खेल

१३ औँ सागः भुटानविरुद्ध पारसलाई लगातार २ विकेट!

१३ औँ सागः भुटानविरुद्ध पारसलाई लगातार २ विकेट!

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष टी–२० क्रिकेटमा नेपालले दिएको २ सय ३८ रनको विशाल लक्ष्य पाएको भुटानले पाँचौ विकेट गुमाएको छ ।

भुटानको पाँचौ र चौथो विकेट पारस खड्काले लिएका हुन् । यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनायो ।

नेपालले टी–२० मा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाए । उनले ९ छक्का र ५ चौकाको मद्दतमा ५५ बलमा १०७ रन बनाए ।

टि–२० मा शतक प्रहार गर्ने मल्ल नेपालका दोस्रा खेलाडी हुन् । यसअघि पारस खड्काले शतक प्रहार गरेका थिए । यस्तै पारस खड्काले १ छक्का र ९ चौकाको मद्दतमा २८ बलमा ५७ रनको योगदान दिए ।

दिपेन्द्र सिंह ऐरी ४५ र आरिफ शेख ४ रनमा नटआउट रहे । रोहितकुमार पौडेल भने ६ बलमा ६ रन बनाउँदै ‘क्याच आउट’को सिकार भए । बलिङमा भुटानका कर्मा डोर्जीले २ र टोबडेन सिंग्येले एक विकेट लिए ।

पहिलो खेलमा श्रीलंका–२३ सँग ६ विकेटले पराजित भएको नेपाल भुटनाविरुद्ध सहज जितको अपेक्षामा छ । भुटान पनि पहिलो खेलमा श्रीलंका–२३ सँग नै १ सय ७३ रनले पराजित भएको थियो ।

भुटानविरुद्ध नेपालले २ खेलाडी परिवर्तन गरेको छ । युवा तीब्र गतिका बलर राशिद खानले डेब्यू गर्ने मौका पाएका छन् । आजको खेलमा सोमपाल कामी र अभिनाश बोहरालाई विश्राम दिइएको छ । उनको स्थानमा रोहित कुमार पौडेल र राशिदलाई मौका दिइएको हो ।

नेपालको प्लेइङ ११ः

ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, करण केसी, आरिफ शेख, पवन सरार्फ, ललित नारायाण राजवंशी, सुसन भारी, रोहित कुमार पौडेल र राशिद खान ।

भुटान भर्सेस नेपाल पारस खड्का

विशेष