उपनिर्वाचनमा सत्तापक्ष हावी, कांग्रेस सुध्रिएन, अरु पत्तासाफ ( भिडियोसहित)
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘ संसारभर उपनिर्वाचनमा सत्तापक्ष हावी हुन्छ, नेपालमा पनि यही देखियो । मुख्यतः कांग्रेसको ठाउँमा नेकपा र नेकपाको ठाउँमा कांग्रेसले जितेकाले जनताले परिवर्तन खोजेको प्रष्ट भयो । परिवर्तनको अर्थ कांग्रेस र नेकपाको विकल्प होइन भन्ने पनि प्रमाणित भयो । कुनै कुनामा केही दलले केही सिट जितेपनि दुई चार निर्वाचन नेपाली राजनीति नेकपा र कांग्रेसकै वरिपरि घुम्ने प्रष्ट भयो । ’
तीन तहका लागि भएको उपनिर्वाचनमा पोखराको निर्वाचनले राजनीति कुन दिशामा जाँदैछ भन्ने देखाएको छ । काश्की २ मा प्रतिनिधिसभाका लागि निर्वाचन भएको हो । यहाँको परिणामले राष्ट्रिय राजनीतिमा नेकपाको बर्चश्व अझै कायमै रहने देखाएको छ ।
प्रदेशस्तरको चुनावमा केही उलटपुलट देखिन्छ । भक्तपुर १ (क) मा कांग्रेस उम्मेदवार विजयी हुनु नेकपा भित्र द्वन्द्व मच्चाउने कारण हुनसक्छ । पूर्व माओवादीका उम्मेदवारलाई एमालेले अन्तर्घात गरेको कुरा सो पार्टीभित्र मच्चिसकेको छ । यसको राजनीतिक फाइदा कांग्रेसलाई हुनु स्वभाविक हो । अन्य ठाउँमा पनि माओवादी पृष्टभूमिका उम्मेदवार हारेको र एमालेका उम्मेदवारहरुको जित भएकाले ठूलै अन्तर्घात अनुमान गरिएको छ । अन्तर्घात नभए यो माओवादी उम्मेदवारमाथि जनताको एलर्जीका रुपमा लिन सकिन्छ ।
स्थानीय तहमा कांग्रेसले जितेको ठाउँमा नेकपा र नेकपाले जितेका ठाउँमा कांग्रेसका उम्मेदवार विजयी भएको देखिन्छ । यसले जनता परिवर्तन खोजिरहेका छन् भन्ने देखाउँछ । जति परिवर्तन खोजेपनि उनीहरु नेकपा र कांग्रेसको घेराबाट भने बाहिर जान सकेका छैनन् । केही वर्ष नेपालको राजनीति यी दुई पार्टी वरिपरि नै घुम्ने निश्चित छ ।
प्रचण्ड असुरक्षित
यो निर्वाचनको एउटा महत्वपूर्ण सन्देश नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्राप्त भएको छ । आफू र आफनो छोरीको राजनीति चितवनबाट सुनिश्चित गर्न खोजेका दाहाललाई यो निर्वाचनले धक्का दिएको छ । उनकै निर्वाचनका क्षेत्रका वडाबाट कांग्रेसका उम्मेदवार विजयी हुनु उनको भविश्यमाथि खतराको घण्टी हो ।
त्यसैपनि चितवन कांग्रेसका लागि उर्वर क्षेत्र हो । स्थानीय तहको निर्वाचनमा कांग्रेसले तत्कालिन माओवादी केन्द्रका लागि त्याग गरेको थियो । अहिले कांग्रेसले ‘कोर्स करेक्सन’ गरेको छ । आफनो गुमेको शाख फर्काएको छ । आफनो राजनीतिक चितवन गर्छु भन्ने प्रचण्डका लागि यो भन्दा ठूलो असुरक्षा अरु के हुनसक्छ ?
