मनोरञ्जन कला साहित्य कभर स्टोरी

शहीद हुनबाट यसरी जोगियो नारायणगोपालको त्यो गीत (भिडियोसहित)

शहीद हुनबाट यसरी जोगियो नारायणगोपालको त्यो गीत (भिडियोसहित)

एक विहान नारायणगोपाल हार्मोनियममा गीतको धून बनाउँदै थिए । उनकी पत्नी पेमला गुरुवाचार्यले अफिस जाँदै भनिन्, ‘हटकेसमा खाना छ, खानु है । फेरि बिर्सिएला नि  ! ’

पेमलातिर हेर्दै नहेरी नारायण गोपालले जवाफ दिए– ‘हुन्छ ! हुन्छ !’

पेमला साँझ कार्यालय सकिएपछि बजारबाट तरकारी किनेर घर फर्किन । उनी अचम्भित त्यसबेला भइन जब नारायणगोपाल बिहान जुन पोजिसनमा बसेका थिए, अहिले पनि त्यही अवस्थामा देखिन । हट केसमा राखेको खाना जस्ताको तस्तै थियो । उनले रिसाउँदै के हो पारा ? किन खाना नखाएको भन्न मात्र के भ्याएकी थिइन्, नारायणगोपालले उत्साहीत हुँदैन भने– ‘हेर न हेर ! मैले आज गज्जब गरे जस्तो लाग्यो । सुन त ! ’

नारायणगोपालले दिनभरिमा हरिभक्त कटुवालले लेखेको- मलाई नसोध कहाँ दुख्छ घाउ...बोलको गीतको धून तयार पारेका थिए । नारायणगोपालले जब धून सुनाए, पेमला मन्त्रमुग्ध भइन् । उनले अहिलेसम्मकै उत्कृष्ट गीत भनेर आफना पतिको प्रशंसा गरिन् । 

लगत्तै नारायणले भूपि शेरचनलाई फोन गरेर आफूले तयार पारेको धून सुनाए । तर, भूपिले पप गीत जस्तो लाग्यो अलिकति परिमार्जन गर भनेर प्रतिक्रिया दिए । भूपिको सुझावअनुसार नारायण गोपाल संगीत तोडमोड गर्ने मनस्थितिमा पुगे । तर, पेमलाले असहमति जनाइन् । उनले जुन धून छ, जस्ताको तस्तै रेकर्ड गर यो सुपरडुपर हिट हुन्छ भनेपछि नारायण पनि कन्भिन्स भए । 

नारायणगोपालका भक्तका रुपमा परिचित गायक तथा संगीतकार शैलेस सिंह भन्छन्, ‘आज नारायणगोपालको जुन मलाई नसोध ..भन्ने गीत छ यो त्यही पेमलाले मन पराएको गीत हो । आज प्रत्येक नेपालीको मनमस्तिष्कमा अजर अमर बनेर बसेको छ ।  ’

शैलेस नारायणगोपाल संगीत कोषले २०५७ सालमा आयोजना गरेको प्रतियोगिताका विजेता हुन् । नारायणगोपालकै शैली पछ्याएर हिंडिरहेका शैलेसका दुईवटा गीत संग्रह बजारमा आइसकेका छन् । उनले २०६२ सालमा ‘सन्धी’ र २०६९ सालमा ‘शिविर’ नामक एल्बम ल्याएका थिए । 

आफना दुई एल्बमसहित करिब एकसय गीत रेकर्ड गरिसकेका शैलेस निकट भविष्यमै आधा दर्जन गीत बजारमा ल्याउने तयारीमा छन् । न्यू बज्राचार्यको संगीतमा केही गीतहरु चाँडै बजारमा आउने उनी बताउँछन् । यस्तै, गीतकार  रमेश अधिकारीको शब्द र प्रविण बराईलीको संगीतमा पनि उनको गीत बजारमा आउने चरणमा छ । न्यू बज्राचार्यको संगीतमा आउन लागेको एउटा गीत प्रकास सायमीले लेखेका हुन् । 

‘कहिले देखें घाम मैले, कहिले देखें पानी
आधाआधी भिजेपछि सुक्छ जिन्दगानी’

यस्तै, रमेश अधिकारीको शब्द रहेको गीत यस्तो छ :

‘चोटमा जिउन जान्नेहरु आँशु पिएर जिउँछन्
भोका जिउन जान्नेहरु पानी पिएर जिउँछन् । ’

आफना लागि जीवन दर्शनका गीतहरु नै प्रिय भएकाले बजारमा के चल्छ के चल्दैन भन्ने कुराले अर्थ नराख्ने उनी बताउँछन् । निर्धक्क शैलीमा उनी भन्छन्,  ‘पोखरीमा पनि गहिरो ठाउँमा पौडी खेल्नेहरु कम हुन्छन्, समथर ठाउँमा त जो पनि हुन्छ ।’

मंसिर १९ गते नारायणगोपाल स्मृति दिवस हो । यो दिन नारायणगोपालले देह त्याग गरेका थिए । नारायणगोपाल जति गीत संगीतमा गम्भीर थिए, त्यत्तिकै उनी स्वास्थ्यमा पनि सचेत थिए । 

पेमलालाई उद्धृत गर्दै शैलेस भन्छन्, ‘नारायणगोपाल विहान डेढ दुई घण्टा रियाज गर्नुहुन्थ्यो । त्यसपछि मर्निङवाकमा जाने । मर्निङ वाकमा जानु भनेको त स्वास्थ्यकै लागि त हो नि । ’

नारायणगोपाल अली मनमौजी खालका व्यक्ति थिए । आफूले जे चाह्यो त्यो गरी छाड्ने । चिकित्सकले जे सुकै भनुन खसीको मासु, मदिरा, चुरोट, गुँदपाक खाइहाल्ने । लुकेर भएर पनि खाने । वीर अस्पतालको शैयामा हुँदा पनि उहाँ डाक्टरको आँखा छलेर फूटबल हेर्न घरमा आइपुग्नु हुन्थ्यो । डायबिटीजको विरामी पनि भयो, त्यसमै गुँदपाक । नारायणगोपाल कसैको नियन्त्रणमा थिएनन् । यही नै उहाँको मृत्युको कारण बन्यो जस्तो लाग्छ । 

शैलेस भन्छन्,  ‘नारायणगोपालले बाँचुञ्जेल नेपाली गीत संगीतको सेवा गरे । नेपाली कला क्षेत्र धनी बनोस भनेर नै उनले सम्पूर्ण समय र ध्यान यसमै लगाए । उनलाई भारतीय गीत गाउन जति प्रस्ताव आएपनि उनले सुनेनन् । यो सबैको कारण नेपाली गीत संगीतको क्षेत्रलाई समृद्ध बनाउन नै हो । आज हामी जस्ता उनका अनुयायी छौं । उनलाई सम्झिन पाएका छौं, त्यही ठूलो कुरा हो । ’

विशेष