कभर स्टोरी भिडियो

एक हातमात्रै हुँदा पनि साइकल चलाउन छाडेनन् (भिडियाेसहित)

एक हातमात्रै हुँदा पनि साइकल चलाउन छाडेनन् (भिडियाेसहित)

काठमाडौं ।  २५ वर्ष अघि डडेल्धुराका एक गाउँमा नरेश भट्टराईको जन्म भएको थियो । उनी एक महिनाको हुँदा भएको एक घटनामा उनको ज्यान त जोगियो, तर उनले आफ्नो एक हात गुमाए । त्यतिबेला डडेल्धुरामा विजुली थिएन । गाउँघरमा टुकी बत्ती बाल्ने चलन थियो । नरेशकी आमाले पनि टुकी बालेकी थिइन् । बल्दै गरेको टुकीले नरेशको जीवनलाई नै प्रभाव पार्ने दुःख दिएर गयो । 

 

टुकी बत्ती खसेर ओछ्यानमा सुताइएका नाबालक नरेशको अनुहारको दायाँ भाग र हातमा पर्‍यो । उक्त दुर्घटनामा उनको अनुहारको दायाँ भाग र एक हात परेर जल्यो । जसकारण उनले हात गुमाउनुपर्‍यो । 
दुर्घटना हुँदा उनी सानै थिए । भर्खर एक महिना पुग्न मात्रै लागेका । आफू बुझ्ने अवस्थामा आउँदासम्म नै त्यही स्थितिमा हुर्कदैंं आएका भट्टराई आफ्नो एक हात नभएकोमा अनौठो महशुस गर्दैनन् । किनभने उनी बुझदै आउँदा नै आफूलाई त्यही अवस्थामा देखे । 

 

‘त्यसकारण पनि मलाई आफू फरक हो भन्ने महशुस हुँदैन । किनभने मैले त्यो पीडा भोग्नु परेन । सुनेको भरमा मात्र यस्तो भयो भन्ने थाहा छ । जे छु, जस्तो छु, ठीक छु भन्ने मलाई लाग्छ’, सामान्य रूपमा उनले भने । 
१४ वर्षको उमेरमा उपचारको लागि उनी काठमाडौं आए । काठमाडौं आउनु नै उनको लागि जीवन बदल्ने मोड बन्यो ।

 

उनका संघर्षका दिन यहीं आएपछि शुरू भयो । डोटेली भाषा बोल्ने उनालाई सुरूमा नेपाली भाषसमेत बोल्न आउँदैनथ्यो । जसकारण काठमाडौंमा सुरूवाती अवस्थामा टिक्नै गाह्रो भयो । उपचारपछि भक्तपुर बसेर उनले स्कुल पढ्न थाले । त्यबिला पनि उनले क ख रा जानेका थिएनन् । १४ वर्षको उमेरमा १ कक्षादेखि पढ्न थाले । 


हाल उनी स्नातक तेसो वर्षमा अध्ययनरत छन् । उनले प्लस टु ट्राभल्स एन्ड टुरमा गरेका हुन् भने स्नातक आरडीमा गर्दै छन् । ७ जनाको परिवार पाल्ने जिम्मा पनि उनैको छ । बुबा नभएका भट्टराईकी आमा गाउँमै खेती किसानी गर्छिन् । भाईलाई पढाउने जिम्मा आफैंले लिएका छन् । आर्थिक स्रोत जुटाउनका लागि केही समयअघि उनी जागिर गर्थे । तीन वर्षसम्म ठमेलको एक ट्राभलको अफिसमा उनी सुपरभाइजर भएर काम गरे । केही कारणवश काम छोडेका उनी अहिले भने बेरोजगार छन् । कामको लागि प्रयासरत रहेको उनले बताए ।  

 


अंग्रेजीमा एउटा भनाइ नै छ, ‘प्राक्टिस मेक्स म्यान पर्र्फेक्ट’ । यो भनाइको प्रतिनिधि पात्र हुन् भट्टरार्ई । कोसिस गर्ने हो भने जे पनि सम्भव छ भन्ने कुरा उनलाई कसैले सिकाइरहनै पर्दैन, आफ्नै व्यवहारबाट बुझेका छन् ।
साइकल चलाउन थालेपछि यो भनाइको महत्व बुझे उनले । सानैदेखि साइकल भनेपछि हुरुक्क हुने उनले १४ वर्षको उमेरदेखि नै साइकल चलाउन सिके हुन् । उनी अहिले २५ वर्षका भए ।

 

काठमाडौंको अस्तव्यस्त अवस्था जहाँ सामान्य मानिसलाई पनि साइकल चलाउन कठिन हुन्छ । उनी एक हात बिना नै सजिलै साइकल चलाउँछन् । सुरूका दिनमा चलाउन कठिन थियो । त्यसको कारण पनि उनले पत्ता लगाए । 

 

‘डर’ को कारण चलाउन नसकिएको भन्ने थाहा पाएपछि उनी निडर बन्दै गए । उनी निडर हुनुकै परिणाम हुनुपर्छ केही समय अघि आयोजना भएको र्याली साइक्लिङ प्रतियोगितामा भट्टराईले दुईपटकसम्म दोस्रो स्थान हासिल गरे । यी सबै कुराले उनलाई अझै धेरै काम गर्न प्रेरणा दिन्छ । 

 

भन्छन्, ‘मनमा डर हटेपछि आत्मबल दह्रो हुने रहेछ । ट्राफिक नियमको राम्रो ज्ञान लिएर काठमाडौंका सडकमा मज्जाले चलाइरहेको छु । चलाउनुअघि साइकलको अवस्था के छ भनेर हेर्छु । तर त्यत्ति गाह्रो छैन ।’ साइकल चलाउनमात्र होइन, भट्टराई स्विमिङ पनि मज्जाले गर्छन् । सिपको महत्व नजिकबाट जाने बुझेका उनी अहिले १२ फिटसम्ममा पौडिन सक्ने बताए । 

 

दुर्घटना कुनै पनि मानिसलाई जुनसुकै समयमा हुने कुराको चेतना सबैमा हुनुपर्ने उनको मान्यता छ । भन्छन्, ‘चाहे धनी होस् या गरिब । दुर्घटना बाजा बजाएर आउँदैन । यो जसलाई पनि हुन सक्छ । त्यसकारण मलाई केही हुँदैन भनेर कसैले भन्न सक्दैन ।’

 

पढाईमात्र ठूलो कुरा नहुने हुँदा केही सीप सिक्न उनको सुझाव छ । उनको अबकोे उद्देश्य साइकल निरन्तर चलाउने र पढाईलाई अघि बढाउने हो । हाल बेरोजगार नै भएपनि निकट भविष्यमा अपांगता भएका, टुहुरा र गरिबको सहारा बन्ने उनको योजना छ । 

 

गाउँघरतिर खेल्ने, रमाउने, गाईवस्तु चराउने, घाँस काट्ने काममा बाल्यवस्था बिताएका भट्टराईले शिक्षा पाएर आफ्नै खुट्टामा उभिन सक्छु भनेर सोचेका पनि थिएनन् । पाएको मौकालाई उनले च्याप्प समात्न संघर्ष गरेका कारण उनी सफल भए । त्यसैले उनी भन्छन्, ‘जीवन आफैंमा संघर्ष हो । त्यसैले परिश्रम गर्नूस् ।’

 

साइकल राइडर

विशेष