यस्तो ‘महान जनयुद्ध’ किन बीचमै रोकियो त ?
फागुन १ः जनयुद्ध दिवस
काठमाडौं । एकपटक नेकपा एमालेका नेता हुँदै केपी ओलीले भनेका थिए, ‘जनयुद्ध महान भएको भए किन रोकेको त ? महान काम गरिरहनु पथ्र्यो नी !’
५२ साल फागुन १ गते शुरु भएको जनयुद्ध ६३ साल मंसिर ५ गते सकियो । त्यो महान भनिएको जनयुद्धले १७ हजार नेपालीको रगत पियो । सयौं मानिस घाइते र अंगभंग भए । अरबौंको भौतिक संरचना ध्वस्त भयो । हजारौं नेपाली युवाको भविष्य सत्यानाश बनायो । विकास र प्रगतिमा जाने १० वर्षको स्वर्णीम युग खोसेर लग्यो । यस्तो रक्तपिपासु ‘महान जनयुद्ध’ को शुभकामना आदानप्रदान पनि चलिरहेको छ ।
यो महान भनिएको जनयुद्धबारे विश्लेषक अरुणकुमार सुवेदी लेख्छन्, ‘ फागुन १गते क्यालेन्डरमा युरोपेली लिफ्ट वा घरको १३ तला जस्तो नलेख्न मिल्दैन ? यो १ गतेले जहिले मन मन दुख्ने ।’
वास्तवमै यो १ गतेले धेरैको मन दुखाउँछ । किनभने यसको नाता नेपाली दाजुभाईको रगत, चेलीहरुको बलात्कार, निर्दोषहरुको कत्लेआमसँग जोडिएकोछ । नरसंहारको सम्झना बनेको फागुन १ गते केहीका लागि उत्सवको पर्व बनेको छ ।
जनयुद्धको औचित्य अझै पुष्टि हुन नसकेको वरिष्ठ पत्रकार कुशुम भट्टराई उल्लेख गर्छन् । जनयुद्धका हृदयविदारक तस्बीहरु फेसबुकमा पोस्ट गर्दै उनी लेख्छन्,
‘जनयुद्ध ठीक थियो ? आजसम्म यसको औचित्य पुष्टी हुन सकेको छैन ।
जनयुद्धको क्षति पहिलो तस्बीरमा देख्न सक्छौं ।
जनयुद्धको प्राप्ती अर्को तस्बीरमा देख्न सक्छौं ।
के जनयुद्ध लडेर गणतन्त्र ल्याएको मार्सी चामल पुँजीवाद, हाटहुट, लाटलुट प्राइभेट लिमिटेडकै लागि हो त ?’
पञ्चायतकाल ढलेपछि बहुदलवादीहरुको दिन आयो । ती सुदिन थिए । चप्पल लगाउने औकात नभएका धेरै नेताहरुको ४६ साल यता नांगो खुट्टाले जमिन छोएको छैन । साइकल चढ्न नसक्नेहरु धेरैसँग मोटरकार छ । पञ्चायत ढलेपछि एक वर्गका नेताहरुको जीवनमा क्रान्तिकारी परिवर्तन आयो ।
६२ –६३ को जनयुद्धपछि अर्को वर्गको जीवनमा परिवर्तन आयो । आज माओवादी जनयुद्धमा लागेका धेरै नेता कार्यकर्ताको आर्थिक वन्दोवस्त राम्रो छ । जिल्लादेखि केन्द्रसम्मका नेता कार्यकर्ताको जीवनको आधार नै राजनीति भएको छ । यो राजनीतिले उनीहरुलाई पद, शक्ति, पैसा, प्रतिष्ठा सबै दिलाएको छ । यसकारण उनीहरुका लागि जनयुद्ध खुसीको पर्व हो ।
जनयुद्धमा प्रचण्ड परिवारले केही गुमाउनु परेन । आज उनकी छोरी मेयर छिन् । बुहारी केन्द्रमै मन्त्री छिन् । ज्वाईंहरुको पनि राम्रो बन्दोबस्त छ । कामचोर ठेकेदारको घरमै प्रचण्ड बस्छन् । जनयुद्धको लाभ मार्सी चामलको भात खुवाउन सक्नेले पनि पाएका छन् । तर बन्दुक समाएर देश र समाज बदल्न हिँडेका धेरै युवाहरु कि त मारिए, बाँचेकाहरु अहिले खाडीमा पसिना चुहाउँदै छन् । बौद्धिक काम गर्ने बेलामा त उनीहरु जनयुद्धमा होमिदै ठीक्क भयो ।
यसकारण यो जनयुद्धको फागुन १ कसैका लागि ‘दिन’ कसैका लागि ‘दीन’ बनेको छ ।