खेल

१३ औँ सागः फाइनल पुग्न नेपालले ११७ रन बनाउनुपर्ने

१३ औँ सागः फाइनल पुग्न नेपालले ११७ रन बनाउनुपर्ने

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा टेष्ट राष्ट्र श्रीलंकाले नेपाललाई १ सय १७ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन बनायो ।

उसका लागि लिहिनी अप्सराले ३७, जनादी अनालीले ३५, कप्तान हर्षित मडावीले १६,  सत्य सन्दीपनीले २२, उमेषा थिमाशिनीले २ र जिमान्जाली विजनेयके रन बनाइन् ।

बलिङमा नेपाली सोनु खड्का सरस्वतीकुमारी चौधरीले २–२ र अञ्जली चन्दले एक विकेट लिइन् ।

सागमा स्वर्ण जित्ने लक्ष्य लिएको नेपाली महिला टिमका लागि श्रीलंकासँगको खेल निकै महत्वपूर्ण रहेको छ ।

फाइनलमा पुग्न नेपालले आज श्रीलंकालाई हराउँनैपर्ने हुन्छ । अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपाल तालिकाको तेस्रो स्थानमा छ ।

नेपालले २ खेलमा २ अंक जोडेको छ । श्रीलंका २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । राउण्ड रोबिनको आधारमा जारी महिला क्रिकेटको शीर्ष दुई टिमले स्वर्णका लागि खेल्ने छन् ।

३ खेलमा अपराजित बंगलादेश ६ अंक जोडेर फाइनल पुगिसकेको छ । पहिलो खेलमा माल्दिभ्सविरुद्ध नेपालले १० विकेटको जित निकालेको थियो । टेष्ट राष्ट्र बंगलादेशसँग भने नेपाल १० विकेटको पारजित हुन पुग्यो ।

हालसम्म श्रीलंकासँग खेलेका  २ खेलमा नेपालले जित हासिल गर्न सकेको छैन । यदि आज घरेलु मैदानमा श्रीलंकालाई हराए इतिहास रच्न सफलसमेत हुनेछ ।

श्रीलंका भर्सेस नेपालः १३ औं साग महिला क्रिकेट

विशेष