सागको पाँचौं दिन: नेपाललाई हालसम्मकै सर्वाधिक स्वर्ण, स्वर्ण संख्या ३६ पुग्यो
काठमाडौं । तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) पाँचौ दिनसम्म आइपुग्दा नेपाल साग इतिहासमै सर्वाधिक स्वर्णपदक जित्न सफल भएको छ । बिहीवार ७ स्वर्ण जित्दै नेपालले स्वर्ण पदकको संख्या ३६ पुर्याएको छ, जो सागमा नेपालको हालसम्मकै उच्चतम प्रदर्शन हो ।
नेपालले यसअघि विसं २०५६ असोजमा काठमाडौंमै भएको आठौं सागमा ३१ स्वर्ण पदक हात पारेको थियो । सागको १३औं संस्करणमा नेपालको प्रदर्शन सुधारिनुमा तेक्वान्दो र कराते खेलमा नेपाली खेलाडीहरूको सफलता मुख्य कारण हो । यी दुई खेलबाट नेपालले २० स्वर्ण हात पार्यो । त्यस्तै, उसु र साइक्लिङमा नेपालले ४÷४ स्वर्ण जितेको छ ।
बिहीवार नेपालले उसु र साइक्लिङमा २/२ र पौडी, तेक्वान्दो र भारोत्तोलनमा १/१ गरी ७ स्वर्णपदक जित्यो । गौरिका सिंहले महिला २०० मिटर फ्रिस्टाइल प्रतिस्पर्धामा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाइन् । सागको पौडीको व्यक्तिगततर्फ नेपालले जितेको यो पहिलो स्वर्ण हो । त्यस्तै, महिला भारोत्तोलनमा सन्जु चौधरीले स्वर्ण हात पार्दै इतिहास बनाइन् । महिला ५९ केजी तौल समूहमा चौधरीले श्रीलंकाकी खेलाडी आरएमएनएस राजापाक्षलाई पराजित गर्दै स्वर्ण मात्रै जितिनन्, साग भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो महिला पनि हुन पुगिन् ।
महिला फुटबलको फाइनलमा नेपाल
बिहीवार पोखरा रंगशालामा भएको खेलमा मालदिभ्सलाई ३–० ले पराजित गर्दै नेपाल महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपालको तर्फबाट सावित्रा भण्डारीले ह्याट्रिक गरेकी थिइन् । योसँगै उनले अन्तरराष्ट्रिय फुटबलमा नेपालको तर्फबाट सर्वाधिक गोल गर्ने नेपाली खेलाडीको कीर्तिमान पनि बनाइन ।
पुरुष क्रिकेटमा नेपालको शानदार जित
कप्तान ज्ञानेन्द्र मल्लको शतकसँगै कीर्तिपुरस्थित क्रिकेट रंगशालामा भुटानविरुद्ध भएको पुरुष क्रिकेटमा नेपालले शानदार जित हासिल गर्यो । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले कप्तान मल्लको १०७ र पारस खड्काको ५७ रनको मद्दतले ३ विकेटको क्षतिमा २३६ रन बनायो । जवाफी ब्याटिङमा भुटानले २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रन मात्रै बनाउन सफल भयो ।
पदक तालिकामा भारत शीर्ष स्थानमा
पदक तालिकामा ५८ स्वर्ण पदकसहित भारत शीर्ष स्थानमा रहेको छ । बिहीवार भारतले थप २४ स्वर्ण जितेको थियो ।
बिहीवार नेपालका स्वर्ण विजेता
उसु
निमा घर्तीमगर (थाउलोतर्फ)
जुनी राई (५६ केजी समूहको सान्सौतर्फ)
साइक्लिङ
बुद्धिबहादुर तामाङ (पुरुषतर्फ)
लक्ष्मी मगर (महिलातर्फ)
पौडी
गौरिका सिँह (२०० मीटर फ्रिस्टाइल)
तेक्वान्दो
भुपेन श्रेष्ठ (८७ केजीमुनिको खेलमा)
भारोत्तोलन
सञ्जु चौधरी
आर्थिक अभियान दैनिकबाट साभार
साग कीर्तिमानी