विचार

‘अरु देशमा पाइँदैन नेपालमै हो छुट’ अर्थात ७८  लाखे राजनारायण पाठक

‘अरु देशमा पाइँदैन नेपालमै हो छुट’ अर्थात ७८  लाखे राजनारायण पाठक

काठमाडौं । लोकमान सिंह कार्की भन्सार विभागमा महानिर्देशक हुँदा उनी सुनकाण्डमा मुछिए । पछि उनलाई सो प्रकरणमा दोषी ठहर गरियो । अर्थात उनी भ्रष्टाचारी ठहर भए । विशेष अदालतको निर्णय उपर सर्वोच्चमा पुनरावेदन गर्दा लोकमानको फायल कमजोर बाउने तत्कालीन उपमहान्यायधीवक्ता राजनारायाण पाठक थिए ।

 

त्यही गुन तिर्न लोकमानकै जोडबलले उनी अख्तियारको आयुक्त बन्न पुगे । लोकमान आफू प्रमुख आयुक्त हुँदा आफ्नो चम्चाको रुपमा उपयोग गर्न पनि राजनारायण पाठक उपयुक्त पात्र हुन सक्थे । 

 

सार्वजनिक पदमा रहेर अख्तियारको दुरुपयोग गरेमा अनुसन्धान र कारबाहीको लागि अदालतमा पेश गर्ने अधिकार राख्ने निकाय नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो । यसले अभियुक्तलाई पक्राउ गर्ने, उमाथि अनुसन्धान गर्ने र आफैले मुद्दा दर्ता गर्ने विशेष अधिकार राख्छ ।   

 

आयोगका आयुक्तले नै ७८ लाख रुपैयाँ घुस लिएको कबोल गरिसकेको भिडियो सार्वजनिक भइसक्दा पनि उनलाई कारबाही हुने निश्चित भइसकेको छैन । राजीनामा दिएर घुस्याहाहरुले उन्मुक्ति पाउने हो भने ‘घुुस’लाई वैधानिक बनाउँदा भइगयो  । 

अख्तियारका प्रथम आयुक्त सूर्यनाथ उपाध्यायले समेत पाठकलाई अख्तियारले पक्राउ गरी बयान लिन थाल्दा फरक नपर्ने धारणा सार्वजनिक गरिसकेका छन् । घुस लिने पाठक र घुस खुवाएर नेपाल इञ्जिनियरिङ कलेजको सार्वजनिक  सम्पत्ति हडप्न खोज्ने लम्बोदर न्यौपाने दुबैलाई पक्राउ गरी बयान लिन कुनै ऐन कानुनले रोक्ने अवस्था छैन । भ्रष्टले सजाय पाउने वा नपाउने धेरै कुरा प्रधानमन्त्री वा सरकारको भूमिकाले पनि काम गर्छ ।

‘भ्रष्टाचारीको मुखै हेर्दिनँ’ भन्ने प्रधानमन्त्रीको भूमिका कस्तो हुन्छ, त्यसमा धेरै कुरा निर्भर गर्छ । 
भ्रष्टाचार रोक्ने नियकाका आयुक्त नै भ्रष्टाचारमा मुछिनु नेपालको अन्तर्राष्ट्रिय बेइज्जत हो । 

 

नेपालको संविधानले पनि सबै नागरिक समान हुन्छन् भनेको छ । संविधान वा कानुनका केही छिद्र समातेर भ्रष्टलाई उन्मुक्ति दिने हो भने यो देश गायक पशुपति शर्माको ‘लुट्नसम्म लुट कान्छ लुट्नसम्म लुट, अरु देशमा पाइन्न नेपालमै हो छुट’ भन्ने गीत सार्थक हुन्छ । ‘सयौं थुँगा फूलका हामी’ भन्ने राष्ट्रिय गान हटाएर पशुपतिकै गीत राखे हुन्छ । 

 

जानेर वा नजानेर कार्यसम्पादनका क्रममा गम्भीर त्रुटि भएमा महाभियोग लगाएर हटाउने कुरा एउटा हो भने जानेरै अपराध गर्नु अर्को कुरा हो । पाठकले जानेरै घुस लिने, एक वर्षसम्म मोलमलाई गर्ने जस्ता काम गरेका छन् । यो अपराधमा उनलाई उन्मुक्ति मिल्न सक्दैन । यसकारण उनलाई तुरुन्तै पक्राउ गरी बयान लिन थाले फरक पर्दैन । 
(समाचार टिप्पणी)
 

विशेष