पशुपतिको गीत बारे पाठक प्रतिक्रियाः लुट्न पाइने, गाउन नपाईने ?
कम्युनिष्ट होइन ‘भ्रष्टनिष्ट’को शासन भयो
गिरिराज भुषाल
पशुपति शर्माले नेपालमा आमजनताले जे देखेका छन, जे भागेका छन्, त्यसैलाई गीतमार्फत मनोरञ्जनात्मक व्यंग्य प्रस्तुती मात्रै दिएका हुन् । देशमा भ्रष्टाचार कसरी भइरहेको छ भन्ने कुरा दैनिक पत्रिकाका पृथमपृष्ठ हेर्दा थाहा हुन्छ । भ्रष्टहरु छरपष्ट छन्, कसलाई भएको छ कारबाही ?
त्यसको जवाफ जनताले सुन्न चाहेका थिए । भ्रष्टाचारबाट आजित जनताले एक सर्जकको गीतमार्फत भ्रष्टाचारको कुरा सुन्न पाए । त्यही कारण पशुपति शर्माको पक्षमा लहर छाएको हो । यस्ता गीतहरु आइरहोस सलाम छ । गणतन्त्रमा गीत पनि गाउन नपाईने हो र ? चोरलाई चोर र भ्रष्टलाई भ्रष्टाचारी भन्न पाउनुपर्छ । पाइँदैन भने सरकारले यो कुरा घोषणा नै गरोस् । यो कम्युनिष्टको शासन होइन, भ्रष्टनिष्टको शासन भयो ।
अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा जे मन लाग्यो त्यही गाउन पाइँदैन
प्रेम पौडेल
अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा जे मन लाग्यो त्यही बोल्न, लेख्न र गाउन पाइँदैन होला । नेताहरुले नैतिकतामा बस्नुपर्छ भन्नेहरुले आफै नैतिकता बिर्सेर बोल्दै हिँड्नु भएन । नेताहरुले गल्ती गरे भनेर आफूले पनि गल्ती गर्न पाउनु पर्छ भन्न मिल्दैन ।
नेताले देश नलुटेर, भ्रष्टाचार नगरेर आफ्नो यत्रो आर्थिक हैसियत कसरी बनाए?
टेक साउद
कम्युनिस्ट भनेको देश सधै गरिब नै रहोस, गरीब नागरिकको गरीबीलाई भावनात्मक मुद्दा बनाउदै सधै चुनाव जितेर राज गर्न पाइयोस भन्ने चाहने पार्टी हो । गरीब र गरीबीको ट्रेडमार्क लिएका कम्युनिस्टहरुले नागरिकलाई सम्पन्न बनाएर त्यो गरीबीको ट्रेडमार्क गुमाउन चाहन्नन । कुरा देश र नागरिकको भलाइको नै गर्छन् तर काम चाहिँ वैध–अवैध जुन तरिकाले भए पनि आफंै कमाउने र आफ्नै भलाइ गर्ने राजनीति गर्छन् ।
देश र नागरिकको अवस्थामा कुनै परिवर्तन नआउदै केही दिन पहिलेका सर्वहारा कम्युनिस्टहरु अहिले अर्बपति बनेका तथ्य कम्युनिष्ट देशलाई समृद्ध बनाउन चाहन्नन् भन्ने कुराका उदाहरण हुन् । देश भित्रका नागरिक देश–विदेशमा गएर रातदिन परिश्रम गरिरहेका छन् । तैपनि नागरिकको अवस्था बदलिएको छैन । कुरा र भाषणले मख्ख बनाउने नेताले कुनै काम नगरेको भए पनि ऊ नै समृद्ध छ र उसकै आर्थिक अवस्था राम्रो छ । काम गर्ने, परिश्रम गर्ने, विदेशमा गएर कष्ट गर्नेको जीवन दुःखमय र अभावग्रस्त नै रहिरहने कामै नगर्ने नेताको जीवन सुखमय र सम्पन्न हुने, किन ?
नेताले देश नलुटेर, भ्रष्टाचार नगरेर आफ्नो यत्रो आर्थिक हैसियत कसरी बनाए? प्रचण्ड, केपी ओली, देउवाआदि नेताहरु समृद्ध कसरी बने ? पशुपति शर्माले आफ्नो गीतमा कुन मिथक शब्द र तथ्यको प्रयोग गरेका छन ? उनको गीतमा वास्तविकता र यथार्थता छ । देशमा शासन गरिरहेको शासकको विरुद्धमा नागरिकले आवाज उठाउन पाइन्न भने हिजो राजतन्त्र हुँदा राजाको विरुद्ध बोल्न पाइएन गणतन्त्रमा शासकको विरुद्ध बोल्न पाइने छ भन्दै गणतन्त्र ल्याउन हजारौं नेपालीलाई ज्यानको आहुती दिन किन लगाइयो ?
गणतन्त्रको शासक पनि राजतन्त्रको राजा जस्तै उसको विरुद्ध बोल्न नपाइने हो भने नेपालमा गणतन्त्र किन चाहियो ? केपी ओली र उसको सरकार लोकतन्त्र र गणतन्त्रको मर्मभन्दा ठूलो हो ? संविधानले दिएको मौलिक हक नागरिक अभिव्यक्तिको स्वतन्त्रता हनन गर्ने सरकार नै लोकतान्त्रिक सरकार हो ? हामी नेपालीले संविधान पाएकै हो त? पशुपति शर्मालाइ डर, त्रास देखाएर धम्की दिएर युट्युबबाट गीत हटाउन लगाइएको छ ।
रेग्मी इन्द्र
कुनै कुनै गीत कानमा होइन, हृदयमा बज्दो रहेछ ।
राजेन्द्र रेग्मी
एउटा कलाकारलाई त यस किसिमकाे धम्की आउँछ भने हामी कसरी स्वतन्त्र टिप्पणी गर्न सक्छाैं र ?
(नेपालआजका पाठकहरुले गायक पशुपति शर्माको ‘लुटनसम्म लुट कान्छा’ विवादमा परेको विषयमा व्यक्त गर्नुभएको थप धारणा क्रमशः प्रकाशित गर्दै जानेछौं । सम्पादक ।)