सागमा नेपाल : भौतिक पूर्वाधार अरु देशभन्दा उत्तम (भिडियोसहित)
१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन नै यति भव्य भयो कि अस्पतालको शैयामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भिडियो सन्देशमार्फत सबैलाई धन्यवाद दिए । प्रधानमन्त्रीलाई त्यसरी आत्मबल आउनुमा सागको अभूतपूर्व रुपमा उद्घाटन हुनु पनि एउटा कारण हो ।
राष्ट्रिय खेलकुद तयारी समितिका सचिव महेन्द्रकुमार राईका अनुसार १३ औं साग जसरी सफलतापूर्वक अघि बढिरहेको छ, यसको सम्पूर्ण श्रेय राखेप सदस्य सचिव रमेश सिलवाललाई जान्छ । सदस्य सचिव नियुक्त भएलगत्तै जुन आत्मविश्वास र समन्वयका साथ सिलवालले काम गरे, त्यसैले साग आयोजना गर्न सम्भव भएको हो । साग हुँदैन क्या हो भन्ने स्थितिमा पुगेका बेला सिलवालको नेतृत्व र सक्रियताले आज सबै नेपालीले गर्व गर्ने मौका पाएका छन् ।
राष्ट्रिय तयारी टिमका निर्देशक र कराँतेका वरिष्ठ प्रशिक्षकसमेत रहेका राई भन्छन्, ‘कार्यविधि र बजेटसमेत समयमा पास हुन सकेको थिएन । खेलकुदका विभिन्न विधाका पदाधिकारीसमेत अन्योलमा थिए । तर, साग शानका साथ भैरहेको छ । छिटफुट केही सामान्य व्यवधान होलान्, त्यसको कुनै अर्थ छैन । ’
आफनो गृह मैदानमा प्रतियोगिता भएकाले खेलाडीहरुले पनि अपेक्षा भन्दा बढी प्रदर्शन गरेका छन् । खासगरी कराँते, उसु र ताइक्वान्दोमा खेलाडीहरुले अद्वितीय प्रदर्शन गरेका छन् । अन्य खेलमा पनि आशा गरे भन्दा बढी पदक आएका छन् । यो सबैमा घरेलु मैदान र दर्शकको समर्थनले काम गरेको छ ।
सबै खेलका लागि आवश्यक सबै पूर्वाधार नेपालले शानदार रुपमा तयार गरेको छ । केही ठाउँमा बनाउने र खेलाउने काम संगसंगै पनि भैरहेको छ । अन्य देशमा पनि यस्तै हो । अझ सागका लागि भौतिक पूर्वाधारको तुलना गर्ने हो अन्य देश भन्दा नेपालको निकै ‘स्ट्याण्डर्ड’ छ ।
नेपालमा खेलाडीसहित प्रशिक्षकहरुको भविष्य निकै राम्रो छ । अहिले सरकारी निकाय मात्र होइन निजी क्षेत्रमा पनि धमाधम काम पाइन्छ । इज्जत, मान प्रतिष्ठा पनि उत्तिकै छ । बरु नेपाल सरकारले खेलाडी र प्रशिक्षकहरुलाई विदेशमा तालिमका लागि पठाउन जरुरी छ । खेल क्षेत्रको विकासका लागि सातवटै प्रदेशमा भौतिक संरचना निर्माण गर्ने र दक्षताका लागि विदेशका तालिम गराउनु जरुरी भैसक्यो ।
पछिल्लो समय केही खेलाडीमा अनुशासनहीनता देखिएकाले उनीहरुमाथि निर्मम कारवाही पनि थालिएको छ । फुटबलर विमल घर्ती लगायत केही खेलाडीले अनुशासन तोडेकाले उनीहरुलाई प्रतियोगितामा राखिएन ।
ब्राजिलमा राष्ट्रपतिले आग्रह गर्दासमेत अनुशासन तोडेका भेट्रान खेलाडी रोमारियोलाई टिममा नराखेको स्मरण गर्दै राईले भने, ‘अनुशासन पालना नगर्नेलाई त कुनै हालतमा पनि एक्सक्युज हुँदैन । ’
नेपालमा जसरी क्रिकेट र फुटबलमा सरकारले लगानी गरेको छ, त्यसैगरी खेलाडीहरुको पनि रुचि भएको र तक्मा पनि जितिरहेको ‘मार्सलआर्ट’मा लगानी बढाउनुपर्ने राय राईको छ ।