युवा संघका वरिष्ठ उपाध्यक्ष भन्छन्, ‘म त पशुपति शर्माको फ्यान हुँ’ (भिडियोसहित)
काठमाडौं । किरण पौडेल नेकपाको युवक संगठन युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष हुन् । पौडेललाई युवा संघको भावि अध्यक्षको रुपमासमेत लिइन्छ । आफ्नो विचारमा प्रष्ट, बोलीमा नम्रता र संगठनमा लोकप्रिय पौडेलसँग नेपालआजले हालै समसामयिक राजनीति, प्रतिपक्षीको भूमिका, सरकारको शैली, युवाका समस्या र पशुपति शर्माको गीतमा केन्द्रीत रहेर कुराकानी गरेको थियो । कुराकानीका क्रममा वरिष्ठ उपाध्यक्ष पौडेलले आफ्ना धारणाहरु निम्नानुसार राखेकाछन् :
– सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको छ । वर्षमा एक सय दिन पनि काम नपाउनेहरुका लागि भत्ता दिने कार्यक्रम ल्याएको छ । बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन ऋणको व्यवस्था गर्ने भएको छ । रोजगारदाता र श्रमिकबीच सेवा सुविधाको विषयमा सधैँ भइरहने किचलोको स्थायी समाधानका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको छ । अब श्रमिकको सामाजिक सुरक्षाको जिम्मा रोजगारदाताले लिनु पर्दैन । सामाजिक सुरक्षा कोषले नै लिन्छ ।
– ७५३ स्थानीय तहमा रोजगार संयोजकका लागि सरकारले आह्वान गरिसकेको छ । युवाहरुलाई रोजगारी दिन सरकारले ल्याएका कार्यक्रमको प्रभाव चाँडै पर्छ । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई समेत सरकारले स्वरोजगारका लागि ऋण दिँदैछ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने कार्यक्रममा पनि जलविद्युत आयोजनामा अब जनताले नै १ खर्बसम्म लगानी गर्न पाउने छन् । त्यसमा पनि अहिले १० प्रतिशत मात्रै लगानी गर्दा हुन्छ । ५ लाख नेपालीले २ लाखको दरले रकम लगानी गर्ने हो भने पर्याप्त जलविद्युत उत्पादन हुनेछ ।
सरकारले रोजगारी दिने कुरा हचुवाको भरमा गरेको छैन । सबै स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्ने तयारी पनि गरेको छ । रोजगारी दिने त भन्ने तर युवालाई सीप नसिकाउने हो भने त्यसको अर्थ हुँदैन । सीप सिकाउने, ऋण दिने, उद्योग खोल्न प्रोत्साहन गर्ने जस्ता काम गरेर स्वरोजगार कार्यक्रम लागू गर्ने काम भइरहेका छन् ।
– प्रतिपक्षी कांग्रेसले एकोहोरो गालीमात्रै गरिरहेको छ । भयभित मानसिकतामा कांग्रेस बसेको छ । लगातार सत्तामा बसेको कांग्रेस अहिले सत्ता विमुख हुँदा छटपटाएको छ । कांग्रेसले कुनै काम राम्रो देखेको छैन ।
– समयमा नेपालमा विकासको काम हुँदैन । यसको कारण भनेको निर्माण व्यवसायमा पनि सिन्डिकेट छ । केही सिमित ठेकेदारले नै सधै ठूला ठेक्का पाइरहन्छन् । थोरै ठेकेदार छन्, काम धेरै छ । अनि काम कसरी हुन्छ । अब समयमा काम नगर्ने ठेकेदारको लाइसेन्स खारेज हुन्छ । कारबाही हुन्छ । यो त वर्तमान सरकारले नै गरेको हो ।
– एक खर्ब बराबरको कृषि जन्य वस्तुमा बजेट घाटा छ । निर्वाहमुखी कृषि प्रणालीका कारण हामी कृषिमा निर्भर हुन सकेका छैनौं । कृषिमा वैज्ञानिक विधि लागू गर्न सकेको छैन । ६० प्रतिशत जनता कृषिमा छन् भनिएको छ । तर कृषिमा नै हामी अरु देशको भर पर्नु पर्ने अवस्था छ । हामी जे कृषिजन्य वस्तु उत्पादन गर्न सक्छौं, त्यस्ता वस्तु आयातमा सरकारले कडा नीति लिनु पर्छ ।
हामीले सरकारलाई सुझाव दिने हो । रचनात्मक सुझाव दिन्छौं । किसान र उपभोक्ताबीचका बिचौलीयाहरुलाई कसरी हटाउने भन्ने विषयमा सरकारले ठोस काम गर्नु पर्छ । बिचौलीया हटाउने एउटा एप्स मात्रै प्रयोगमा ल्याउन सकियो भने पुग्छ ।
पशुपति शर्माको म फ्यान हो । उहाँको भलो चाहने मान्छे हुँ म । पशुपतिजीको गीतको केही शब्दमा मात्रै हाम्रो विमति हो । राष्ट्रपतिलाई जोडेर गीत प्रस्तुत गर्दा भ्रम सिर्जना हुन्छ । पशुपतिजीले नै आफूले महशुस गरेर गीत हटाइसक्नु भएको छ । विषय सामसुम भइसकेको छ । मैले यो विषयमा बोल्ने बित्तिकै गाली खान्छु भन्ने थाहा छ । हामीले बहिष्कारका लागि अनुरोध गर्ने भनेका थियौं । कुनै प्रतिकार गर्छौैै भनेका होइनौं ।