सरकारले युवा संगठन उचालेर गीत प्रतिबन्ध गर्यो– राप्रपा संयुक्त
काठमाडौं । लोकगायक पशुपति शर्माको गीत युट्युबाट हटाउन लगाएको घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले आपत्ति जनाएको छ ।
विज्ञप्तिमा नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक र अधिकारको प्रतिकूल हुने गरी गायकको गीत हटाउन लगाउनु आपत्तिजनक विषय भएको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीका संचार संयोजक राजेन्द्र गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारले पत्रपत्रिकालगायत संचार माध्यमहरु र ट्रेड युनियनहरुमाथि अघोषित सेन्सरसिप कायम गर्दा लोकप्रिय गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको व्यंग्यात्मक लोकगीतमाथि समेत प्रतिबन्ध लगाउने उद्देश्यले सत्तारुढ पार्टीको युवक संगठनलाई अघि सारेर सामाजिक सञ्जालबाट हटाउन बाध्य तुल्याइएको छ ।’
यो घटनालाई राप्रपा संयुक्तले अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज र अधिनायकवादको शुरुवातको रुपमा अथ्र्याएको छ । नेपाली जनताले कुनै पनि प्रकारको अधिनायकवाद स्वीकार गर्न नसक्ने भन्दै सरकारलाई सचेत हुन आग्रह गरेको छ ।