खेल

१३ औँ साग: स्वर्णमा पुरुषभन्दा महिला अगाडी

१३ औँ साग: स्वर्णमा पुरुषभन्दा महिला अगाडी

काठमाडौँ। १३औँ संस्करणको दक्षिण एसियाली खेलकुद (साग)मा शुक्रबारसम्म नेपालले ४१ स्वर्ण जितेको छ । स्वर्ण जित्नेमा पुरुषभन्दा महिला खेलाडी अगाडि छन् ।

पुरुषले १८ स्वर्ण जित्दा महिलाले २२ पुर्‍याएका छन् । यो एकल र सामूहिक प्रतिस्पर्धाको नतिजा हो । अर्को एक स्वर्ण महिला र पुरुषको संयुक्त टिमले लिएको छ । खासगरी स्विमिङ, एथलेटिक्स, भारोत्तोलन, ट्रायथलन, साइक्लिङ, उसुलगायत खेलमा महिलाले कीर्तिमान राखेका छन् ।

तीन महिला खेलाडीले दिलाए इभेन्ट्सकै पहिलो स्वर्ण

गौरिका सिंह (स्विमिङ)

दक्षिण एसियाली खेलकुद (साग)मा दुई सय मिटर फ्रिस्टायलको एकल स्पर्धामा स्वर्ण जित्ने नेपालकै पहिलो खेलाडी बनेकी छिन्, गौरिका सिंह । ऐतिहासिक रेकर्डसँगै गौरिकाले एउटै स्पर्धामा दुई स्वर्ण जित्ने अर्को रेकर्ड पनि जोडेकी छिन् । उनले २ सय मिटर ब्याक स्ट्रोकमा पनि स्वर्ण जितेकी हुन् । 

सञ्जु चौधरी (भारोत्तोलन)

भारोत्तोलनको महिला स्पर्धामा सागको इतिहासमै पहिलोपटक स्वर्ण जित्ने नेपाली खेलाडी बनेकी छिन्, सञ्जु चौधरी । ५९ केजी तौलमाथिको स्पर्धामा उनले १७१ केजी भार उचालेर रेकर्ड बनाएकी हुन् । यसअघि भारोत्तोलनमा कमलबहादुर अधिकारीले मात्रै स्वर्ण जितेका थिए ।

सन्तोषी श्रेष्ठ (एथलेटिक्स)

एथलेटिक्समा सागका सुरुका तीन संस्करणमा वैकुण्ठ मानन्धरले सनसनीपूर्ण प्रदर्शन गरे । तर, महिलातर्फ नेपालले स्वर्ण जित्न सकेको थिएन । यसपालि सन्तोषी श्रेष्ठले त्यो अभाव अन्त्य गरेकी छिन् । उनले १० हजार मिटर दौडमा १० मिलिसेकेन्ड अन्तरले इतिहास रचेकी हुन् । 

जसले जिते दोहोरो स्वर्ण 

आयशा शाक्य, (तेक्वान्दो)

दुई सन्तानकी आमा आयशाले एकै दिन दुई स्वर्ण जितेर नयाँ इतिहास बनाएकी छिन् । २९ वर्षमाथि पुम्से विधामा पहिलो स्वर्ण जितेकी उनले पुम्से जोडीमा सञ्जीव ओझासँग मिलेर अर्को स्वर्ण भित्र्याइन् । यससँगै सागमा तीन स्वर्ण जितेकी उनले संगीना वैद्यको दुई स्वर्णको रेकर्ड पनि तोडेकी छिन् । 

मन्डेकाजी श्रेष्ठ (कराते)

एकै संस्करणमा करातेतर्फ दुई स्वर्ण जित्ने पहिलो खेलाडी बनेका छन्, मन्डेकाजी । उनले एकल र टिम कातामा स्वर्ण जितेका हुन् । 

सुवास तामाङ (गल्फ)

१७ वर्षको उमेरमै सुवासले  उच्च सानको रेकर्ड बनाएका छन् । उनले गल्फको एकल र टिम इभेन्टमा शुक्रबार एकै दिन दुई स्वर्ण जितेका हुन् । 

गौरिका सिंह (स्विमिङ)

स्विमिङमा महिलातर्फ दुई सय मिटर फ्रिस्टायल र ब्याक स्ट्रोकको एकल स्पर्धामा गौरिकाले दुई स्वर्ण जितेकी छिन् । 

१३औँ संस्करणको दक्षिण एसियाली खेलकुद (साग)मा शुक्रबारसम्म १६९ स्वर्ण छिनोफानो भएकोमा नेपालले ४१ स्वर्ण जितेको छ । स्वर्ण जित्नेमा पुरुषभन्दा महिला खेलाडी अगाडि छन् । पुरुषले १८ स्वर्ण जित्दा महिलाले २२ पुर्‍याएका छन् । यो एकल र सामूहिक प्रतिस्पर्धाको नतिजा हो । अर्को एक स्वर्ण महिला र पुरुषको संयुक्त टिमले लिएको छ । खासगरी स्विमिङ, एथलेटिक्स, भारोत्तोलन, ट्रायाथलन,  साइक्लिङ, उसुलगायत खेलमा महिलाले नयाँ कीर्तिमान राखेका छन् । 

नयाँ पत्रिका दैनिकमा  श्रीलोचन राजोपाध्याय र दीपेन्द्र गुरुङले लेखेका छन। 

 

१३ औं साग

विशेष