बाँदर नियन्त्रण गर्न २ लाख बजेट विनियोजन

खाँदबारीः संखुवासभाको खाँदबारी नगरपालिकाले नगरभित्रका बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसलाई नियन्त्रण गर्न नगरसभामार्फत नै बजेट विनियोजन गरिएको हो ।
नगरपालिकाको नगरसभाले बाँदर नियन्त्रण कार्यको अध्ययन शीर्षकमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । बाँदरले आतङ्क मच्चाएपछि बजेट छुट्याएर नियन्त्रणका लागि अध्ययन गरिने नगरपालिकाले जनाएको छ ।
बाँदरले नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ८, ९ र ११ मा बढी आतङ्क मच्चाएको छ । बाँदरले अन्नबालीमा कलिलो अवस्थामै क्षति पुर्याउने गरेको खाँदबारी–८ का वडाध्यक्ष डम्बर कटुवालले बताए ।
वस्ती वरिपरि जङ्गल बढेकाले पनि बाँदर आतङ्क बढेको होे । बर्खाको समयमा मकै सखाप पार्छ भने हिउँदको समयमा धान, सुन्तला, फलफूल, तरकारी, अलैँची र अम्लिसो टुसा नै च्यातेर तहसनहस पार्छ । वर्ष दिन पुग्ने मकै बाँदरले छिनभरमै तहसनहस पारिदिन्छ । बाँदरसँगै दुम्सी तथा अन्य वन्यजन्तु र पक्षीले पनि किसानको बाली खाइदिने गरेका छन् ।
स्थानीयले पटक–पटक बाँदर नियन्त्रणका लागि आग्रह गरेपछि दिगो समाधान खोज्न चालू आवमा बजेट विनियोजन गरिएको खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोमलप्रसाद धमलाले बताए ।
संखुवासभा बाँदर बजेट विनियोजन