खेल

पीपीएल फाइनलः पारसको टिमद्वारा विराटनगरलाई २०३ रनको लक्ष्य

पीपीएल फाइनलः पारसको टिमद्वारा विराटनगरलाई २०३ रनको लक्ष्य

काठमाडौंः दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई २ सय ३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनायो ।

उसका लागि रोहन मुस्तफा, अनिलकुमार शाहले ५०–५०, कप्तान पारस खड्काले २५, आरिफ शेखले १९, शन्नी पटेलले अविजित १६ र करण केसीले ८ बलमा नटआउट २६ रन बनाए । बलिङमा पुनित मेहेरा, मोहम्मद जैद आलमले २–२ र किशोर महतोले एक विकेट लिए ।

अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गत वर्ष पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको विराटनगर दुवै टोली आज फाइनल खेलमा मैदानमा उत्रिँदा पीपीएलको पहिलो उपाधिको खोजीमा छन् ।

चितवनले जारी प्रतियोगितामा उत्कृष्ट खेल पस्किँदै समूह चरणका पाँचवटै खेलमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो भने विराटनगरले प्लेअफमा पुग्न कठिन सङ्घर्ष गर्नुपरेको थियो ।

नेट रनरेटमा काठमाडौँभन्दा अघि रहँदै प्लेअफमा बुटवललाई पराजित गरेर विराटनगर प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । लिग चरणका पाँच खेलमध्ये तीन खेलमा विराटनगर पराजित भएको थियो भने दुई खेलमा जित हासिल गर्न सफल भयो । तर पछिल्ला दुई खेलमा भने विराटनगरले राम्रो शुरुआत गरेको छ ।

समूह चरणमा चितवनसँग १८ रनले पराजित भएको विराटनगरलाई फाइनलमा हारको बदला लिँदै पहिलो फ्रेञ्चाइज लिगको उपाधि उचाल्ने अवसर प्राप्त भएको छ । मङ्सिर २९ गतेदेखि शुरु भएको प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् ।

उत्कृष्ट खेलाडी, ब्याट्सम्यान तथा बलर गरी तीन जनालाई जनही एक–एक थान टीभीएस मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिताको ‘मोस्ट भ्यालुयबल’ खेलाडीलाई एक लाख तथा ‘इमर्जिङ’ खेलाडीलाई ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

चितवन र विराटनगरसहित साविक विजेता पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न ६ शहरका ६ टोलीले प्रतियोगितामा सहभागितामा जनाएका थिए ।

पोखरा प्रिमियर लिग पीपीएल फाइनल

विशेष