खेल

पीपीएल फाइनलः विराटनगरविरुद्ध ब्याटिङ गर्दै पारसको टिम

पीपीएल फाइनलः विराटनगरविरुद्ध ब्याटिङ गर्दै पारसको टिम

काठमाडौंः दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको फाइनलमा चितवन राइनोजविरुद्ध विराटनगर टाइटन्सले टस जितेर बलिङ रोजेको छ । चितवन–विरानटनगरबीचको फाइनल खेल बिहान ११ः३० बजेदेखि पोखरा रंगशालामा सुरु हुँदैछ ।

अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गत वर्ष पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको विराटनगर दुवै टोली आज फाइनल खेलमा मैदानमा उत्रिँदा पीपीएलको पहिलो उपाधिको खोजीमा छन् ।

चितवनले जारी प्रतियोगितामा उत्कृष्ट खेल पस्किँदै समूह चरणका पाँचवटै खेलमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो भने विराटनगरले प्लेअफमा पुग्न कठिन सङ्घर्ष गर्नुपरेको थियो ।

नेट रनरेटमा काठमाडौँभन्दा अघि रहँदै प्लेअफमा बुटवललाई पराजित गरेर विराटनगर प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । लिग चरणका पाँच खेलमध्ये तीन खेलमा विराटनगर पराजित भएको थियो भने दुई खेलमा जित हासिल गर्न सफल भयो । तर पछिल्ला दुई खेलमा भने विराटनगरले राम्रो शुरुआत गरेको छ ।

समूह चरणमा चितवनसँग १८ रनले पराजित भएको विराटनगरलाई फाइनलमा हारको बदला लिँदै पहिलो फ्रेञ्चाइज लिगको उपाधि उचाल्ने अवसर प्राप्त भएको छ ।

मङ्सिर २९ गतेदेखि शुरु भएको प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, ब्याट्सम्यान तथा बलर गरी तीन जनालाई जनही एक–एक थान टीभीएस मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिताको ‘मोस्ट भ्यालुयबल’ खेलाडीलाई एक लाख तथा ‘इमर्जिङ’ खेलाडीलाई ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

चितवन र विराटनगरसहित साविक विजेता पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ शहरका ६ टोलीले प्रतियोगितामा सहभागितामा जनाएका थिए ।

पोखरा प्रिमियर लिग पीपीएल चितवन राइनोजविरुद्ध विराटनगर

विशेष