खेल

पीपीएल फाइनलमा रोहन मुस्तफाको अर्धशतक

पीपीएल फाइनलमा रोहन मुस्तफाको अर्धशतक

काठमाडौंः दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको फाइनलमा विराटनगर टाइटन्सविरुद्ध चितवन राइनोजका ओपनर रोहन मुस्तफाले अर्धशतक बनाएका छन् । उनले ४१ बलमा १ छक्का र ३ चौका हिर्काउँदै अर्धशतक बनाएका हुन् ।

मुस्तफाअघि चितवन राइनोजका विकेटकीपर–ब्याट्सम्यान अनिलकुमार शाहले पनि शानदार अर्धशतक बनाए । उनले ३३ बलमा ३ छक्का र ३ चौका हिर्काउँदै अर्धशतक बनाएका हुन् ।

पीपीएलमा शाहको यो पहिलो अर्धशतक हो । फाइनल खेलमा चितवनले टस हारेर ब्याटिङको गरिरहेकाे हाे ।  

अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गत वर्ष पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको विराटनगर दुवै टोली आज फाइनल खेलमा मैदानमा उत्रिँदा पीपीएलको पहिलो उपाधिको खोजीमा छन् ।

चितवनले जारी प्रतियोगितामा उत्कृष्ट खेल पस्किँदै समूह चरणका पाँचवटै खेलमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो भने विराटनगरले प्लेअफमा पुग्न कठिन सङ्घर्ष गर्नुपरेको थियो ।

नेट रनरेटमा काठमाडौँभन्दा अघि रहँदै प्लेअफमा बुटवललाई पराजित गरेर विराटनगर प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । लिग चरणका पाँच खेलमध्ये तीन खेलमा विराटनगर पराजित भएको थियो भने दुई खेलमा जित हासिल गर्न सफल भयो । तर पछिल्ला दुई खेलमा भने विराटनगरले राम्रो शुरुआत गरेको छ ।

समूह चरणमा चितवनसँग १८ रनले पराजित भएको विराटनगरलाई फाइनलमा हारको बदला लिँदै पहिलो फ्रेञ्चाइज लिगको उपाधि उचाल्ने अवसर प्राप्त भएको छ ।

मङ्सिर २९ गतेदेखि शुरु भएको प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, ब्याट्सम्यान तथा बलर गरी तीन जनालाई जनही एक–एक थान टीभीएस मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिताको ‘मोस्ट भ्यालुयबल’ खेलाडीलाई एक लाख तथा ‘इमर्जिङ’ खेलाडीलाई ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

चितवन र विराटनगरसहित साविक विजेता पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ शहरका ६ टोलीले प्रतियोगितामा सहभागितामा जनाएका थिए ।

पोखरा प्रिमियर लिग पीपीएल रोहन मुस्तफा विराटनगर टाइटन्सविरुद्ध चितवन राइनोज

विशेष