करोडौंको लगानीमा खेलाँचीः निर्माण पूरा नहुँदै रंगशालामा १० लाख मानिस उतारिँदै

काठमाडौंः २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको दशरथ रंगशाला गत मंसिरमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) बाट मात्र सञ्चालन आयो । मुलुकको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला क्षतिग्रस्त हुँदा नेपाली खेलकुद नै लामो समयसम्म प्रभावित बन्यो ।
दशरथ रंगशालामा प्यारापिट, सेन्थेटिक ट्र्याकलगायतका संरचना राष्ट्रिय खेलकुद परिषद् (राखेप) र फुटबल मैदान अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्माण गरेको थियो । यही मैदानमा १३औं सागअन्तर्गत पुरुष फुटबलका खेल सञ्चालन भएको थियो ।
दशरथ रंगशालाको पुनर्निर्माण समयमा नहुँदा विश्वकप छनोट फुटबलअन्तर्गत गत मंसिर ३ गते पूर्वनिर्धारित कुवेतविरुद्धको खेल भुटानमा सार्नु परेको थियो । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिले दशरथ रंगशालाको अवस्था खेल्नलायक नभएको भन्दै अनुमति नदिएपछि भुटानमा खेल सारिएको थियो ।
लाखौं रुपैयाँको लगानीमा तयार पारिएको फुटबल मैदानमा पछिल्लो समय सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालन हुँदै आएको थियो । सागका लागि रातारात गरेर पुनर्निर्माण गरिएको दशरथ रंगशालाको फुटबल मैदान र सिन्थेटिक ट्र्याक फेरि खेलकुद बाहिरको कार्यक्रम गरेर भत्काउने क्रम सुरु भएको छ । बुधबार ‘नेपाल भ्रमण वर्ष २०२०’को शुभारम्भ गर्न दशरथ रंगशालाको खेलमैदानमै मञ्चलगायतका विभिन्न संरचना निर्माण थालिएको छ । सरकारले १० लाख मानिस उतारेर रंगशालाबाट नेपाल भ्रमण वर्ष सुरु गर्ने घोषणा गरेको छ । जसले गर्दा लाखौं खर्चिएर लामो समयपछि बनेको मैदान बिग्रिने चिन्ताले धेरैलाई सताएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।
भूकम्प दशरथ रंगशाला