खेल

१३ औँ सागः भुटानमाथि नेपालको फराकिलो जित

१३ औँ सागः भुटानमाथि नेपालको फराकिलो जित

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष टी–२० क्रिकेट अन्तर्गत भुटान विरुद्धको खेलमा नेपाल १ सय ४१ रनले विजयी भएको छ । नेपालले दिएको २ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको भेटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्याे । 

उसका लागि रञ्जुङ मिक्यो दोर्जीले ४ छक्काको मद्दतमा २७ बलमा सर्बाधिक २७ रन बनाए । बलिङमा पारस खड्काले २, पवन सराफ, ललितनारायण राजवंशी र करन केसीले एक–एक विकेट लिए । यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनायो ।

नेपालले टी–२० मा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाए । उनले ९ छक्का र ५ चौकाको मद्दतमा ५५ बलमा १०७ रन बनाए ।

टि–२० मा शतक प्रहार गर्ने मल्ल नेपालका दोस्रा खेलाडी हुन् । यसअघि पारस खड्काले शतक प्रहार गरेका थिए । यस्तै पारस खड्काले १ छक्का र ९ चौकाको मद्दतमा २८ बलमा ५७ रनको योगदान दिए ।

दिपेन्द्र सिंह ऐरी ४५ र आरिफ शेख ४ रनमा नटआउट रहे । रोहितकुमार पौडेल भने ६ बलमा ६ रन बनाउँदै ‘क्याच आउट’को सिकार भए । बलिङमा भुटानका कर्मा डोर्जीले २ र टोबडेन सिंग्येले एक विकेट लिए ।

पहिलो खेलमा नेपाल श्रीलंका–२३ सँग ६ विकेटले पराजित भएको थियो । भुटान पनि पहिलो खेलमा श्रीलंका–२३ सँग नै १ सय ७३ रनले पराजित भएको थियो । 

नेपाल भर्सेस भुटान साग टी–२० पुरुष क्रिकेट

विशेष