कभर स्टोरी भिडियो

जे काम गरे पनि हुन्छ तर आफू खुसी हुनु जरुरी हुन्छ (भिडियोसहित)

जे काम गरे पनि हुन्छ तर आफू खुसी हुनु जरुरी हुन्छ (भिडियोसहित)

काठमाडौं । रंग क्षेत्रमा  रामबाबु रेग्मी परिचित नाम हो । थिएटरको जगमा उभिएका रामबाबुले टेलिभिजन धारावाहिकहरुमा पनि काम गरिरहेका छन् । विशेषगरी उनी हास्यधारावाहिकमा बढी देखापर्छन् । 

 

पछिल्लो समय उनी झट्का, उल्टोसुल्टोमा (अतिथिको भूमिकामा), खुल्दुली, हाम्रो जीन्दगी जस्ता नेपाली हास्य तथा टेलिसिरियलमा काम गरिरहेका छन् । नाटक, सडक नाटकहरुमा पनि उनी व्यस्त हुन्छन् । थिएटरमा लामो समयसम्म काम गरेका उनी आफ्नो काममा आनन्द र सन्तुष्ट छन् ।  उनी भन्छन्, ‘जब म काम गर्छु, काम गर्न खोज्छु, थिएटरमा होस् या अन्यत्र सबैमा आनन्द लाग्छ । ’ 


लामो समय नाटक क्षेत्रमा बिताएका उनी २०७१ यता स्टेज नाटकमा कम सक्रिय छन् । कलाकारिता क्षेत्रको विविध पाटामा व्यस्त रेग्मी टेलिशृङखला र थिएटरमा काम गर्दा उस्तै लागे पनि केही फरक भने हुने बताउँछन् । थिएटरमा ‘लाइभ एक्टिङ’ हुने भएकोले कलाकार नै अन्तिम सत्य हुन्छ । त्यहाँ कलाकारले स्वतन्त्रता पाउँछ त्यसैले बढी आनन्द महशुस हुन्छ । टेलिशृङखलामा भने प्रविधि मैत्री हुन्छ । क्यामेराको हिसाबले चल्नुपर्छ । ‘एक्सन कट’ले गर्दा कहिलेकाही ‘इमोसन् ब्रेक’ हुन्छ ।

 

कलाकारिता क्षेत्रमा तुलनात्मक रुपमा पहिला भन्दा धेरै परिवर्तन भएको उनको अनुभव छ । पहिला भन्दा स्टेज ड्रामा गर्ने बीच अहिले व्यवसायिक हुँदै छन् ।  हलहरु खुलेका छन् यो सकारात्मक पक्ष हो । कलाकारको संख्यामा पनि धेरै वृद्धि भएरहेको छ । तर कलाकारिता क्षेत्रको विकासका लागि यो मात्र पर्याप्त हुँदैन । उनी भन्छन्, पहिलो कुरा कलालाई बुझ्ने दृष्ट्रिकोण नै परिवर्तन गर्नुपर्छ । यो क्षेत्रको विकासको लागि हामीले काम गर्नुपर्र्छ । 

 

उनको विचारमा कला एउटा साधना हो भने कलाकारिता अभिव्यक्ति । कलाले मानिसलाई आनन्द र मनोरञ्जन दिन्छ । उनी भन्छन्, ‘अब समाज यसरी नै विकास हुँदै जाँदा मानिसले गर्ने भौतिक काम सबै रोबोटले गर्नेछन्, त्यसपछि मानिस बेरोजगार हुन थालेपछि अध्यात्म र कलाकारिता तिर लाग्नेछन् ।

 

किनभने जुन कामबाट मानिसले आनन्द र मनोरञ्जन प्राप्त गर्छ, त्यो काम नै मानिसले गर्छ ।’ अनि अभिव्यक्तिलाई दुई तरिकाले हेर्न सकिने उनी बताउँछन् । भन्छन्,  ‘गर्न सक्यो भने सजिलो, नसके गाह्रो ।’ उनी भन्छन्, ‘प्रयास गरिरहने हो भने धेरै कुरा गर्न सकिन्छ । अभिनयमा पनि त्यस्तै हो । केही विषयहरु भने प्राविधिक हिसाबले सबैमा फिट नहुन सक्छ ।  

 

कलाकारितामा विभिन्न पात्रको भूमिका निर्वाह गर्नुपर्छ । कथाको पात्र त आफ्नो ठाउँमा छ, तर आफ्नो जीवनको आफू त वास्तविक पात्र बनिन्छ । त्यो वास्तविक पात्रलाई कसरी ठीक ढंगले अगाडि बढाउने भन्ने महत्वपूर्ण हुने उनी बताउछन् । 

 

नाटक लेखिएपछि मात्रै अभिनय हुने हो । जति राम्रो लेखन, उति राम्रो नाटक हुन सक्छ । समाजलाई फरक दृष्टिबाट हेर्न सक्नेले मात्रै नाटक लेख्न सक्छ । अहिले युग सुहाउँदो नाटक लेखक पाइन छाडेको रेग्मीको बुझाइ छ । 

 

कला साधना हो । धन दोस्रो विषयवस्तु हो । धनका लागि व्यापार गर्नुपर्छ । कलामा पनि व्यवसायिक हुन सक्छ आम्दानी हुन्छ । अरुको हेरेर सबैले एउटै पेशा रोजगारीमा लाग्न जरुरी छैन । मान्छे के काम गर्दा बढी खुसी हुन्छ, त्यही गर्नु  राम्रो हो । 

 

धेरैजसो अवस्थामा एक कलाकारले कमाउने भनेकै दर्शकको माया हो । अर्को प्रशिद्धी हो ।

रामबाबु रेग्मी थिएटर

विशेष