'जनजाति र महिला हुनुको पीडा भोगेकी छु, तर गरिब हुनुको पीडा बढी दर्दनाक छ' (भिडियाेसहित)
सरकारको विरोध जनताले हैन, विपक्षीले गरिरहेका छन्
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदको तर्फबाट सचेतकको भूमिका रहेकी शान्ता चौधरी अहिले एसइईको परीक्षाको तयारीमा रहेकी छन्। अबको पाँच दिनपछि सञ्चान हुने परीक्षाका लागि उनी दुई सातदेखि तयारीमा व्यस्त छिन्। उनले सांसदबाट बिदा लिएर गृहजिल्ला दाङमा परीक्षाको बन्दोबस्त मिलाउँदै छिन्।
परीक्षाका लागि व्यस्त शान्तासँग केही दिनअघि एसइई परीक्षा र कम्लरीदेखि सांसदसम्मको यात्राका बारेमा नेपाल आजका लागि कञ्चन न्यौपानेले कुराकानी गरेर तयार पारेको सामग्री :
कम्लरीदेखि सांसदसम्मको यात्रालाई पार गरेकी सांसद शान्ता चौधरीलाई नचिन्ने शायद कोही होला । पहिलो संविधानसभा गठन भएपछि ‘भाँडा माझ्दामाझ्दै सांसद’ भन्ने शीर्षकका समाचार भाइरल बने । यी समाचारका हेडलाइन तिनै शान्तालाई मिल्न जान्थ्यो । शान्ता आफैंलाई पनि त्यस्तै लाग्थ्यो । किनभने उनी आएकी थिइन् नै भाँडा माझेर । अर्थात् १८ वर्षसम्म कम्लरी जीवन बिताएकी शान्ताको लागि संसदीय माहोल बिलकुल नौलो थियो । अवोध बालकजस्तै उनको मष्तिष्कले धेरै गल्ती गर्यो ।
गल्ती गर्न र त्यहाँबाट सिक्न नहिच्किचाउने शान्ताको व्यवहार राजनीतिमा अवोध बालकको हर्कत जस्तै थियो । सानो बच्चाले आफ्नो काम आफैं गर्न नजाने जस्तै । राजनीतिक परिवेश नभएकी शान्ता संसद भवनमा पहिलो पटक जाँदा नै अलमलमा परेकी थिइन् । संसद भवन नै उल्टो देखेकी शान्तालाई भित्र पुग्दा को नेता कहाँ बस्छन् भन्नेबारे थाहा थिएन । सबै सँगै बस्ने होला भन्ने सोचेर प्रचण्ड बस्ने कुर्सीमा गएर बसिन् । राधा ज्ञवालीले तुरुन्तै आएर हात समातेर उनलाई लगेकी थिइन् ।
राजनीतिक परिवेश नभएको हुँदा सिक्ने क्रममा उनीबाट पनि धेरै त्रुटि भए । सांसद भएर आउँदा उनलाई आफ्नो नाम लेख्नै पाँच मिनेट लागेको थियो । एउटा नामसम्म लेख्न नसक्ने मान्छेलाई संविधान लेखन प्रक्रियामा काम गर्नुपर्ने थियो । यो क्रममा उनले अध्ययनको महत्व बुझिन् र स्कुल पढ्न थालिन् । हाल उनी छोरीसँगै एसइइको तयारीमा छिन् । उमेरले गर्दा धेरै कुरा स्मरण गर्न नसके पनि उनी ‘बि’ सम्म ल्याउन सक्ने बताउँछिन् । कलेज पढ्ने अवसर पाए उनको पिएचडी गर्ने धोको छ ।
सानातिना गल्तीबाट सिक्दै शान्ता पूर्णकालीन राजनीतिमा होमिइसकिन् । पछिल्लो चुनावमा प्रतिनिधिसभातर्फबाट समानुपातिक कोटामा परेकी उनी अहिले दोस्रोपटक सांसद छिन् ।
