मोदी ‘वार र हार’ को दोबाटोमा, ओलीको वक्तव्य ‘अधुरो’
भारत–पाक युद्धले यो क्षेत्रको भूगोल फेरिन सक्छ
भारत प्रशासित काश्मिर क्षेत्रमा आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच उत्पन्न तनावले बिश्व नै तरंगित भएको छ । ४० जना भारतीय सुरक्षाकर्मीको ज्यान गएपछि अहिले भारत र पाकिस्तानबीच तनाव चुलिएको छ भने एक अर्कालाई सिध्याइदिने किसिमका धम्की पनि खुलेआम दिन थालेका छन् ।
ओलीको वक्तव्य अधुरो
भेनेजुएला प्रकरणमा अमेरिकाबिरोधी वक्तव्य जारी गरेपछि विवादमा परेकाबेला प्रधानमन्त्री केपी ओलीले काश्मिर घटनामा पनि वक्तव्य जारी गरे । उनले घटनाको निन्दा त गरे तर आक्रमणको जिम्मा लिने जैस ए मोहम्मद संगठनका बारेमा एक शब्द बोलेनन् । बिश्लेषक अरुणकुमार सुवेदी यसलाई सरकारको कुटनीतिक अपरिपक्वताको संज्ञा दिन्छन् । उनले प्रधानमन्त्री ओलीले यो प्रकरणमा दिएको बयान ‘अधुरो’ भएको जनाउँदै नेपाल कनेक्सनसमेत रहेको जैस ए मोहम्मदलाई कारवाही गर्नुपर्छ भनेर प्रधानमन्त्रीले भन्न नसक्नु कमजोरी भएको औंल्याए ।
भारत–पाकिस्तानबीच युद्धको सम्भावना
सुवेदीका अनुसार काश्मिर घटनाले दक्षिण एशियाली क्षेत्रमा युद्धको सम्भावना बढाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेताहरुको अभिव्यक्ति र पाकिस्तानले आफनो मुलुकमा भारतीय कुटनीतिज्ञमाथि देखाएको व्यवहारले युद्धको सम्भावना बढाएको उनी बताउँछन् ।
भारतीय अर्थमन्त्री अरुण जेट्लीले पाकिस्तानलाई अन्तर्राष्ट्रिय जगतबाटै एक्ल्याउने खुलेआम घोषणा गरिसकेकाले युद्धको सम्भावना बढाएको छ ।
बिश्लेषक सुवेदी भन्छन,‘ यो घटनाले भारतीय प्रधानमन्त्री मोदी ‘वार र हार’को दोबाटोमा पुगेका छन् । जैस ए मोहम्मद मोदीलाई परास्त गर्न उद्दत भएकाले उनका लागि कि चुपचाप हार स्वीकार्नुपर्ने कि युद्धमा जानुपर्ने स्थिति उत्पन्न भएको छ । ’
नेपालमा के हुन्छ ?
यदि कथमकदाचित भारत–पाकिस्तानबीच युद्ध भड्किए त्यसको प्रत्यक्ष अशर नेपालमा पर्नेछ । युद्धमा सहभागी भएपनि नभएपनि युद्धको प्रभाव नेपालीहरुले स्वतः भोग्नेछन । नेपालले भारत र चीनसंग बिशेष र बाँकी बिश्वसंग फरक सम्बन्ध राख्ने नीति अंगाले मुलुकलाई फाइदा हुने बताउँदै सुवेदीले सोही सिद्धान्त अनुसार नेपाल उभिनुपर्ने उनी बताउँछन् ।
......‘माया नलाऊ दुईतीर
नेपालका राजनीतिक दल र नेताहरु अमेरिकी रणनीतिको पासोमा परेको सुवेदीको ठहर छ । उनी भन्छन,‘ यसले मुलुकलाई फाइदा पुग्दैन । बिभिन्न अधिकारीवादी संगठन, विकासका नाममा आएका संघ संस्था, अस्तिको होली वाइन काण्ड....सबै पश्चिमा मुलुकका खेल हुन् । हाम्रा नेताहरु उनीहरुको जालमा परे । ’
नेपाल अमेरिकाको ‘इण्डो प्यासिफिक स्ट्राटिजी’ मा आबद्ध भए दक्षिण कोरिया बन्न सक्ने खतरा उनले औंल्याए । स्वाभिमान र पहिचानसहित बस्ने हो भने अमेरिकी जालमा नपरी भारत र चीनसंग मित्रवतरुपमा अघि बढ्नु बुद्धिमानी हुने उनी बताउँछन् ।
उता अमेरिकी रणनीतिको पनि साझेदार हुने यता चीन र भारतसंग पनि एकबद्ध हुन खोज्ने कुराले दुर्घटना निम्त्याउने भएकाले त्यसतर्फ सरकार र दलहरु मात्र होइन आम नागरिक पनि सचेत बन्नुपर्ने सुवेदीको सुझाव छ ।