खेल

सिरिजः अष्ट्रेलियासँग खेल्न भारतीय टोलीको घोषणा आज, को–कोले पाउलान् मौका ?

सिरिजः अष्ट्रेलियासँग खेल्न भारतीय टोलीको घोषणा आज, को–कोले पाउलान् मौका ?

काठमाडौं । अष्ट्रेलिया विरुद्धको दुई टी–२० र पाँच एकदिवसीय सिरिजका लागि भारतले आज टोली घोषणा गर्दैछ । अष्ट्रेलिया विरुद्धको सिरिज २४ फेब्रुअरीदेखि शुरु हुँदैछ । यहि वर्षको ३० मे देखि भइरहेको एकविसीय विश्वकप क्रिकेट अघि भारतले अन्तिम अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो ।

 

भारतीय सञ्चारमाध्यमका अनुसार अष्ट्रेलिया विरुद्धको सिरिजमा विश्वकपलाई मध्यनजर गर्दै चयनकर्ताले टोली घोषणा गर्ने छ । न्यूजिल्याण्डसँग भएको अन्तिम २ एकदिवसीय र तीन टी–२० मा आराम दिइएका कप्तान विराट कोहली अष्ट्रेलिया विरुद्धको सिरिजमा फर्किने छन् । यस्तै, टोलीमा पर्न तिव्र गतिका बलर खलील अहमद र जयदेव उनादकटबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।  

 

अष्ट्रेलिया–न्यूजिल्याण्डमा खलीलको खराब प्रदर्शन
राजस्थानका खलील अष्ट्रेलिया र न्यूजिल्याण्डसँगको सिरिजमा टोलीमा अटाएका थिए । तर, उनको प्रदर्शन खासै प्रभावकारी रहेन । दुई सिरिजको २ खेलमा मौका पाएका उनले ११ ओभरमा ७४ रन खर्चिदा एक विकेट पनि लिन सकेनन् । ६ टी २० मा खलीलले ७ विकेट मात्र लिन सके ।

 

उनादकटले अन्तिम रणजी ट्रफीमा लिए २९ विकेट  
जयदेव उनादकटले भारतको राष्ट्रिय क्रिकेट टोलीमा सन् २०१३ मा डेब्यू गरेका थिए । त्यसबेला उनले ७ खेलमा ८ विकेट लिए । जयदेवले अन्तिम वान्डे वेस्ट इन्डिजविरुद्ध सन् २०१३ मा खेलेका थिए । त्यसक्रममा उनले १० टी–२० खेलमा १४ विकेट लिए । जयदेव पछिल्लो २ महिनादेखि शानदार फर्ममा छन् । सौराष्ट्रका लागि पछिल्लो पाँच रणजी म्याचमा उनले २९ विकेट लिन सफल भए ।  यसकारण पनि अष्ट्रेलियासँग हुने सिरिजमा खलीलको ठाउँ जयदेवले लिने सम्भावना बढेको छ ।  


 

दोस्रो विकेटकीपरका लागि कार्तिक र पन्त भिड्दै
अष्ट्रेलियासँग हुने सिरिजमा विश्वकपका लागि दोस्रो विकेटकीपरको स्थान बनाउन निदेश कार्तिक र ऋषभ पन्तबीच भिडन्त हुनेछ । कार्तिकले सीमित ओभरको पछिल्लो पाँच खेलमा नटआउट ३३, ५, ० र ३८ रन बनाए । एक खेलमा भने उनालाई ब्याटिङको मौका मिलेन ।  यसक्रममा न्यूजिल्याण्ड विरुद्धको एक खेलमा कीपरको भूमिकामा रहेका उनले ४ क्याच लिए । पन्तले तीन टी २० मा ७२ रन बनाए । अष्ट्रेलियासँगको चौथो टेस्ट खेलमा नटआउट १५९ रनको शानदार पारी खेलेका थिए । अब चयनकर्ताले यी दुई मध्ये कसलाई छनोट गर्लान् ? यो निर्णय सुन्न केही समय प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

 

विश्वकपका लागि १३ खेलाडीको नाम लगभग पक्का
इग्ल्याण्डमा हुने आगामी विश्वकप क्रिकेटका लागि चयनकर्ताले १३ खेलाडी छनोट लगभग पक्का गरेको छ । जसमा विराट कोहली, महेन्द्रसिंह धोनी, रोहित शर्मा, शिखर धवन, अम्बाती रायडू, केदार जाधव, हार्दिक पाण्ड्या, विजय शंकर, युजवेन्द्र चहल, कुलदीव यादव, भुवनेश्वर कुमार, जसप्रीत बुमराह र मोहम्मद सामी । बीबीसीआई १६ वा १७ खेलाडी इग्ल्याण्ड पठाउन सक्ने छ । अब बाँकी रहेको स्थानका लागि लोकेश राहुल, दिनेश कार्तिक, ऋषभ पन्त, खलील अहमद दौडमा छन् ।  

 

भारत भर्सेस अष्ट्रेलिया सिरिज

विशेष