सुकुल र कुर्सी कुर्दै सामुदायिक विद्यालका शिक्षक
काठमाडौं । सीता घिमिरे काठमाडौं मख्खनस्थित तारिणी आधारभूत विद्यालयमा प्राथमिक तहकी शिक्षक हुन्। उनी दैनिक विद्यालय जान्छिन्। तर पढाउनुपर्दैन। उनको काम विद्यालय भवन कुर्नु जस्तै भएको छ।
किनकि विद्यालयमा विद्यार्थी छैनन्। ‘विद्यार्थी भर्नाको बेला ११ जना थिए। अहिले आउन छोडे’, उनले भनिन्, ‘विद्यार्थी नआएपछि हाम्रो दिनचर्या स्कुल आउनेजानेमै बितिरहेको छ।’ स्कुुलमा दुई शिक्षक र एक कार्यालय सहयोगी छन्। पढाउन नपरेपछि दुई जना पालैपालो विद्यालय आउँछन्। ‘२०७२ सालको भूकम्पले स्कुल वरिपरिका भवन भत्कायो। बाटो पनि छेक्यो। त्यही भएर विद्यार्थी आउन छाडे’, प्रधानाध्यापक रेवती शर्माले भनिन्। कुनै बेला विद्यार्थीको चाप बढी भएर कक्षा १० सम्मकै पढाइ हुने विद्यालयलाई पछिल्लो समय विद्यार्थी घटेपछि पाँच कक्षासम्म मात्र झारिएको छ। विद्यालय २०१६ सालमा खोलिएको हो।
काठमाडौंको पुरानो बस्ती इटुम्बहालस्थित २०१४ सालमा स्थापना भएको केशचन्द्र प्राथमिक विद्यालयमा पनि दुई शिक्षक छन्- प्रधानाध्यापक राजेश महर्जन र विमल पौडेल। उनीहरूले पनि पढाउनुपर्दैन। गुठीको घरमा सञ्चालित विद्यालयमा डेस्क, बेन्च, केही थान सुकुल र कुर्सी कुर्न मात्र बसे जस्तो लाग्छ। ‘पाँच जना विद्यार्थी भर्ना भएका थिए। अहिले आउँदैनन्’, महर्जन भन्छन्। विद्यार्थी नभएपछि शिक्षक पनि व्यक्तिगत काम नभएको दिन मात्र स्कुल आउँछन्। माघ अन्तिम साता उक्त स्कुल पुग्दा महर्जन एक्लै थिए। ‘अर्को सर काम परेर बाहिर जानुभएको छ’, उनले भने।
सामुदायिक विद्यालयको स्तर सुधार्न र विद्यार्थी आकर्षण बढाउन राज्यले थुपै्र नीति तथा कार्यक्रम ल्यायो। तर कार्यान्वयन नहुँदा यस्ता विद्यालयप्रति विद्यार्थी विकर्षण बढिरहेको छ। तारिणी र केशचन्द्र त्यस्तै केही उदाहरण मात्र हुन्। राजधानीमा सरकारी लगानीमा सञ्चालित धेरै विद्यालय विद्यार्थी अभावमा बन्द हुने अवस्थामा छन्। तर स्पष्ट सरकारी नीति नबन्दा यस्ता विद्यालय शिक्षक–कर्मचारीलाई तलब खुवाउने थलो मात्र बनेका छन्, यसले वार्षिक रूपमा राज्यकोषमा करोडौं व्ययभार थपिएको छ। विद्यालयको नाममा रहेको करोडौं रुपैयाँ पर्ने भवन र तिनले ओगटेको जग्गासमेत बेकम्मा बनेका छन्। यस्ता विद्यालयप्रति विश्वास नभएका कारण अभिभावक महँगो शुल्क तिरेर निजी स्कुलमा नानीबाबु पढाउन बाध्य छन्। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।
शिक्षक सामुदायिक विद्यालय