बालिका खड्का नेताहरुको स्वार्थको घानमा परेकी हुन् कि कारण अरु नै ?
प्रधानमन्त्रीको सचिवालयमा रहेर काम गरेकी, तत्कालीन नेकपा एमाले युवा संघको निर्वाचित केन्द्रीय सदस्य बालिका खड्का अहिले गुमनाम छिन् । केही च्यानलले उनको अन्तर्वार्ता प्रशारण गरेका छन् । बालिकाको दावी यो छ कि उनलाई नेकपाका नेता तथा हालका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शोषण गरे । शेरधन राईका पक्षधरले बालिकाको मनस्थिति राम्रो नभएकोले यस्ता कुरा भन्दै हिँडेको दावी गरेका छन् । यदि बालिकाको मनोदशा सामान्य नभएर यस्तो गरेकी हुन् भने एमाले केन्द्रीय कार्यालयमै आत्हत्या गर्ने झापा विद्रोहका योद्धा डिकेन्द्र राजवंशीको मनोदशा चाहिँ के थियो त ?
झापा विद्रोहदेखि मदन भण्डारीको रहस्यमय मृत्युको जगमा खडा भएको एमाले पार्टी माओवादीसँग मिल्नु अघि नै यो पार्टीमा रामकुमारी झाँक्रीले नभएर राज्यलक्ष्मी गोल्छाहरुले अवसर पाउन थालिसकेका थिए । ‘जसको शक्ति उसको भक्ति’को ट्रेन्डले डिकेन्द्र राजवंशी जस्ता हजारौंले अपमानको विष पिएका छन् । पार्टीका नेताहरुमा देखिने ‘हिरोइज्म’का कारण धेरै युवतीहरु पीडित भए । यहि हिरोइज्म धेरै हुँदा अर्का एक युवा नेताको खास कारणले निधन हुन पुग्यो ।
डिकेन्द्रको आत्महत्यालाई एक अपराधका रुपमा मात्रै लिइएन । तत्कालीन नेकपा एमालेले पनि विशेष ठान्यो । सबैको एकमत के रह्यो भने, ‘पार्टीमा योगदान पुर्याउनेहरुको ठीक मूल्यांकन हुन नसक्दा यस्तो घटना भयो ।’ उसो भए बालिका खड्का आज जुन परिस्थितिसँग जुधिरहेकी छिन् त्यसमा बालिकामात्रैको एकोहोरो दोष होला त ?
एकाथरी एमालेका नेताहरुले कृपासुर शेर्पाले शेरधनलाई सिध्याउन बालिका नामक अस्त्र प्रयोग गरेको दावी गर्छन् । यदि त्यस्तै हो भने यो पार्टी कस्तो हो त, एक नेताले अर्कोलाई सिध्याउन महिलाको प्रयोग गर्दा पनि मौनता साँधिरहने ? नेपाललाई पहिलो महिला राष्ट्रपति दिने पार्टीमा नारीहरु कसैको चरित्रहत्यामा प्रयोग हुन्छन् र त्यो पार्टीका लागि पनि सामान्य मानिन्छ भन्ने कुरा कसरी स्वीकार गर्ने ?
बालिका खड्का दोलखा, कालिञ्चोक–४ की युवती हुन् । उनको एकोहोरो कुरा सुन्दा पत्यारिलो लाग्ने अवस्था छैन । राष्ट्रपति भवनमा प्रधानमन्त्रीले सपथ लिने बेलामा शेरधनले च्याप्प समातेको बालिकाको दावी धेरैले अपत्यारिलो मानेका छन् । यस्तो कुरा कसरी पत्याउनु ? उनलाई शेरधनले मोबाइलमा मेसेज पठाएर पनि ह्यारेसमेन्ट गर्दै आएको दावी गरेकी छिन् । त्यो मेसेजमा भएको कुन कन्टेन्टले तपाईंलाई ह्यारेस गर्यो भन्ने प्रश्नको जवाफ उनले दिन चाहेकी छैनन् ।
महिलाहरुले आफूविरुद्ध भएको सेक्सुअल ह्यारेसमेन्टबारे किन खुलेर बोल्न सक्दैनन् ? मनोविज्ञहरुले यस्तो मामिलामा भन्ने गर्छन्, ‘सेक्सुअल ह्यारेसमेन्ट वा रिलेसनसिप भइसकेपछि महिलाहरुमा भोलि विवाह नहोला कि भन्ने चिन्ताले यी कुराहरु भन्न सक्दैनन् । कोही पनि माहिलाले यसखाले व्यवहार देखाउँछन् भने बुझ्नु पर्छ विगतमा उनीहरुमाथि सेक्सुअल एक्प्लोइट भएको हुन सक्छ ।’
बालिकालाई पहिलेदेखि चिन्नेहरुका अनुसार उनको पहिलेको र अहिलेको स्वभाव फरक छ । उनमा कुनै न कुनै विषयले झड्का दिएको ठहर गर्नेहरु धेरै छन् । चिकित्सकहरुले भने उनको मानसिक स्वास्थ्य नर्मल ठहर गरेको बुझिएको छ ।
हालका नेकपाका नेता कार्याकर्ताहरुले भने झै बालिकाको मनोदशा सामान्य नभएको हो नै भने पनि प्रश्न उठ्छ यस्तो अवस्थामा पुर्यायो कसले त ?
