याएको विराटनगरले १ दशमलव १ ओभरमै सुनिल धमलाको विकेट गुमाएको थियो। यसअघिको खेलमा उत्कृष्ट पारी खेलेका धमला आज भने ४ रनमै बोल्ड भए। त्यस्तै लोकेश बम पनि कृजमा टिक्न सकेनन्।
शुरुमै धरमराएको विराटनगरको इनिङलाई मोहम्मद जाइद आलमले सम्हालेका थिए। उनले नोमन खान र प्रदीप ऐरीसँग उत्कृष्ट साझेदारी गर्दै विराटनगरको स्कोर उकासेका थिए। ५७ रन बनाएका आलम १४ दशमलव १ ओभरमा क्याचआउट भएका थिए।
त्यस्तै पुनित मेहेराले आक्रामक ३२ रन तथा कप्तान प्रदीप ऐरीले ३६ रन जोडे पनि यो जितका लागि पर्याप्त बन्न सकेन। विराटनगरलाई १७० रनमा रोक्न करण केसीले ३ विकेट, सन्नी पटेलले २ विकेट तथा रोहन मुस्तफाले १ विकेट लिए। चितवनले लिगमा अपराजित रहँदै उपाधि जितेको हो।