खेल

भुटानविरुद्ध कप्तान मल्लको शानदार अर्धशतक

भुटानविरुद्ध कप्तान मल्लको शानदार अर्धशतक

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टी–२० क्रिकेट अन्तर्गत भुटान विरुद्धको खेलमा नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले शानदार अर्धशतक बनाएका छन् । उनले ५ छक्का र २ चौकाको मद्दतमा २६ बलमा अर्धशतक बनाएका हुन् ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर पारस खड्कालाई ५७ रनमा गुमाउन पुग्यो । अघिल्लो खेलमा १ रनमै आउट भएका पारसले आज १ छक्का र ९ चौकाको मद्दतमा २८ बलमा ५७ रन बनाए ।

टस होरर ब्याटिङको मौका पाएको नेपालले यो समाचार तयार पार्दासम्म १३ ओभरमा २ विकेट गुमाएर १ सय ६१ रन बनाएको छ । नेपाल–भुटानबीचको खेल कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको छ ।

पहिलो खेलमा श्रीलंका–२३ सँग ६ विकेटले पराजित भएको नेपाल भुटनाविरुद्ध सहज जितको अपेक्षामा छ । भुटान पनि पहिलो खेलमा श्रीलंका–२३ सँग नै १ सय ७३ रनले पराजित भएको थियो ।

भुटानविरुद्ध नेपालले २ खेलाडी परिवर्तन गरेको छ । युवा तीब्र गतिका बलर राशिद खानले डेब्यू गर्ने मौका पाएका छन् । आजको खेलमा सोमपाल कामी र अभिनाश बोहरालाई विश्राम दिइएको छ । उनको स्थानमा रोहित कुमार पौडेल र राशिदलाई मौका दिइएको हो ।

नेपालको प्लेइङ ११ः

ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी (विकेटकीपर), करण केसी, आरिफ शेख, पवन सरार्फ, ललित नारायाण राजवंशी, सुसन भारी, रोहित कुमार पौडेल र राशिद खान । 

">

साग ज्ञानेन्द्र मल्ल

विशेष