१३ औँ सागः ९५ रनको लक्ष्य पाएको नेपालले गुमायो चौथो विकेट

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा कांस्य पदकका लागि भइरहेको खेलमा माल्दिभ्सले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सस्तैमा ४ विकेट गुमाएको छ ।
नेपालले चौथो विकेटका रुपमा आरिफ शेखलाई ३२ रनमा गुमाएको हो । उनी रन आउटको सिकार हुन पुगे । यसअघि नेपालले ज्ञानेन्द्र मल्ललाई २२, पारस खड्कालाई ३ र दिपेन्द्रसिंह ऐरीलाई २ रनमा गुमाइसकेको छ ।
यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।
उसका लागि लीम शफीगले सर्बाधिक नटआउट १९ रन बनाए । बलिङमा ललित राजवंशीले ३, सुशन भारीले २ र पारस खड्काले १ विकेट लिए ।
समूह चरणमा नेपालविरुद्ध माल्दिभ्स ८४ रनले पराजित भएको थियो । उक्त खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।
उक्त खेलमा नेपालका अलराउन्डर करन केसीले विस्फोटक ब्याटिङ गरेका थिए । उनले १६ बलमा ४ छक्का र २ चौकाको मद्दतमा १६ बलमा नटआउट ४० रन बनाएका थिए ।
१ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले पूरा २० ओभर खेल्न सफल हुँदै ७९ रन बनाएको थियो । आजै दिउँसो १ बजे स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश खेल्दै छन् ।
१३ औं साग आरिफ शेख माल्दिभ्सविरुद्ध नेपाल