भ्यालेन्टाइनका १९ डेटिङ स्पट : जहाँ जोडीले घन्टौ आनन्द लिन्छन्
- शकुन्तला लोथ्याल
काठमाडौं । ‘भ्यालेन्टाइन डे’लाई विषेश बनाउन नयाँ पुस्ता निकै सिपालु छन् । यो दिन धेरै जोडी नयाँ ठाउँ घुम्ने र रमाइलो गर्ने योजना बनाउँछन् । अधिकांशले घुम्नका लागि रमणीय र सुनसान स्थलको छनोट गर्छन् । ‘भ्यालेन्टाइन डे’लाई स्मरणीय बनाउँन काठमाडौं आसपास सुन्दर र रमणीय गन्तव्यहरू धेरै छन् । जहाँ छोटो समय र कम खर्चमै आफ्नो जाडीसँग रमाइलो गरी समय बिताउन सकिन्छ । यहाँ ‘भ्यालेन्टाइन डे’मा आफ्नो जाडीसँग पदयात्रा गरेर त्यहाँको सुन्दर दृश्यको आनन्द लिन र ‘भ्यालेन्टाइन’लाई विषेश बनाउन सकिने केही ऐतिहासिक र प्राकृतिक सौन्दर्यले मनमोहक गन्तव्यहरू दिइएको छ ।
चन्द्रागिरि
‘भ्यालेन्टाइन डे’को दिन आफ्नो जोडीसँग हाइकिङ जान रुचाउँनेले पदयात्रा गरेर चन्द्रागिरि पुग्न सकिन्छ । लगभग एक घण्टाको उकालोपछि २५ सय मिटर अग्लो चन्द्रागिरि पुगिन्छ । चन्द्रागिरिबाट माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जेलाक्पालगायत धेरै हिमशृंखला छर्लंगै देखिन्छ । प्रशस्त होटल, क्याफे उपलब्ध भएको चन्द्रागिरिमा भालेश्वर मन्दिर पनि छ । फर्किंदा केबुलकार चढेर आनन्द लिन सकिन्छ ।
नगरकोट
काठमाडौंबाट करिब ३० किलोमिटर दूरीमा रहेको नगरकोटको चुचुरोमा पुग्दा चिसो सिरेटोले आनन्दित बनाउँछ । नगरकोटमा अत्याधुनिक होटल, रिसोर्ट, लज र होमस्टेको राम्रो सुविधा छ । नगरकोटको भ्युटावरबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न पाइने नगरकोट जोडीका लागि उपयुक्त गन्तव्य हो ।
गोदावरी
ललितपुरको सातदोबाटोबाट करिब १० किलोमिटर दूरीमा छ गोदावरी । शान्त वातावरण, हरियाली जंगल, विभिन्न प्रजातिका फूलहरुको अवलोकन गर्न सकिने यो क्षेत्र जोडीहरुका लागि प्रख्यात छ ।
फूल्चोकी
२८ सय मिटरको अग्लो फूल्चोकी पुग्न गोदावरीबाट उकालो चढ्नुपर्छ । फूल्चोकीको टुप्पोबाट काठमाडौं उपत्यका छर्लंगै देखिन्छ । यहाँबाट हिमालका चुचुरादेखि तराईका समथर सुन्दर फाँटको गरी फूल्चोकी माईको दर्शन गर्न सकिन्छ ।
दलचोकी
ललितपुरको लगनखेल बाट २७ किलोमिटर यात्र पार गरेपछि २८ सय ९० मिटरको उचाइमा रहेको हरियाली डाँडा दल्चोकी पुगिन्छ । यहाँबाट काठमाडौं आसपासका दर्जन बढी हिमालको दृष्यको अवलोकन गरी आफ्नो जोडीसँग रमाउँन सकिन्छ ।
धुलिखेल
युवाहरुका लागि उपयुक्त गन्तव्य धुलिखेलमा जोडीका लागि पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले भरिपूर्ण छ । यहाँको सुन्दर प्रकृतिमा आफ्नो मनको मान्छेसँग स्मरणीय सयम बिताउन सकिन्छ ।
टौदह
काठमाडौंबाट नजिकै रहेको टौदह धेरैको रोजाइमा पर्ने गन्तव्य हो । कीर्तिपुर नगरपालिकामा अवस्थित यहाँ काठमाडौंको पुरानो बसपार्कबाट सात किलोमिटर यात्रा गरेपछि पुग्न सकिन्छ । काठमाडौं उपत्यकाभित्रको सबैभन्दा ठूलो ताल टौदहको सुन्दर दृश्य हेरेर आनन्द लिन सकिन्छ ।
सेतो गुम्बा
