भिडियो Breaking News कभर स्टोरी

प्रधानमन्त्री ‘यति’को सञ्चालक देखिनु भयो (भिडियोसहित)

प्रधानमन्त्री ‘यति’को सञ्चालक देखिनु भयो (भिडियोसहित)

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम सांसद डा. डीला संग्रौलाका अनुसार अहिले देशभर नेपाल ट्रष्टको सम्पत्ति यति होल्डिङ्सलाई दिने नीतिगत निर्णय प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले गरिरहेका छन् । 

आफू विरामी अवस्थामा हुँदा पनि मन्त्रिपरिषद् बैठक राखेर हतार हतारमा यतिलाई ट्रष्टको सम्पत्ति जिम्मा लगाउनुको उद्देश्य के हो ? ट्रष्टको ऐन नै परिवर्तन गरी आफू अनुकूल सुविधाको व्यवस्था गर्नु नै अपराध थियो । अझ प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी निकट पत्रकारहरुलाई बोलाएर यतिलाई ट्रष्टको सम्पत्ति दिनु कानुनसम्मत भएको बताएर उनले आफू नै यतिको संचालक भएको पुष्टि गरेका छन् । 

डा. संग्रौला भन्छिन्, ‘मुलुकमा नीतिगत भ्रष्टाचारको नेतृत्व नै प्रधानमन्त्रीले गरिरहेका छन् । आफना मान्छे भ्रष्टाचारमा परे तिनलाई सफाइ दिने काम पनि उनी आफैं गर्छन् । आज सुनकाण्ड, बालुवाटारकाण्ड, एनसेल काण्ड, मेलम्ची, बुढीगण्डी, वाइड तथा न्यारोबडी....लगायतका विषयमा सरकारले के गर्यो ? भन्ने बेलामा भ्रष्टाचारीको मुख हेर्दिन भन्ने तर भ्रष्टाचारको नायिके आफै बन्ने । वास्तवमा भन्ने हो भने सिंहदरवार नै भ्रष्टाचारको जगमा उभिएको छ । ’

हुँदाहुँदा अब मुलुकमा सांसदको अधिकार पनि कुण्ठित गर्न थालिएको छ । नेकपाको सचिवालय बैठकले प्रदेश ३ को नाम र राजधानी तोक्नु कहाँसम्मको अत्याचार हो ? प्रदेशको नाम र राजधानी तोक्ने काम संसदको हो कि नेकपा भन्ने पार्टीको ? संसदलाई निर्देशन दिने अधिकार त्यो पार्टीले कहाँबाट पायो ? 

डा. संग्रौलाका अनुसार प्रदेश ३ का प्रमुख डोरमणि पौड्याल नेकपाका कठपुतली हुन् । उनी नेकपा पार्टीको कार्यकर्ता जस्ता देखिए । नेकपाले आफनो अधिकार खोसेपछि अब प्रदेश ३ का सांसद जागरुक हुनुपर्छ । उनीहरुले यसको विरोध गर्नसक्नु पर्छ । 

नेकपा निर्वाचनबाट चुनिएर आएको भएपनि यसले जनभावनाको सम्मान गर्न सकेन । जनताले मत दिएको यो देशमा कम्युनिष्ट व्यवस्था ल्याउन होइन, आफना समस्या समाधान गर्न हो । तर, सरकार त समृद्धिका नारा उछालेर भ्रष्टाचार गर्नतर्फ मात्र लाग्यो । जनतामाथि करै कर, समस्यै समस्या । 

कम्युनिष्टहरुको अधिनायकवादबाट मुक्त गर्न देशमा ठूलो आन्दोलनको आवश्यकता छ । अब नेपाली कांग्रेसले त्यो जागरणको नेतृत्व गर्नेछ । 

जहाँसम्म हाल कांग्रेसमा देखिएको विवाद छ त्यो महाधिवेशन लागेको भन्ने बुझे हुन्छ । पार्टीका ठूला नेताहरुलाई महाधिवेशन लागिसकेको छ । आउँदो १४औं महाधिवेशनमा नेतृत्वको हानाथाप चलिरहेकाले नेताहरुमा विवाद जस्तो देखिएको हो, कुनै सैद्धान्तिक लडाइँ छैन । 

नेविसंघ र तरुण दलमा भागवण्डा नमिल्नु नै अहिलेको प्रमुख समस्या हो । सभापति शेरबहादुर देउवाले पौडेल पक्षको भावनाको सम्मान गर्दै सहमतिका लागि त्यो स्थान सुरक्षित राखेका छन् । चाँडै कुरा मिल्छ, कुनै समस्या छैन । पार्टी टुक्रिने भन्ने चिन्ता लिनु पर्दैन । 
 

विशेष