कभर स्टोरी भिडियो

सरकारको प्रगति  होइन, प्रधानमन्त्रीका उडन्ते कुरा सुनेर विश्व चकित (भिडियोसहित)

सरकारको प्रगति  होइन, प्रधानमन्त्रीका उडन्ते कुरा सुनेर विश्व चकित (भिडियोसहित)

काठमाडौं । वर्तमान सरकारले आफ्नो एक वर्ष  पूरा गर्दै छ । सरकारले एक वर्षमा देखाएका पर्फर्मेन्सका सम्बन्धमा चर्चा परिचर्चा शुरु भइसकेको छन् । वरिष्ठ पत्रकार एवं लेखक कुसुम भट्टराईले नेपाल आजसँगको कुराकानीमा नेकपाको सरकारविरुद्ध कडा आलोचना गरेका छन् । 

 

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामले विश्व चकित भएको दाबी गरे । भट्टराई ओलीको कुरा सुनेरै चकित छन् । वास्तवमा प्रधानमन्त्रीले भनेजस्तो सरकारको काम राम्रो भएर विश्व चकित नभएको तर यहाँको गएगुज्रिएको अवस्था, बेथिति, ढुलमुले कुटनीति, दण्डहिनता देखेर विश्व चकित भएको उनले बताए । ‘प्रधानमन्त्रीले विश्व चकित भएको आभास हामीलाई गर्न दिनुभएको छैन’, उनले थपे ।  


तुलनात्मक हिसाबमा देशले कोल्टे फेरेर अहिलेको अवस्थामा सुधार आएपनि जुन रूपमा सरकारले कामकारवाही अघि बढाउनुपर्ने हो त्यो रूपमा नभएको उनको जिकिर छ । देशको अवस्था अहिले शान्त भएपनि यो त मुर्दा शान्ति भएको उनले टिप्पणी गरे ।

 

भेनेजुएला प्रकरणपछि नेपालको कुटनीति देखेर विश्व चकित होइन हाँसिरहेको उनले बताए । जनप्रतिनिधि भएर जनताकै प्रश्नमा जवाफदेही हुन नसक्नु सरकारको ठूलो कमजोरी भएको उनले औंल्याए । देशमा गरिबी र महंगी उस्तै भएको र प्रधानमन्त्री केपी शर्मा ओली आफैं पनि संघीयताप्रति  प्रतिबद्ध नभएको भट्टराई दावी गर्छन् । संघीयता लागू हुनुअघि ओलीले भनेका थिए, ‘सघीयता विदेशी छौंडाहरु ल्याएका हुन्, यसले देश डुबाउँछ’ । 

 

वर्तमान सरकार इतिहासमै सबैभन्दा भ्रष्ट रहेको भट्टराई जिकिर गर्छन् । कांग्रेसले देश लुटेको थियो हामीले पनि लुट्न पाउनुपर्छ भन्ने धारणामा सरकार गएको उनको बुझाइ छ । 

 

कम्तिमा पनि यो एक वर्षमा दुई तिहाईको सरकारले विकासको आधार तयार गरेर रफ्तार बढाउनुपर्ने उनले बताए । सरकारको भूमिका र जनताको बेथितिपूर्ण अवस्थामा कुनै पनि बेला आँधी आउन सक्ने कुरा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले फेरि पनि माओवादीको युद्ध हुन सक्छ भनेर आफैंले जनाइसकेको उनले बताए ।

 

सत्तारुढ दलका नेता माधवकुमार नेपालले नै देश डुब्न लाग्यो भनेर चिन्ता व्यक्त गरिहँदा देश साँच्चै डुब्न लागेको स्थिति भएको उनले बताए । 

 

सरकारमा जानुअघि धेरै नेताहरुको छवि सफा हुन्छ । सरकारमा गएपछि नायक नेता खलनायक बनिदिन्छन् । उदाहरणका लागि रवीन्द्र अधिकारी । भट्टराईको मतमा धेरैजसो नेताहरु नातावाद र कृपावादको झमेलाबाट माथि उठ्नै सकेनन् । 

