नेपाली सुटिङ खेलाडीसँग २० वर्ष पुरानो पेस्तोल: महिला खेलाडीको पेस्तोल पड्किएन, पुरुष खेलाडीले मागेर काम चलाए
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नयाँ हतियार उपलब्ध गराउन नसक्दा सागमा सुटिङ खेलाडी २० वर्ष पुराना पेस्तोल बोकेर प्रतिस्पर्धामा उत्रिएका छन् । जब कि अन्य देशका खेलाडी नयाँ र अत्याधुनिक मोडलका पेस्तोलसहित प्रतिस्पर्धामा छन् ।
कतार, कुवेतलगायत देशबाट २० वर्ष पहिले अनुदानस्वरूप पाएका पेस्तोल नेपाली खेलाडीले प्रयोग गरिरहेका छन् । यी पेस्तोल पड्कनेनपड्किने टुंगो हुँदैन । बुधबार महिलाको २५ मिटर स्ट्यान्डर्ड पस्तोलमा नेपालकी सीमा तुलाधर पेस्तोल नपड्किएकै कारण लज्जित हुनुप-यो । प्रतिस्पर्धाको प्रारम्भमा दुई राउन्ड प्रतिस्पर्धा हुन्छ । पहिलो राउन्डको प्रतिस्पर्धामा पाँच मिनेटभित्र ३० पटक फायर गर्नुपर्दछ, प्रत्येक १० सेकेन्डमा एकपटक फायर गर्न पाइन्छ । तर, पहिलो फायरमै सीमाको हतियार चलेन, अन्य देशका खेलाडी आफ्नो खेलमा केन्द्रित हुँदा सीमाले पेस्तोलमा गोली लोड गर्नमै संघर्ष गर्नुप-यो ।
सीमाले जसोतसोे २ सय ७५ स्कोर गरेर त्यो राउन्ड कटाइन् । दोस्रो राउन्डमा राम्रो गरेको भए उनले फाइनल चरण खेल्न पाउँथिन्, पदकको आशा जीवित हुने थियो । तर, दोस्रो राउन्डमा पनि हतियार चलेन । प्रत्येक तीन सेकेन्डको अन्तरमा लगातार ३० फायर गर्नुपर्ने दोस्रो राउन्डमा हतियार नचल्दा उनी पछि परिन् ।
पदक सम्भावना त टुंगियो नै, अन्य खेलाडीसामु लज्जित पनि हुनुप-यो । ‘पहिलो राउन्डमा केही समय बढी हुने भएकाले फेरि लोड गरेर फायर गर्न सफल भएँ । तर, दोस्रो राउन्डमा समय थोरै थियो । त्यसैले प्रदर्शन सोचेजस्तो भएन,’ सीमाले भनिन् ।
मंगलबार भएको पुरुषतर्फको २५ मिटर -यापिड फायरमा पनि समस्या उस्तै थियो । तीन नेपाली खेलाडीका लागि एउटा मात्रै हतियार थियो । पहिलो राउन्डको खेलमा विजय कार्की एक्लैले हतियार लिएर खेले । त्यसपछि नेपालका अन्य दुई खेलाडी सुमन तुलाधर र अनिल ठकुरीले एकसाथ प्रतिस्पर्धा गर्नुपर्ने भयो, उनीहरूले बाध्य भएर पाकिस्तानी खेलाडीसँग हतियार मागेर खेले ।
यो समाचार आजको नयाँ पत्रिका दैनिकमा दीपेन्द्र गुरुङले लेखेका छन।
सुटिंग खेलाडी