कांग्रेस फेरि हार्छ
जहाँसम्म कांग्रेसको कुरा छ यो भताभुंग र लथालिंग छ । अहिलेकै अवस्थामा चुनाव गर्ने हो भने कांग्रेस फेरि पनि हार्छ । अहिले प्रदेशदेखि केन्द्रसम्म जुन हालत छ, त्यो भन्दा गतिलो हुने स्थिति छैन । जबसम्म कांग्रेस सभापति र महामन्त्री फेरिदैन, तबसम्म कांग्रेसको अवस्था सुध्रिनेवाला छैन ।
विश्लेषक आचार्य भन्छन्, ‘ मेरो व्यक्तिगत पूर्वाग्रह होइन । तर, पार्टीलाई जिवन्त तुल्याउने भनेको सभापति र महामन्त्रीले हो । उनीहरुले कांग्रेसलाई बलियो बनाउन के गरे ? बैचारिकरुपमा कांग्रेस जति अस्पष्ट अरु कोही छैन । गणतन्त्र, धर्म, संघीयता लगायतका विषयमा अझै पनि पार्टीमा अलमल छ । संगठनका अवयव केही पनि छैनन् । न पार्टीका विभाग छन् न भ्रातृसंगठन नै चुस्त छन । सबै अस्तव्यस्त । नेतृत्व क्षमताहीन देखियो । अहिलेका सभापति र महामन्त्रीबाट कांग्रेस पार लाग्दैन । ’
प्रधानमन्त्रीको राजीनामा
अहिले मुलुक राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक प्रभावका कारण गम्भीर समस्यामा फँसेको छ । यो बेला प्रधानमन्त्री गम्भीर विरामी परेका छन् । उनले लामो समयसम्म आराम गर्नुपर्ने स्थिति छ । यो बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टीको अध्यक्षबाट राजीनामा दिनु उनको आफनै हीतका लागि राम्रो हो ।
समस्या के छ भने प्रधानमन्त्री ओली आफू राजीनामा दिने मुडमा छैनन्, यो कुरा उनलाई भन्ने तागत त्यो पार्टीमा अरु कसैसंग छैन । भने माधव नेपालले भन्ने हो, उनी धेरै कमजोर भएकाले त्यसको केही अर्थ लाग्दैन ।
विवेक पुर्याउने हो भने प्रधानमन्त्री आफैले मुलुक र पार्टीको बागडोर अरुलाई सुम्पेर आफू उपचारमा लाग्नु राम्रो हो ।
विडम्बना के भने यो देशमा गिरिजाप्रसाद हुन वा सुशील कोइराला वा ओली...बलिया भनिएका प्रधानमन्त्री सबैको स्वास्थ्य खराब । त्यही भएर मुलुकमा अब ‘मेडिकल लाइब्रेरी’ को व्यवस्था गर्नुपर्छ । राज्यसत्ता चलाउने व्यक्तिहरुको स्वास्थ्य अवस्थाबारे सम्पूर्ण जानकारी पाउने ‘मेडिकल लाइब्रेरी’ स्थापना गर्नु निकै जरुरी भैसक्यो । आउने पिँढीका लागि यो निकै उपयोगी हुन्छ ।
उपेन्द्र र राजपा
उपप्रधान तथा कानुन मन्त्री रहेका उपेन्द्र यादवले सरकारलाई अफ्ठ्यारो पार्छन् कि भन्ने धेरैलाई लागेको छ, त्यो होइन । उनको केही पनि हैसियत छैन । उनको प्रमुख उद्देश्य भनेको राजपालाई सरकारमा जानबाट रोक्नु हो । राजपा सरकारमा आए आफनो पतन हुने भय उनीमा छ ।
त्यो बाहेक उनको लक्ष्य केही छैन । मधेशका एजेण्डा उनीसंग अब रहेनन् । सत्ताको बल्छी हालेर बसेको राजपाका कारण उनको सत्तामोह बाध्यकारी भएको छ ।
सीमाको समस्या
पछिल्लो पटक भारतले नेपाली भूमि अतिक्रमणको गरेको विषयमा सरकारले जति कुटनीतिक पहल गर्नुपर्ने हो, त्यति हुन सकेको छैन । आवश्यक गृहकार्य, सूचना, तथ्य र तथ्यांक संकलन नहुनु र केही मात्रामा आत्मविश्वास पनि नहुनु नेपाली पक्षको सधैंको कमजोरी हो । सीमाका विषयमा मात्र होइन कुनैपनि विषय र क्षेत्रमा सरकार, कर्मचारी तन्त्र र यहाँको प्रशासन कहिल्यै गम्भीर भएको पाइएन ।
उपनिर्वाचनको समयमा सीमाको विषयलाई चुनावी एजेण्डा बनाएर दलहरुले गम्भीर गल्ति गरे । यो राष्ट्रिय एकता कायम भएको विषय हो । यसमा कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि गलत बोले । सरकार र सत्तापक्षीय नेताहरु पनि गम्भीर हुन सकेनन् । आपसमा बाझाबाझ गरेर बसे ।
भारतीय नेताहरु एकपछि अर्को गर्दै भूमिका विषयमा एकवद्ध भैरहेकाबेला नेपाली नेताहरु बिभाजित हुनु दुःखद हो । अब उच्चस्तरीय कुटनीतिक पहल नै समाधानको उपाय हो । बीपी कोइरालाले २०१६ सालमा चीनसंग वार्ता गरेर सगरमाथा त फिर्ता लिए भने यो किन सकिदैन ? मात्र इच्छाशक्ति चाहियो ।