प्रचण्डको क्रन्दन ओलीको छायाबाट मुक्त हुने छटपटाहट
चीन खुशी, भेनेजुएलाले धन्यवाद पनि भनेन
नेकपा अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको अमेरिकाबिरोधी वक्तव्य चीनको सरकारी मुखपत्र ‘ग्लोबल टाइम्स’ मा छापियो । प्रचण्डले वक्तव्य दिए लगत्तै ‘ग्लोबल टाइम्स’ मा छापेर चीन आफू प्रसन्न भएको स्पष्ट संकेत गरेको हो ।
सबैलाई थाहा भएकै कुरा हो अमेरिका र चीनबीच अहिले पनि ब्यापार युद्ध चलिरहेको छ । दुवै मुलुक बिश्वका शक्तिशाली राष्ट्र हुन् । चीनले अमेरिकाको बजारमासमेत प्रभुत्व जमाउन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा कर बढाएका थिए । चीनले पनि अमेरिकी सामानमा बिस्तारै कडाइ गर्यो ।
यो तनाव अन्त्य गर्न दुवै पक्षबीच पटक–पटक वार्ता भएपनि अवस्था उस्तै छ । अहिले अमेरिकाले भेनेजुएलामा हस्तक्षेप गरेको बिषयलाई लिएर रुसले मुखै खोलेर आपत्ति जनाएको छ । चीनले पनि अमेरिकी कदमलाई बेठिक भनेको छ । यही सन्दर्भमा प्रचण्डले अमेरिकाबिरोधी वक्तव्य दिएपछि चीन दंग परेको परराष्ट्र जानकार हरी चन्द ‘अग्निपुञ्ज’ बताउँछन् ।
ओलीको छायाबाट मुक्त हुने चाल
प्रचण्डले वक्तव्य दिनुुको एउटा प्रमुख कारण प्रधानमन्त्री केपी ओलीको छायाबाट मुक्त हुनु रहेको चन्दको दाबी छ । सरकार र पार्टी दुवैमा ओली हावी भएपछि त्यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यान आफूतर्फ मोड्न उनको चाल हुनसक्ने चन्दको तर्क छ ।
प्रचण्डमाथि जनताको शंका
प्रचण्डले पार्टीको कुनैपनि तहमा छलफल नगरी एकलरुपमा दिएको वक्तव्यले पार्टी र सरकारलाई क्षति पुगेको छ । यसले पार्टीमा मनमुटाव मात्र ल्याएको छैन सरकारलाई नै बिघटनको संघारमा पुर्याएको छ । जतिबेला जे पनि गर्न सक्ने भएकाले प्रचण्डमाथि जनताको आशंका बढेको र यसले स्वयं प्रचण्डकै राजनीतिक जीवनमाथि धब्बा लाग्न सक्ने चन्दको ठहर छ ।
चीन, भारत र नेपाल एकसाथ
भेनेजुएला प्रकरणमा चीनसंगै भारत र भारतसंगै प्रचण्ड, नेकपा र अहिलेको सरकार एकसाथ रहेको चन्द बताउँछन् । अमेरिकाको ‘इण्डो प्यासिफिक स्ट्राटिजी’ मा नेपाल मिसिन नहुने धारणामा ओली र प्रचण्ड एकमत रहेको चन्दको दाबी छ । यसले अमेरिकासंग तनाव भएपनि भारत र चीनसंग सम्बन्ध राम्रो रहने उनको भनाइ छ ।
प्रचण्डले राजदूत बेरीलाई भेट्नु गल्ती
परराष्ट्र मामिलामा पि.एच.डी गर्दै रहेका चन्दले प्रचण्डले वक्तव्य दिएपछि अमेरिकी राजदूत बेरीलाई भेटेर गल्ती गरेको औंल्याएका छन् । जबसम्म अमेरिकाले भेनेजुएलासम्बन्धी नीति सच्याउँदैन तबसम्म राजदूतलाई भेट्दिन भनेर प्रचण्डले अडान लिएको भए उनको उचाई थप बढ्नसक्ने उनको आंकलन छ ।
जसलाई समर्थन गर्यो उसैले वास्ता गरेन
प्रचण्ड, नेपाल सरकार वा नेकपाले भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरो पक्षमा वक्तव्य दिएका हुन् । तर, माडुरोले धन्यवादसमेत दिएनन् । यीनको समर्थन वा बिरोधले माडुरोलाई केही फरक पार्दैन ।