क्रिस गेल एकदिवसीय क्रिकेटबाट सन्यास लिँदै
काठमाडौं । वेष्ट इन्डिजका चर्चित खेलाडी क्रिस गेलले आउँदो विश्वकपपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । विश्व क्रिकेटमा विस्फोटक ब्याट्सम्यान गेलले इंग्ल्याण्ड र वेल्समा हुने विश्वकप क्रिकेटपछि आफूले एकदिवसीय फरम्याटबाट सन्यास लिने घोषणा गरेका हुन् । ३९ वर्षीय बाँया हाते ब्याट्सम्यान गेलले एक दिवसीय क्रिकेटमा ९ हजार सात सय २७ रन पुर्याएका छन् ।
उनी वेष्ट इन्डिजका लागि धेरै रन बनाउने दोस्रो खेलाडी हुन् । वेष्ट इन्डिजका लागि ब्रायन लाराले सबै भन्दा धेरै रन बनाएका छन् । सन् १९९९ मा राष्ट्रिय टिममा डेब्यू गरेका गेलले २८४ खेल खेलका छन् । आउँदो बुधबारबाट हुने इंग्ल्याण्ड विरुद्धको ५ एकदिवसीय सिरिजका लागि गेल टिममा परेका छन् । गेलले करियरको अन्तिममा विश्वकप जितेर बिदाई हुन पाए त्यो भन्दा खुसीको क्षण केही नहुने बताए ।
एकदिवसीय क्रिकेटमा गेलले २३ वटा सतक बनाएका छन् । जसमा उनको उच्च स्कोर दुई सय १५ रन हो । गेलले यो स्कोर २०१५ मा जिम्बावेविरुद्ध गरेका थिए ।यसका साथै उनले पार्टटाइम स्पिनरका हिसाबले पनि एकदिवसीय एक सय ६५ विकेट लिएका छन् । सन् २००४ मा इंग्ल्याण्डमा भएको च्याम्पियन्स ट्रफिको उपाधि वेष्ट इन्डिजले जित्दा उनी टिमको महत्वपूर्ण सदस्य थिए ।
क्रिस गेल एकदिवसीय क्रिकेट सन्यास