पशुपति विकास कोष पछि हट्यो, पिलर बनाउन खनिएको खोल्डो पुरियो
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी एवं सम्पदाप्रेमीहरुको दबाबपछि पशुपति क्षेत्र विकास कोषले विश्वरुपा मन्दिरमा बनाउन लागेको कंक्रिटको पिलर स्थगित गरेको छ ।
बागमतीपारिको डाँडामा रहेको विश्वरुपाको मन्दिर पुनर्निर्माणका नाममा कोषले मन्दिर वरिपरी १२ वटा कंक्रिटको पिलर निर्माण गर्न खाडल खनेको थियो । सो प्रयोजनका लागि रड, सिमेन्ट, तारजालीसमेत तयारी अवस्थामा राखिएको थियो । पाँच फुट गहिरो खाडल खनेर हात्तीपाइले पिलर निर्माण हुन लागेपछि सम्पदाप्रेमीहरु कोषसँग रिसाएका थिए ।
काठमाडौं महानगरको अनुगमन प्रमुख एवं उपमेयर हरिप्रभा खड्गीले गत बिहीबार कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई सम्पदाको मौलिकता बिगार्ने गरी भौतिक संरचना नबनाउन र बनाउन लागिएको पिलर नबनाउन निर्देशन दिएकी थिइन् ।
उनीसहित सम्पदाप्रेमीहरुले विश्वरुपा मन्दिरको निरीक्षण गरेका थिए ।
भूकम्पले मन्दिरमा क्षति पु¥याएपछि अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । पुनर्निर्माणका लागि पिलर खडा गरेर मन्दिर ढाक्न खोजिएको थियो ।
अस्थायी रुपमा पिलर राख्न खोजिएको जवाफ कोषले दिए पनि सम्पदाप्रेमीहरु हात्तीपाइले पिलर स्थायीसरह हुने भन्दै असन्तुष्ट थिए ।
महानगरपालिकाको निर्देशन र सम्पदाप्रेमीहरुको भावनाअनुकुल कोषले पिलर बनाउन खनेको खाल्डो पुरेको छ । विश्वरुपा मन्दिरको पुनर्निर्माण अब सम्पदाको मौलिकतामा अलिकति पनि असर नगर्ने गरी हुने कोषले प्रतिबद्धता पनि जनाएको छ ।
महानगर–सम्पदाप्रेमी र कोषबीचको छलफलका क्रममा कोषका सदस्य सचिव डा. ढकालले भनेका थिए, ‘सम्पदा संरक्षणमा कोषले कुनै पनि सम्झौता गर्ने छैन । ढुक्क हुन सक्नु हुन्छ । भएका कमजोरी सच्याउने छौं ।’
कोषले खाडल पुरेपछि सम्पदा बचाऔं अभियान संघर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले भने, ‘सम्पदा जोगाउने मामिलामा पशुपति क्षेत्र विकास कोषले देखाएको तत्परता प्रशंसनीय छ ।’