डुक अमिताभा माउण्टेन नामाकरण गरिएको सेतो गुम्बा धेरैको रोजाइको गन्तव्य हो । स्वयम्भु सितापाइलाबाट डेढ घण्टा हिँडेर गुम्बामा पुग्न सकिन्छ । आकर्षक तथा भव्य र रमणीय सेतो गुम्बा बाट उपत्यकाको दृश्यावलोकन गर्दै यहाँकोे रमणीय बगैंचा, हरियाली डाँडाहरुमा रमाउन सकिन्छ ।
भोटेचौर
चावहिलबाट ३८ किलोमिटर टाढा रहेको सिन्धुपाल्चोकको ‘मिनीइलाम’ अर्थात भोटेचौरको चियाबगान धेरैको रोजाइमा पर्छ । प्राकृतिक सौन्दरयतामा रमाउन मात्र होइन फोटो खिचेर आनन्द लिन जोडीहरुको लागि एक उपयुक्त गन्तव्य हो भोटेचौर । साँखुबाट दुई घण्टाको बसयात्रा गरेर भोटेचौर पुगिन्छ ।
ककनी
काठमाडौंको माछापोखरीबाट २० किलोमिटर यात्रा गरेपछि ककनी पुगिन्छ । स्टेबरी र ट्राउन माछाको स्वाद लिन नुवाकोटको ककनी उपयुक्त गन्तब्य हो । सुन्दर र शान्त वातावरण भएको ककनी धेरैको रोजाइमा पर्ने गन्तव्य हो ।
बालाजुपार्क–तपोबन
बालाजु बाईपासमा रहेको बालाजुपार्क धार्मिक महत्व बाकेको क्षेत्र हो । यहाँको पौडी पोखरी, पार्क र २२ धाराको सुन्दर दृश्य अवलोकन र शान्त वातावरणले यहाँ पुग्ने सबैलाई आनन्दित गराउँछ ।
चोभार
काठमाडौं बल्खुबाट करिब साढे चार किलोमिटर दक्षिण क्षेत्रमा रहेको चोभारबाट काठमाडौं सहरको सुन्दर दृश्य र हिमालहरुको अवलोकन गरी आफ्नो जोडीसँग यो ‘भ्यालेनटाइन’ मनाउनँ सकिन्छ ।
ललितपुरको बज्रवाराही
ललितपुरको चापागाउँमा पर्ने यो मन्दिरसम्म पुग्न ललितपुरको लगनखेलबाट सजिलै गाडी पाइन्छ । प्राकृतिक रूपले सुन्दर यो ठाउँकोे ऐतिहासिक स्थलका रूपमा पनि विशेष महत्व छ ।
स्वप्न बगैंचा
पर्यटकीय क्षेत्र ठमेलमा एउटा सुविधासम्पन्न पार्क स्वप्न बगैंचा अर्थात ‘गार्डेन अफ ड्रिम’ धेरै जोडीको रोजाइमा पर्छ । सुन्दर र आकर्षक बस्ने ठाउँ, माछा पोखरी, बगैंचा, सुविधा सम्पन्न क्याफे रहेको बगैंचा केशरमहलसँगै रहेको छ ।
स्वयम्भू परिसर
बौद्ध धर्मावलम्बीको धार्मिक स्थल स्वयम्भु घुमघामको लागि उपयुक्त ठाउँ हो । धार्मिक स्थलहरुमध्ये काठमाडौं शहरभन्दा केही उच्च स्थानमा रहेको स्वयम्भुबाट शहरको रमणीय दृश्यावलोकन गरेर रमाउन सकिन्छ ।
पशुपति क्षेत्र
हिन्दुहरुको पवित्र धार्मिक स्थल पशुपतिनाथ मन्दिर क्षेत्र पनि जोडीका लागि एक उपयुक्त स्थान हो । यस आसपास रहेको बनकाली, मृगस्थली स्थानहरुमा जोडीको उल्लेख्य उपस्थिति देख्न सकिन्छ । हरियाली क्षेत्रले धेरै जोडीलाई यहाँ आकर्षित गर्छ ।
सुन्दरीजल
राजधानीबाट करिब १५ किलोमिटर दुरीमा रहेको सुन्दरीजल जोडीहरुका लागि उपयुक्त स्थान हो । नाम जस्तै सुन्दर यो ठाउँको वातावरणमा भरपुर आनन्द लिन सकिन्छ ।
चिडियाखाना
जनावर तथा पंक्षीको अवलोकनका लागि ललितपुर जावलाखेलमा रहेको चिडियाखाना धेरैको रोजाइमा पर्छ । यहाँका शितल र रमणीय पोखरी किनार र सँगै रहेका खेलकुद स्थानहरुमा जोडीहरु रमाउने गर्छन् ।
भृकुटी मण्डप पार्क
विशेष गरी व्यावसायीक प्रदर्शनीका रुपमा चिनिएको भृकुटी मण्डप सँगै रहेको पार्क जोडीहरुका लागि चर्चित स्थान बनेको छ । उता फनपार्कमा जोडीहरुका लागि उस्तै रमाइला गेमहरु छन् । कफिसप देखि रमाइला खेलमा रमाउन धेरै जोडीहरु यहाँ पुग्छन् ।
भ्यालेन्टाइन्स दिवस