कभर स्टोरी भिडियो

आयुक्तलाई ७८ कराेड खुवाउनेहरुले मलाई पनि २० करोड दिन्छु भनेका थिए (भिडियोसहित)

आयुक्तलाई ७८ कराेड खुवाउनेहरुले मलाई पनि  २० करोड दिन्छु भनेका थिए (भिडियोसहित)

डा. दीपक भट्टराई नेपाल इञ्जिनियरिङ कलेज भक्तपुरका उपाध्यक्ष हुन् । कलेजको सञ्चालक समितिले अध्यक्ष लम्बोदर न्यौपानेलाई कारबाही गरेर निकालिदिएको छ । अध्यक्षकै भरमा कलेज चलिरहेको छ । लम्बोदर तिनै व्यक्ति हुन् जसले अख्यितार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायाण पाठकलाई ७८ लाख खुवाउन मानिस परिचालन र स्रोत व्यवस्थापन गरेका थिए । लम्बोदरले कलेजबाट २१ करोड रुपैयाँ आफूखुसी झिके र त्यही पैसा विभिन्न निकायमा घुस खुवाउनका लागि प्रयोग गरे भन्ने दावी डा. भट्टराईको छ । यो प्रकरणसँग जोडिएका तर विवादमा नपरेका उपाध्यक्षले यस विषयमा महत्वपूर्ण धारणाहरु राखेका छन् । ती धारणाहरु निम्नानुसार छन्ः 

 

नेपाल इञ्जिनियरिङ कलेजलाई बाँडीचुडी खाने र सार्वजनिक सम्पत्ति मास्न चाहने लम्बोदर न्यौपानेसहित पाँच जना र उनीहरुजस्तै भ्रष्ट राजनारायण पाठकबीचको कर्तुत बाहिर आएको छ । यो कुरा हामीले २० महिनादेखि कराउँदै आएका थियौं । त्यतिले नपुगेर विभिन्न सरकारी निकायमा सार्वजनिक सम्पत्ति भ्रष्टहरुले हडप्न लागे, बचाइदिनु पर्यो भन्दै गुहार माग्ने र उजुरी दिने काम गरेका थियौं । यतिबेला आएर यो प्रकरणको चुरो कुरो नै बाहिर आएपछि केही सन्तुष्टि मिलेको छ । 

 

यो कलेजमा मैले २५ वर्षअगाडि १८ लाख रुपैयाँ लगानी गरेको थिएँ । बाँकी सञ्चालक सबै तन्नम थिए । उनीहरुसँग पैसा नभएर एक लाख, दुई लाख गरेर भएको पैसा लगानी गरेका थिए । यो मैले पैसाको फूर्ति लगाएको होइन, साँचो कुरा बोलेको हो । मैले सामाजिक संस्था बनाउन भनेर लगानी गरेको हो । मुनाफारहित संस्था बनाएका थियौं । सबै सञ्चालकले त्यही शर्तमा हस्ताक्षर गरेका छन् । अहिले पैसा थुप्रियो, केही सञ्चालकहरुले पैसा बाँडेर खानु पर्छ भन्न थाले । अहिले सञ्चालक समिति ५ जना बाँडेर सक्नु पर्छ, खानुपर्छ भनेका छन् । बाँकी ६ जनाले यो बाँड्ने कुरा होइन भनेका छौं । बाँडेर खानु पाउनु पर्छ भन्नेहरुविरुद्ध हामीले अख्तियारमा उजुरी दिएका थियौं । 

 

 

लम्बोदर न्यौपाने र उनको समूह भ्रष्ट, धुर्त, बेइमानहरुको समूह हो । धमिराहरुको समूह हो यो । सूर्यबहादुर केसी सांसद हुन् । दुई चार हाइड्रोका मालिक हुन् । सम्पत्ति जति पनि छ । तर यहाँ सामाजिक संस्थाको रुपमा रहेको कलेज खान उहाँले गर्नुभएको काम हेर्नुस त कति लज्जास्पद छ । भ्रष्ट, अनैतिक व्यक्तिहरुको समूहमा उहाँ पनि हुनुहुन्छ । 

 

 मलाई दुई पटक पैसाको प्रस्ताव आएको छ । लम्बोदरको भाईले मलाई ८ कराडको प्रस्ताव गरे । अर्को समूह फेरि आयो, त्यो समूहले २० करोड लिनुस भन्न आयो । मैले २० करोड लिएर के गर्ने ? मैले मानिन । ४ वर्ष मबाट लुकाएर यो षडयन्त्र गरिएको रहेछ । 

 

एउटै नामको कम्पनी खोलेर नेपाल इञ्जिनियरिङ कलेजको सबै सम्पत्ति त्यसमा लैजाने खेल हो । यो ब्रम्हाण्डमा सबैभन्दा जाली मानिसहरुको समूह लम्बोदरसँग छ । मेरो विरुद्धमा प्रधानमन्त्रीको कार्यालयमा निवेदन दिने पनि लम्बोदर हुन् । उनले मेरो बारेमा अनर्गल कुरा लेखेर बुझाएका छन् । तर म दुई चार करोडमा बिक्ने मान्छे होइन । २० करोड त छाडे भने म यिनीहरुलाई विद्यार्थीको शुल्कबाट जम्मा भएको पैसा खान दिन्छु होला ? 

 

हामीले ७४ साउन १८ मा अख्तियारमा उजुरी दर्ता गरेका हौं । हामीले फर्जी कम्पनी खोलेर सामाजिक संस्थाको सम्पत्ति हडप्ने प्रयास भइरहेको दावी गरेका थियौं । त्यसपछि अख्तियारले अनुसन्धान अधिकृत तोक्यो । हामीलाई पनि एक पटक बयानका लागि बोलाएको थियो । हामीले कलेजको सम्पत्ति जोगाउन उजुरी गर्ने, लम्बोदरको समूहले आयुक्तलाई नै किन्ने खेल भएछ । अनुसन्धान अधिकृत रामप्रसाद सुवेदी असल मान्छे हुनुहुन्थ्यो । उहाँसँग मैले भेटे पनि । तर उहाँले आयुक्तले फाइल अगाडि नबढाउन भन्नु भएको छ भन्नुभयो । उहाँले आयूक्तलाई भेट्नु पनि भन्नुभयो । मैले उहाँलाई भेट्न चाहिनँ । मैले जसले गल्ती गरेको छ, उसैलाई जेल हाल्नूस् भनेँ । 

 

मलाई सूर्यनाथ उपाध्यायको पालादेखि मलाई अख्तियारप्रति विश्वास थियो । मलाई अख्तियारप्रति अगाध विश्वास थियो । अहिले भने अख्तियारप्रति विश्वास उठ्यो । अख्तियारभनेको त नाटक गर्नेहरुको अखडा पो रहेछ । अख्तियारका आयुक्तलाई हाम्रै कलेजको खाताबाट गएको पैसा बुझाइएको हो । अहिले कुरा ७८ लाखको आएको छ । तर यिनीहरुले पैसा सबैतिर पुर्याएका छन् भन्ने मेरो अनुमान हो । हामी जहाँ जहाँ उजुरी दिन जान्थ्यो, त्यही त्यही लम्बोदरको समूह पैसा लिएर पुग्थ्यो । सायद यहि भएर होलो, हाम्रो फाइल हरेक निकायमा ओथारो बसेको छ । 
 

 

विशेष