क्यानडामा पहिलोपटक खेलकुद सप्ताह, खेलकुदबाट शुरु भयो, नाचगानमा टुंगियो, भलिबलको उपाधि लालीगुराँसको पोल्टामा
बद्री तिमल्सिना, टोरोन्टो (क्यानडा) ।
‘सामुदायिक सद्भाव, पारस्परिक सहयोग र स्वास्थ्यको लागि खेलकुद’ भन्ने सन्देश दिँदै केहि दिनदेखि क्यानडामा जारी सप्ताहव्यापी खेलकुदका सबै प्रतियोगिताहरु सम्पन्न भएका छन् ।
एनआरएनए क्यानडा कपको मुख्य खेल भलिबल तर्फको उपाधि लालिगुँरास स्पोर्टस् क्लबले उचालेको छ । निकै रोमाञ्चक बनेको फाइनल खेलमा टोरोन्टो स्पोर्टस क्लबलाई पछि पादै लालीगुँरासले नगद एक हजार क्यानडियन डलरसहित उपाधि चुमेको हो । दोस्रो भएको टोरोन्टो स्पोर्टस क्लबका पराग गुरुङ सर्वोत्कृष्ट खेलाडी बने ।
गैरआवासीय नेपाली संघ एनआरएनए क्यानडाको मुख्य आयोजनामा पहिलो पटक क्यानडाका क्यालगरी, एडमन्टन, सस्क्याच्युन, ओटावा, मिसिसागा, टोरोन्टोलगायत विभिन्न सहरहरुमा खेलकुद प्रतियोगिताहरु संचालन भएका थिए ।
टोरोन्टो स्पोर्टस क्लब, एनसिएचसी,सृजनशिल नेपाली समाज, लालिगुँरास स्पोर्टस् क्लबलगायत विभिन्न सहरका नेपाली संघसंस्थाहरुले खेलकुद संचालन गरेका थिए । प्रतियोगितामा भलिबल, फुटबल, संघसंस्थाका अध्यक्षहरुबीच दौड, बालदौड, ब्याडमिन्टन, टेवल टेनिस, टग्स अफ वार (डोरी तान्ने प्रतियोगिता ), चेस, क्यार्यामबोर्डलगायतका झण्डै दर्जन खेलहरु सञ्चालन भएका थिए ।
पहिलो पुरस्कार प्राप्त गर्नेहरुमा टेबल टेनिसबाट मनिष प्रधान, अध्यक्षहरुको दौडमा रमेश थापा, बाल दौडबाट सागर थापा, डोरी तान्ने खेलबाट ओटावा टिम लगायतका छन् ।
प्रतियोगिता सकिएलगत्तै आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा आइसिसी प्रतिनिधि प्रमिला बस्नेत, अभिमन्यु बस्नेत, एनआरएन क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्ले, एनसीसी अध्यक्ष विदुर केसीलगायतका प्रतिनिधिहरुले प्रतियोगिताका विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गरेका थिए ।
बरिष्ठ गायक पूर्ण नेपाली, गायक बुद्धिसागर बस्याल, लोक गायिका देविका केसी, विनया निरौलालगायतले गीत गाएपछि कार्यक्रम संगीतमय बनेको थियो ।
पछिल्लो समय नेपाली समुदायमा मादलको ताललाई लोकप्रिय बनाउन मुख्य भूमिका खेल्दै आएको हिमालयन भाइब्सको मादल प्रस्तुतिबाट दर्शकले छुट्टै अनुभूति गर्न पाएका थिए । कार्यक्रमपछि एनआरएनए क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्लेले कार्यक्रम सफल भएकोमा सबै क्यानडाबासी नेपालीलाई धन्यवाद ज्ञापन गरे ।
यस्तै महासचिव चिरञ्जीवी घिमिरेले स्वतःस्फूर्तरुपमा सबै नेपालीहरुले साथ र सहयोग गरेकै कारण खेलकुद ऐतिहासिकरुपमा सफल भएको प्रतिक्रिया दिए । यस्तै बुद्धिजीवी डा. तुलसी धरेलले यसअघि नेपाली समुदायबीच सामान्य खेलकुदहरु हुंँदै आए पनि यति छोटो समयमा क्यानडाव्यापी रुपमा यति धेरै खेलहरु सम्पन्न भएको पहिलो पटक नै भएको प्रतिक्रिया दिए । यस्ता किसिमका गतिविधिहरु निरन्तररुपमा गर्न सके स्वास्थ्यका लागि मात्र फाइदाजनक नभएर सामुदायिक सदभाव, एकतालाइ समेत सहयोग पुग्ने उनको धारणा छ ।
उता खेलाडी तथा कार्यक्रमका सहभागीहरुले भने प्रतियोगिता आफूहरुका लागि खेलकुदमा मात्र सिमित नभएर खेलकुद पर्व नै बनेको प्रतिक्रिया दिएका छन् । प्रदीप मरहठ्ठाले संचालन गरेको कार्यक्रममा गायक बुद्धिसागर बस्यालको ‘परेलीले परेलीले’ बोलको गीतको पनि प्रिमियर शो गरिएको थियो । रमेश थापाको शब्द तथा महेश खड्काको संगीत रहेको गजलको म्युजिक भिडियोको पनि सार्वजनिक गरिएको थियो ।