 

प्रचण्ड छोरीबुहारी, भाईभतिजालाई माथि उकास्न लागेका छन् । युवा र क्रान्तिकारी भनिएका योगेश भट्टराई पत्नीको कल्याणमा लागेका छन् । विगतमा गिरिजालाई लागेको आरोप अहिले कम्युनिष्ट नेताहरुलाई लागेको छ ।

 

वर्तमान सरकारको पर्फर्मेन्स नदेखिनुको एउटै कारण छ । त्यो हो, –लिडरसिप । लिडरसिप नै काम नलाग्ने भएपछि बाँकीको के कुरा । साइकल चढेर भोट मागेका लालबाबु पण्डितको मन्त्रालयले सर्वाधिक महंगो गाडी मागेको खबर बाहिरिएउको छ । 

 

भारतबाट बिजुली किनेर नेपालमा लोडसेडिङ अन्त्य गरिएको छ । तर यहाँ कुलमान घिसिङलाई देवत्वकरण गरिन्छ । १० प्रतिशतको आर्थिक वृद्धिदरको घोषणा गर्ने विद्वान अर्थमन्त्रीको हालत पनि देखियो । स्वास्थक्षेत्र सबैभन्दा चौपट क्षेत्र बनेको उनले बताए । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको आलोचना गर्दै उनले भने, ‘स्वास्थमन्त्री विदेश भ्रमणमै व्यस्त हुनुहुन्छ । परराष्ट्रमन्त्री हो कि स्वास्थमन्त्री बुझ्नै गाह्रो छ ।’  

 

गृहमन्त्री रामबहादुर थापाको पनि काम चित्तबुझ्दो नभएको गुनासो गर्दै भट्टराईले भने, ‘गृहमन्त्रीको कुरा गर्दा यो वर्षजति दण्डहीनता कहिल्यै भएन । निर्मला पन्तलाई न्याय दिन सकिएन ।’ 

 

प्रधानमन्त्रीले भनेका थिए कि उनको शासनकालमा कोही पनि चिसोले मर्दैन । भट्टराईको तर्कमा यसवर्ष तराईमा शितलहर चलेन । यसकारण मानिस मरेनन् । चतरामा चलेको स्टिमर देखाएर पानीजहाज भन्नु लाजमर्दो विषय हो । पुरानो गोबर ग्यास उद्घाटन गर्न जानु अर्को हास्यास्पद विषय हो । आजको दिनमा धुर्मुस सुन्तलीभन्द पनि मान्छे बढी हसाउने पात्र प्रधानमन्त्री बनेका छन्– भट्टराईको ठहर छ । 

 

निर्मला पन्तको फोटो च्यातेर आफ्नो फोटो टाँस्ने, समाजवादको राप अलापेर ‘मार्सी चामल पुँजीवाद’को काम गर्ने  भएका उद्योग सकेर युवा विदेश पठाउने काममा सरकार अल्मलिएको उनको तर्क छ । 

 

सरकारले दूई वर्षमा कृषि आयात अन्त्य गर्ने भन्ने कुरा वाम गठबन्धनको घोषणापत्रमै लेखेको थियो । अहिले ४५ अर्बको दाल र २९ अर्बका चामल आयात गरिरहेका छौं । चितवनमा काउलीमा डोजर लगाएर रंगशाला बनाइदैछ, त्यो पनि चन्दा मागेर ।  

 

उनको मतमा प्रचण्ड विध्वंशको पर्यायावाची हुन् । उनीबाट ध्वंशबाहेक केही भएन । स्थीरता प्रचण्डविपरीत कुरा हो । जबजब प्रचण्ड उग्रहुन्छन् तब केही राजनीतिक खटपट हुनेवाला छ भन्ने बुझ्नु पर्छ । अहिलेको अवस्था पनि त्यस्तै हो ।
 

प्रचण्ड निर्मला पन्त योगेश भट्टराई प्रधानमन्त्री केपी शर्मा ओली कुसुम भट्टराई

विशेष