कभर स्टोरी

एउटा अशोभनीय दृश्य 

एउटा अशोभनीय दृश्य 

काठमाडौं । बुधबार राजधानीको राष्ट्रिय सभागृहमा दुई तिहाई बहुमतको सरकारका अगाडि हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने जिम्मेवारी लिए । भरतपुरमा निर्माण हुने रंगशालाको जिम्मेवारी धुर्मुस सुन्तली फाउन्डेसनले पायो । भरतपुर महानगर र धुर्मुसबीचको सम्झौताको साक्षी प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सरकारका प्रभावशाली मन्त्रीहरु बसे । 

 

क्रिकेटमा एकदिवसीयको मान्यता पाइसकेको, टि–२० वर्ल्ड कप खेलिसकेको नेपालमा एउटा पनि अन्तर्राष्ट्रिय स्तरको मैदान छैन भन्ने विषय अन्तर्राष्ट्रिय समाचार बनेको थियो । यो परिवेशमा धुर्मुसलाई रंगशाला बनाउने जिम्मेवारी दिँदा आम मानिसको ध्यान तानियो । धेरैले धुर्मुसलाई बधाई र शुभकामना पनि दिए । भूकम्पयता नागरिकस्तरबाट धुर्मुसको समाजप्रतिको योगदान उच्च छ । यसमा विवाद रहेन । हास्यकलाकारले रंगशाला निर्माणको जिम्मा लिने अनि देश नै बनाउछु भनेर आएकाहरु भने मान्छे हसाउने दृश्य राष्ट्रिय सभागृहमै देखियो । त्यो दृश्य यस अर्थमा ‘एउटा अशोभनीय दृष्य’ हो ।

 

सभागृहको त्यो कार्यक्रममा पनि प्रधानमन्त्री केपी ओलीले मान्छे हसाउन छाड्ेनन् । उनले भने, ‘बैंकमा के कति पैसा छ ? पैसा छ कि छैन ? आँट त ठूलो छ ।’ उनको कुरा सुनेर मानिसहरु हाँसे । प्रधानमन्त्री ओली लगभग सबैजसो ठाउँमा हसाउने केही खुराक पस्किन्छन् । भाषणलाई पट्यारिलो नहोस् भनेर यस्ता कमेडी केही अर्थमा ठीकै पनि हुन सक्छ । देश बनाउने जिम्मा धुर्मुसले पाउने, नागरिकहरु गुनासो लिएर रवि लामिछाने कहाँ पुग्ने, महिला अधिकारकर्मी भनेर सावित्री सुवेदीहरु स्थापित हुने अनि दुईतिहाइको सरकार चाहिँ थपडी मारेर रमाउने स्थिति सिर्जना भएको छ । 

 

मूलपानीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने कुरामा सरकार कानमा तेल हालेर बसेको छ । क्रिकेट प्रतिभाहरु जन्माउने विराटनगरस्थित क्रिकेट मैदान हाँसेर बसेको छ । कीर्तिपुरको त अभ्यासका लागि मात्रै हो भनेर प्रधानमन्त्रीले नै भने । अनि भरतपुरमा क्रिकेट मैदान बनाउने जिम्मेवारी धुर्मुसलाई सरकारले दियो । धुर्मुसले चारवटा एकीकृत वस्ती बनाएर समुदायलाई सुम्पिनु, रंगशाला बनाउने घोषणा गर्नु धुर्मुस स्वयंका लागि त गौरवको कुरा हो तर ‘यो देशमा सरकार पनि छ’ भन्नेहरुका लागि खिसी अथवा भनौं दिल्लगी हो । 

 

चन्दामा आधारित विकासे योजना 
धुर्मुसले बनाउने भनिएको रंगशालाको निर्माण लागत चन्दा उठाएर जुटाउने मोडलमा आधारित छ । चन्दा उठाएर ३ अर्ब संकलन होला ? गणितीय हिसाबले सम्भव छ । प्रत्येक नेपालीले १०० रुपैयाँ धुर्मुस सुन्तलीलाई दिने हो भने ३ अर्ब संकलन हुन्छ । तर यस्तो गणित व्यवहारमा काम लाग्दैन । मानौं चन्दा नै उठाएर ३ अर्ब पुग्यो रे । रंगशाला पनि बन्यो । रंगशाला बहुद्देश्यीय छ । त्यहाँ क्रिकेट मात्रै खेलिदैन । विभिन्न खेल, चमेनागृह, पसल आदि पनि खुल्छन् । आर्थिक कारोबार हुन्छ । ३ अर्बको लगानीले मुनाफा दिन थाल्छ । अब त्यो मुनाफा कसले लिने ? सरकार कि चन्दादाताहरुले ? 

 


नेपालमा मात्रै होइन विदेशमा कति दुःख कष्ट गरेकाहरुले पनि धुर्मुसलाई चन्दा दिन्छन् । त्यसरी दिइएको पैसाबाट बनेको रंगशालाको आय चाहिँ सरकार एक्लैले लैजाने अनि त्यो पैसा नेता÷मन्त्रीको मस्तीमा प्रयोग गर्न मिल्छ ? ३ अर्ब भनेको ठूलो रकम हो । यो रकम जसले जसले दिए पनि दिनेहरुका लागि पनि लाभ निश्चित गरिनु पर्छ । त्यसो भयो भने यो रंगशालामा लगानी गर्नेहरुले केही समयपछि आफ्नो लागत फिर्ता पाउँछन् । त्यो पैसा फेरि अर्को रंगशाला बनाउन प्रयोग हुन्छ । यदि भरतपुरमा रंगशाला बनाएपछि देशभर अन्यत्र नचाहिने हो भने यो पनि ठिकै छ । नत्र यो मोडलमा रंगशाला निर्माण गर्दा एउटा पक्ष चन्दादाता मात्रै भइरहने, अर्को पक्ष लाभ लिने मात्रै भइरहने हुन्छ । 

 

 

प्रगतिको दृष्टिले उपयुक्त 
द्रूतमार्गको काम सेनालाई दिँदा केही विज्ञहरुले भने कि सेनाले आफ्नो पेशाको काम गर्नु पर्छ । ठेक्काको काम निर्माण व्यवसायीलाई दिनु पर्छ । कुरा सुन्दा हो झै लाग्छ । तर एक निमेष मेलाम्ची आयोजना अगाडि राखेर हेरौं त । नेपालमा कोही पनि माइकेलाल छैनन्, जसले सेनाले झै समयमा काम सक्ने ल्याकत राख्छन् । नेपालका निर्माण व्यवसायीले जति ठूला  गरे पनि यिनीहरुको योग्यता धेरैवटा गौरवका आयोजनाहरुमा देखिसकिएको छ । रंगशाला होस् वा दू्रतमार्ग यो काम सेना र धुर्मुसकै लागि ठिक छ । किनभने यिनीहरुले समयमै काम सम्पन्न गर्छन् । अहिलेसम्मको अनुभवले देखाउछ । 
समाचार टिप्पणी 
 

धुर्मुस–सुन्तली फाउन्डेसन धुर्मुस–सुन्तली केपी अाेली

विशेष