बालुवाको यात्रा हो जीवन, हिँडेका पाइला स्वतः मेटिन्छन् ( भिडियोसहित)
नेपाली कला साहित्यमा इन्साइक्लोपेडियाका रुपमा परिचित चलचित्र निर्देशक तथा समीक्षक प्रकास सायमी सधैंका अरुका बारेमा बोल्छन् र लेख्छन् । उनको बोली र लेखाइले कतिको जिन्दगी बन्यो, कतिको घाउमा मलहम लाग्यो, कतिको ओठमा हाँसो फुट्यो, कतिको आँशु पुछियो । प्रकासले यसको कुनै हिसाबकिताब राखेका छैनन् ।
आफूले गरेको कामको बदलामा आफना दर्शक, पाठक तथा श्रोताबाट उनलाई कुनै अपेक्षा छैन । केही पाउनका लागि गर्ने पनि होइन । आफनो कामपछि पाठक, दर्शक र श्रोताबाट पाउने अपार माया, सम्मान र खुशीलाई नै उनी सन्तुष्टि ठान्छन् ।
प्रकास भन्छन्, ‘कुनै व्यक्ति खुशी भएर अनुहारमा मुस्कानसहित मसंग कुरा गर्छ भने त्यो नै मेरो सम्पत्ति हो । म त्यसमै रमाएको छु । आफनो गुजारा चलाउन त केही आयआर्जनका काम गर्छु तर पाठक र दर्शकको माया नै मेरो लागि सर्वोपरी हो ।’
एउटा बालुवाको यात्रा हो जीवन । जति अघि बढ्यो पछाडिका पाइला मेटिदै जान्छन् । दुःख र अभावका पाटा थुप्रै छन् तर पैसालाई महत्व कहिल्यै दिइएन । एउटा पुस्तक किन्दा पुस्तकप्रति ध्यान जान्छ, यो पुस्तकमा कति पैसा तिरियो भन्नेतर्फ सोचिदैन । सानोमा तरकारी किन्न जाँदा पनि पैसा फिर्ता ल्याउने ध्यान हुँदैन थियो । आज झन् हुने कुरै भएन ।
आफूले अर्काका लागि गरेको कामको पारिश्रमिक नपाउँदा भने थुप्रै पटक तीतो अनुभव प्रकासले गरेका छन् । फिल्म बनाउँदा निर्माताले लामो समयसम्म झुलाउने, सकभर पैसा दिन नमान्ने । कतिपयले जग्गा किन्छौ त भनेर अनावश्यक ध्वाँस लगाउने । त्यो बेला घरायसी विभिन्न समस्याका बाहना देखाएर निर्मातासँग पैसा उठाउनु परेको तीतो अनुभव पनि उनीसँग छ ।
आफूलाई ‘इन्साइक्लोपेडिया’ भनिनुलाई उनी सम्मानका रुपमा लिन्छन् । सबै तिथी मितिसहित इतिहास बताउन सक्ने क्षमताबारे उनी भन्छन्, ‘म हरेक कुरालाई गम्भीर रुपमा लिन्छु । सानो बच्चादेखि ठूलै कोही मान्छेले भनेका कुरालाई म हृदयदेखि सुन्छु । त्यो कुरा मेरो मनमगजमा गढेर बस्छ । त्यही सम्झेर बोल्ने हो मैले ।’
प्रकास आफ्नो अनुभव, ज्ञान र भोगेका घटनाबारे पुस्तक लेख्ने तयारीमा छन् । तर, त्यो आत्मवृतान्त होइन । ‘आत्मवृतान्त अर्थात अटोबायोग्राफी’ संग उनलाई डर लाग्छ । ‘अटोवायोग्राफी’ लेखेपछि सत्य कुरा लेख्नुपर्छ । सत्य कुरा लेख्दा धेरैलाई नकारात्मक प्रभाव पर्न सक्ने भएकाले त्यस्ता विषयवस्तु लेख्न कठिन हुने उनी बताउँछन् ।
ठट्यौली शैलीमा प्रकास भन्छन्, ‘मानौ मैले आत्मवृतान्तमा मेरी कुनै समयकी प्रेमिका बारेमा लेखें । अहिले उनी दुई चार बच्चाकी आमा भएर कहिं आफनो जीवन बिताइरहेकी हुन सक्छिन् । मेरो आत्मकथाले उनको जीवन नै तहसनहस गर्ने स्थिति हुनसक्छ नि । ’
प्रकासका अनुसार नेपाली गीत संगीत र साहित्य पछिल्लो समय हलुका हुँदै गएको छ । निश्चित व्यापार र निहीत स्वार्थका लागि लेखिन थालेको छ । वजन विनाका सृजना आउन थालेका छन् । यसले क्षणभरलाई चर्चा त दिन्छ तर दीर्घजीवन दिँदैन ।
हरेक क्रान्ति शान्तिका लागि हुन्छ भने झैं नेपाली कला साहित्यमा पुननिर्माण हुने संकेत देखिएको छ । त्यही निर्माणका लागि अहिले भत्किदैछ । निर्माण गर्ने काम जो कोहीले पनि गर्छ । यसमा नयाँ र पुरानो सर्जक भन्ने हुँदैन । उमेर हदको कुरा पनि हुँदैन ।
सृजनामा वजन नभएका बेला पनि सरकार भने लेखक कलाकारसँग डराएको छ । कहिल्यै पक्राउ गर्ने, कहिल्यै सृजनामाथि प्रतिबन्ध लगाउने यसले सरकारलाई नै कमजोर बनाउँछ ।
प्रकाश देश नबन्नुमा नेताहरु नै मुख्य दोषी भएको ठान्छन् । मुलुकमा गरिबी, भ्रष्टाचार, अन्याय अत्याचारसँगै हुँदाहुँदै देशको भू–भाग मिचिदासमेत नेताहरु मौन रहेको देखेर उनी चकित परेका छन् । इमान्दार र नैतिकवान नेता नभएकै कारण कसैले पनि चुइँक्क गर्न नसकेको उनको बुझाइ छ ।
‘राजनीतिक दलहरुमा पनि अब छाँटकाँटको समय आएको छ । सबै खराब छैनन् । राम्राहरुलाई अघि बढाउन सक्नुपर्छ । मुलुकको भविष्य उज्यालो बनाउने त्यही एउटा उपाय हो ।’ सायमी आफनो निष्कर्ष सुनाउँछन् ।