मनोरञ्जन

दक्षिण कोरियाली अभिनेता 'चा इन–हा' आफ्नै घरमा मृत भेटिए

दक्षिण कोरियाली अभिनेता 'चा इन–हा' आफ्नै घरमा मृत भेटिए

एजेन्सी। दक्षिण कोरियाका चर्चित कलाकार 'चा इन–हा' सोलस्थित आफ्नै घरमा मृत फेला परेका छन् । २७ वर्षीय कलाकार चाको प्रतिनिधित्व गर्ने संस्थाले एउटा विज्ञप्तिमा आफू उनको मृत्युबाट शोकाकुल भएको बताएको छ।  

उनले भर्खरै टेलिभिजन शृंखला ‘लभ विथ फ्लज’मा अभिनय गर्न थालेका थिए । दुई महिनाको अवधिमा मृत्यु हुने उनी तेस्रा दक्षिण कोरियाली कलाकार हुन् । उनि मनोरञ्जनको क्षेत्रमा काम गर्ने फ्यान्टिएगो नामक एजेन्सीले स्थापना गरेको ‘सर्प्राइज यू’ अभिनय समूहका सदस्य थिए ।

उनले सन् २०१७ मा प्रदर्शनमा आएको चलचित्र ‘यू, डिप इन्साइड अफ मी’ बाट फिल्मी क्षेत्रमा डेब्यु गरेका हुन्।  'फ्यान्टिएगो'ले 'चा' को मृत्युलाई ‘अविश्वसनिय’ भन्दै परिवारलाई शान्तिपूर्वक उनको बिदाइ गर्न दिन कुनै हल्ला नफैलाउन तथा अनुमान गरिएका विवरण प्रकाशित नगर्न आग्रह गरेको छ । ‘उनको परिवारको इच्छानुसार अन्तिम संस्कार निजी रूपमा गरिने ,’ विज्ञप्तिमा उल्लेख छ ।

दक्षिण कोरियामा चर्चित कलाकारको मृत्युबारे बारम्बार चर्चा भइरहेको छ । दक्षिण कोरियामा आत्महत्याको दर उच्च छ । के–पप भनिने कोरियाली पपका चर्चित कलाकार सुल्ली अक्टोबर महिनामा र गु हारा नोभेम्बरमा आफ्नो घरमा मृतावस्थामा भेटिएका थिए । उनीहरूले आत्महत्या गरेको अनुमान गरिएको थियो ।

उनीहरूको मृत्युपछि कलाकारले प्रशंसक तथा अन्य व्यक्तिबाट दबाब खेप्नुपर्ने तथा अपमानित र निरुत्साहित हुनुपर्ने विषयमा बहस सुरु भएको थियो । गुहाराको मृत्युपछि लुकाएर राखिने क्यामराबाट नग्न तस्बिर र भिडियो खिचिने गरेको विषय बाहिर आएको थियो । पूर्वप्रेमीले त्यस्तै भिडियो सार्वजनिक गरिदिने धम्की दिएको भन्दै गुले गत सेप्टेम्बरमा उनीविरुद्ध मुद्दा हालेकी थिइन् ।

यो वर्ष अगस्टमा ती व्यक्तिले भौतिक आक्रमण गरेको र धम्क्याएको ठहर गर्दै अदालतले ती व्यक्तिलाई पछि लागू हुने गरी जेल सजाय सुनाएको थियो ।

#चा इन–हा#

विशेष