गृहजिल्ला दाङमा कम्लरी भएर काम गर्दा शान्ताको मनमा एउटा कुरा खड्किन्थयो । जमिनदारलाई जन्म दिने भगवान् र उनीजस्ता कमैया कम्लरीलाई जन्म दिने भगवान् फरक हुन्छन् भन्ने उनलाई लाग्थ्यो । यो भाव शब्दमा सरल सुनिए पनि निकै गहन छ । देशका जनताले समान हैसियत पाउन लड्नैपर्ने र आवाज उठाउनै पर्ने स्थितिको प्रतिनिधि पात्र हुन् शान्ता । उनी एकजनाको हठ र कमैया प्रथाको विरोधमा लागेको आवाजले आज उनका पुस्ता कमैया प्रथाबाट बाँच्न मात्र सफल भएका छैनन, उनीजस्तै धेरै थारू समुदायका छोरी चेली अरूको घरमा भाँडा माँझेर बस्नुपर्ने स्थिति छैन ।
परिवेशमा निकै परिवर्तन आएको देख्दा हामीले उनीसँग जान्न खोज्यौं । कहिलेकाँही आफैं भगवान् हो कि जस्तो लाग्दैन ? भनेर प्रश्न गर्दा कम्युनिस्टको राजनीतिमा चुर्लुम्म डुबेकी शान्ताले भनिन्, ‘हामी कम्युनिष्टहरू भाग्यमा भन्दा पनि कर्ममा विश्वास गर्छौं ।’
उनी सांसद भएपछि उनीमाथि धेरै कम्लरी र त्यस्तै दास प्रथामा गुज्रिएका मानिसहरूको इच्छा आकांक्षा थिए । अहिले यस्ता प्रथा हटाउन र त्यहाँ पीडा भोगेका व्यक्तिको व्यवस्थाको लागि धेरै कार्यहरू भएको उनले बताइन् । सरकारको ध्यानाकर्षण र कामकै कारण आज कम्लरी प्रथामा पहिलाभन्दा आकाश जमिनको फरक भएको उनकोे बुझाइ छ ।
कम्लरीहरूको लागि भनेर बजेट नै छुटिइसकेको बताउँदै उनले भनिन्, ‘यो गरिबीसँग जोडिएको छ । वर्गीय समस्या सामाधान गर्न सकिएन भने योजस्ता धेरै प्रथा रहिरहन्छन् । अहिलेको सरकार तदारुकताकासाथ लागेको मैले दखेकी छु । भूमिहीन सुकुम्बासीको व्यवस्था गर्न अयाोग गठन गर्ने कुरा पनि आइरहेका छन् । मैले जनजाति हुनुको पीडा, महिला हुनुको पीडा भोगेकी छु, तर गरिब हुनुको पीडा बढी पीडादायी छ ।’
अहिले खुल्ला समाजका कारण बलात्कार र यौन हिंसाका घटना बाहिर आएका छन् । कम्लरी प्रथा आफैंमा एक दास र अरूलाई शोषण गर्ने प्रथा हुँदा त्यहाँ बलात्कार हुँदैनन् भन्ने स्थिती छैन । कम्लरीहरूमा पनि धेरै बलात्कारको घटना हुने बताउँदै शान्ताले विगतका कुरा खोलिन् । कम्लरीलार्ई शोषणगर्ने अवस्था र त्यसको दृश्य सम्झदा अहिले पनि उनको आङ सिरिंग भएर आउँछ । त्यतिबेला विशेषगरि थारु समुदायका छोरी चेलीलाई जे गरेपनि हुन्थ्यो भन्ने मानसिकता धेरैको थियो । यौन शोषणमा पर्ने कुरा त झनैै धेरै त हुने नै भयो ।
छुच्ची, निडर र प्रतिकार गर्ने स्वभाव भएकी शान्ता आफू भने यौन हिंसाबाट संंयोगवश जोगिएको बताउँछिन् । प्रयास धेरै पटक भएपनि सबै प्रयास बिफल पारेको उनको अनुभव छ । मकैबारीमा घाँस लिन जाँदा लठ्ठी बोकेरै गएकी हुन्थिन् उनी । युवतीहरूलाई सानो उमेरमा ललाई फकाइ, डर धम्की दिएर यौन शोषण गर्ने चलन थियो त्यतिबेला । आफन्तमा पनि त्यस्तो भएपछि आमाले उनलाई बच्ने तरिका सिकाएकी थिइन् । आमाले सिकाएका कुरा सबैलार्ई उनले प्रयोगमा ल्याउने गर्थिन् । बेलाबलामा अरू कम्लरीलाई पनि भेला पारेर सिकाउथिन् ।