प्रधानमन्त्रीको स्वकीय सचिवालयमा एक अधिकृतस्तरको पदमा रहेर काम गरेकी कार्यकर्ता थिइन् बालिका । त्यो मुकाम हाँसिल गर्न उनको पनि पार्टीमा योगदान थियो नै होला । जो कोहीले प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेर काम गर्न पाउँदैनन् । उनलाई त्यो अवसर चिठ्ठाबाट प्राप्त भएको थिएन ।
आफूले नेकपा एमालेका नेताहरुलाई सात करोड दिएका अभिव्यक्ति दिने राज्यलक्ष्मी गोल्छाका अगाडि नेकपा एमाले लम्पसार नै भयो । ‘कर्कलो काट्न बञ्चरो’ भने जस्तो बालिकाको हकमा लागू भयो । उनी न अहिले पार्टीको सदस्य छिन् । न कुनै आयस्रोत छ साथमा । सिंहदरबार र नेताका घरहरुमा उनलाई प्रतिबन्ध छ । कहिँ कतै झुक्किएर पुगिहालिन भने प्रहरीलगाएर यिनलाई निकाला गरिन्छ । एक सामान्य मान्छेको यस्तो दूर्गति के ‘आफ से आफ’ सिर्जना हुन्छ ? यस्तो हुनुमा बालिका एक्लैको दोष छ ?
बालिकालाई उपयोग गरेका भनिएका महिला व्यभिचारी कृपासुर शेर्पाले आफ्नै छोरालाई प्रहरी बोलाएर थुनाए । दशलाख रुपैयाँ दिएर १ करोड ६५ लाख दिएको कागजमा हस्ताक्षर गराएका छन् । व्यभिचारी कृपासुर शेर्पा आजको दिनमा सम्मानीत नागरिक भएर बाँच्ने, शेरधन राई प्रदेश १ को मुख्यमन्त्री भएर झण्डा हल्लाउँदै हिँड्ने अनि बालिका खड्का जस्ता कार्यकर्ताको चाहिँ बिल्लीबाठ हुने कस्तो सामाजिक व्यवस्था एमालेका नेताहरुले चाहेका हुन् ?
नातावादमा एमाले पहिले नै फसिसकेको थियो । आफ्नो स्वभाव मिल्ने माओवादीसँग उसले एकता गरेको छ । दुवै पार्टी मध्ये एकको जगमा नेता/कार्यकर्ताको कंकाल छ, अर्को पार्टीको जगमा आलो रगतसहितको शव छ । नेता÷कार्यकर्ताको शवमाथि बनेको पार्टीमा सेलिब्रेटी नेताहरुको रजगज छ । ती सेलिब्रेटीका कति फ्यानहरुको हालत बालिकाको जस्तो भएको छ ।
शेरधन राईका कार्यकर्ता, शुभचिन्तकहरुले बालिकाको मनोदशा ठीक नभएको दावी गर्छन् । अहिलेको मेडिकल साइन्सले तनको मात्रै होइन मन बिरामी हुँदा पनि बिसेक पार्न सक्छ । यदि उनी बिरामी हुन् नै भने केपी ओली एक्लैका लागि १८ करोड खर्च गर्दा बालिकाका लागि किन त्यो सुविधा छैन ?
डनहरुको संरक्षक पार्टीका रुपमा नाम कहलिएको तत्कालीन नेकपा एमालेले बालिका जस्ता कार्यकर्ताको संरक्षण गर्न सकेको छैन । बालिकासँग पार्टीगत नाता हुँदैन थियो भने पनि उनको समस्या समाधान गर्नु नेकपा वा सरकारको दायित्व हो । उनी त सोही पार्टीको कार्यकर्ता थिइन् । उनको समस्याको समाधान झन हुनु पर्ने तर त्यस्तो भएको छैन ।
अब अर्को एक अवस्थामा मनन गरौं । कुनै पनि पुरुषलाई कुनै महिलाले चरित्रको बात लगायो भने त्यो पुरुषले के गर्ला ? कुनै कसूर नगरी यस्तो आरोप खेप्नु पर्दा त्यो पुरुषले सहन सक्दैन । तत्काल प्रतिवाद गर्छ । तर विगतमा कुनै कसूर गरेको रहेछ भने ऊ डिफेन्सिभ भएर बस्छ । अहिले शेरधन राईको अवस्था दोस्रो चरणको जस्तो छ । उनी आफ्नो ‘चरित्रहत्या भयो’ भन्न सक्ने अवस्थामा समेत छैनन् । रक्षात्मक भएर बसेका छन् । नागरिकको समस्या समाधान गर्छु भनेर कुर्सीमा पुगेकाहरुले यस्तो मौनता साँध्ने अपराध गर्न मिल्छ ? के बाँच्न पाउने अधिकार नेकपाका सुन्दर, आकर्षक महिलाहरुका लागि मात्रै हो ?
बालिका केही समयदेखि नेकपाका दुई अध्यक्ष, राष्ट्रपतिको कार्यालय, युवा संघको कार्यालयमा बारम्बार पुगेकी छिन् । तर उनलाई प्रहरी लगाएर धपाइन्छ । आखिर किन ? यदि बालिकाको मनोदशा ठीक छैन भने उपचार गर्नुपर्छ, त्यो दायित्व सरकारको हो । उनी ठीक छिन् र कानुन उल्ंघन गरेकी हुन् भने उनीविरुद्ध कारबाही हुनु पर्यो । कुनै न कुनै निकास त निकालिनु पर्ने हो ।
उता प्रदेश १ मा कांग्रेसका सांसदहरुले यो विषयमा प्रश्न उठाइरहेका छन् । यस्तो प्रश्नको विपक्षीलाई उठाइरहन कहिलेसम्म अवसर दिइरहने ? शेरधन राईले पनि सोच्ने बेला आएको छ ।