कभर स्टोरी

कांग्रेस, नेकपा, मधेसी सबै ‘लुटेरा’, शीर्ष भनिएका सबै ‘गैरजिम्मेवार’

ओली, प्रचण्ड र देउवाले सबैभन्दा बढी धन थुपारे

कांग्रेस, नेकपा, मधेसी सबै ‘लुटेरा’, शीर्ष भनिएका सबै ‘गैरजिम्मेवार’

अहिले पशुपति शर्माको लुट्न सके लुट...भन्ने गीत चर्चामा छ । अझ कलाकार शर्मामाथि दबाब सृजना गरी यू ट्यूबबाटै हटाउन लगाएपछि त यसले अन्तर्राष्ट्रिय चर्चा पाएको छ । भलै, अहिले गीत यू ट्यूबमा उपलब्ध छ तर जुन तरंग यो गीतले ल्यायो, यसले नेपालको वास्तविकता झल्काएको मात्र होइन जनता कति सजग र चेतनशिल भैसके भन्ने पनि स्पष्ट पारेको छ । 

 


पशुपतिको गीत भाइरल भएसंगै नेपाली जनता दलका अध्यक्ष हरिचरण साह केही राजनीतिक दल र नेताहरुप्रति झन आक्रामक भएका छन् । उनले सत्तारुढ नेकपा, बिपक्षी कांग्रेस र मधेस केन्द्रीत राजपा र संघीय समाजवादी फोरमका नेताहरुलाई ‘डाँका’ को संंज्ञा दिए । 

 


देशमा लुटतन्त्र मच्चिएको भन्दै अध्यक्ष साहले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले लुटतन्त्रको नेतृत्व गरिरहेको आरोप लगाए । साथमा, फोरम अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्ष मण्डलका ६ जना नेता र नेपाली कांग्रेसका नेताहरु पनि लुटनमै व्यस्त रहेको उनको आरोप छ । 


अहिले देशलाई सबैभन्दा बढी नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी ओेलीले लुटेको उनको ठम्याइ छ । दोस्रोमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र तेस्रोमा कांग्रेस नेता शेरबहादुर देउवाले सबैभन्दा बढी धन थुपारेको उनी बताउँछन् । 

 


पछिल्लो समय चर्चामा रहेको बाइडबडी, एनसेल प्रकरण, अख्तियारका आयुक्तको भ्रष्टाचार, निर्वाचनमा भएको अनियमितता, बिभिन्न निकायमा भएको नियुक्ति, राजदूत काण्ड, निर्मला हत्या प्रकरण, ३३ किलो सुन लगायतका बिषयले मुलुकमा लुटको प्रतिष्पर्धा चलेको उनको आरोप छ । 

 


नेता साहले ठूलाठूला अनियमिततामा कांग्रेस, कम्युनिष्ट र मधेशी दलहरुले आपसमा मिलेर खाने गरेको दाबी गरे । यी दल र नेताहरुबाट मुलुकको विकास र समृद्धि सम्भव नभएको तर्क गर्दै साहले अहिले चर्चा गरे जस्तो सेना र राजा निकासको विकल्प हुन नसक्ने बताए । मुलुक प्रजातान्त्रिक प्रणालीबाट पछी फर्किन नसक्ने बताउँदै उनले नेपाली जनतालाई केन्द्रमा राखेर इमान्दारिपूर्वक राजनीति गरे प्रजातान्त्रिक प्रणालीबाट मुलुक सुधार्न सकिने धारणा राखे । 

 


कुनैपनि हालतमा मुलुकमा राजसंस्था नफर्किने उल्लेख गर्दै साहले सेनालाई उचाल्न काम नगर्न पनि सबैलाई अपील गरे । 

 


अध्यक्ष साहले हाल दृश्यमा देखिएका राजनीतिक दल र नेताहरु पूर्णतः असफल भैसकेकाले अब आफनो पार्टीले निकास दिने बताए । 

 


आफू योजनाबद्धरुपमा अघि बढिसकेकाले अबको १४ बर्ष भित्र आफनो पार्टीले मुलुकको बागडोर सम्हाल्ने उनको दाबी छ । १४ बर्ष भित्र आफू प्रधानमन्त्री नभए मुलुकमा ठूलो अनर्थ हुने भविश्यवाणी समेत उनले गरे । 
साह भन्छन, ‘ १४ बर्षभित्र मेरो पार्टीले मुलुक चलाउने स्थिति नभए, म यो संसारमा नरहन सक्छु । सत्याग्रहबाटै मेरो जीवन सकिन सक्छ । ’

विशेष