बाहिरी आवरण हेर्दा शान्दा कम्लरी जस्ती देखिन्नन् । आकर्षक जिउडाल भएकी शान्ता सुन्दर छिन् । राम्री भएका कारणले धेरैले उनलाई जिस्काउने पनि गर्छन् । शान्तालाई भने समस्या छैन । तर एकल महिला भएका कारण भने उनलाई समस्या भएको छ । ‘कसैसँग नजिक भएर सहयोग र साथ लियो, नजिक भएर बस्यो भने समाजले औंलो ठड्याउने रहेछ । राम्री हुँदा भन्दा पनि एक्लो हुँदा समस्या छ’, उनले भनिन् ।
राजनीति आफ्नो रहर नभएर बाध्यता भएको बताउँछिन् उनी । पूर्णकालिन राजनीतिमा लागिपछि एउटा महिलालाई घरबाटबाहिर निस्किन, समाजबाट निस्किन र टिकिरहन कत्ति गाह्रो हुन्छ भन्ने कुरा उनले थाहा पाइन् । पूरा समाजको उनीमाथि धेरै आशा र भरोसा भएका कारण पनि उनीमाथि धेरै अवरोध आए । कहिलेकाहीँ चटक्कै छोडौंजस्तो पनि लाग्थ्यो उनलाई । यस्तो अवस्थामा हठाथ् मनमा कुरा खेल्थ्यो, ‘मेरो समुदायको मान्छे फेरि पनि यो क्षेत्रमा आउन निकै मिहेनत गर्नुपर्छ ।’ यस्तै आत्मविश्वासले उनलाई हरेक अनुकुलताको सामाधान गर्न सिकायो ।
राजनीतिमा लागेर कम्लरीको जीवनस्तर सुधार्न हिँडेकी शान्ताले आफ्नो पारिवारिक जीवन भने सुखमय बनाउन सकिनन् । उनी राजनीतिमा लाग्दै गर्दा श्रीमानसँगको सम्बन्ध राम्रो हुन सकेन । आफ्नो तर्फबाट केही त्रुटि नभएको बताउँने शान्ता यसलाई एउटा दुर्घटनाको रूपमा लिने गर्छिन् ।
कुनै समय जमिन्दारको छोराछोरीले खाएको मात्रै पनि टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था थियो शान्ताको । तर समय सधैं उही रफ्तारमा चल्दैन । यसको गतिलाई समात्न सकियो भने समय जतिको बलवान् अरू केही पनि हुँदैन भन्ने कुुरा शान्ताको जीवन कथाले छर्लंग पार्छ । हिजोआज मोटोपन बढेकाले उनी साँझ खाना खाँदिनन् । अर्थात् शान्ता डाइटिङमा छिन् ।
‘भ्यालेन्टाइन डे’ बारे हामीले उनीसँग जान्न खोज्यौं । केही ख्यालठट्टा मिश्रित प्रश्नमा ‘तपाईंको आइ लभ यू नेता को ?’ भनेर प्रश्न गर्दा, उसै त हँसिली शान्ता लाजले भुतुक्कै भइन् । प्रेमलाई शक्ति र आत्मविश्वास ठान्ने शान्ताले आफूले जीवनमा आमाबाबु र छोराछोरीलाई मात्र प्रेम गर्न जानेको बताउँछिन् । एकल महिला हुँदा विवाहको प्रस्ताव कत्तिको आउँछन् भन्ने कुरामा उनले हाँस्दै भनिन्, ‘अब बुहारी भित्र्याउने उमेरमा केको प्रस्ताव ?’ सामाजिक सञ्जालमा सक्रिय शान्तालाई बेलाबेलामा धेरैले दुःख दिने गर्छन् । अनावश्यक कुरा गर्ने, डिस्टर्ब गर्ने धेरैलाई उनले ब्लक गरेकी छिन् ।
वर्तमान सरकारले आफ्नो एक वर्षको कार्यकाल पूरा गरेको छ । चौतर्फी रूपमा सरकारको आलोचना भइरहँदा शान्ता भने जनताले नभएर विपक्षीले सरकारको विरोध गरिरहेको बताउँछिन् । सरकारलाई कमजोर बनाउने भनेर विरोधी लागिपरिरहेका उनले बताइन् । संघीयताको नयाँ अभ्यासमा गएका कारण तुलनात्मक हिसाबमा सरकारले धेरै काम गरेको छ भन्दै उनले थपिन्, ‘आजको भोलि देश विकास हुँदैन । ओलीले प्रशंशा गर्नलायक काम गर्नुभएको छ । विपक्षीको हरेक प्रश्नको जवाफ दिनुपर्छजस्तो मलाई लाग्दैन ।’
सांसद शान्ता चौधरी